गृहपृष्ठ कोटीहोममा महाराजले सार्वजनिक गरेको शंकास्पद हिसाब
कोटीहोममा महाराजले सार्वजनिक गरेको शंकास्पद हिसाब
पशुपतिमा गत साउनभर चलेको १ महिने कोटीहोमले समस्त जगतको हित गर्छ गर्दैन थाहा छैन, तर यसका संकल्पकर्ता विजय भण्डारी उर्फ विजयकृष्ण मूर्ति महाराजको भने कल्याण हुने निश्चित देखिएको छ । कोटीहोमको लेपनले ठगीको भेषमा सादुको बुट्टा भरेका महाराजले बिहिबार काठमाडौंमै पत्रकार सम्मेलन गरि कोटीहोमको आम्दानी खर्च सार्वजनिक गरे । तर उनको यो हिसाब शंकास्पद र आमजनताले मूल्यांकन गरेभन्दा ठ्याक्कै अस्वभाविक प्रकृतिको देखियो ।
विजयकृष्णले कोटीहोम लगाएर आफु ७२ लाख ५० हजारभन्दा बढी घाटामा डुबेको अपत्यारिलो दाबीसहितको हिसाब सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको विवरणअनुसार एक महिनासम्म चलेको कोटीहोममा २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र सुनचाँदी दान संकलन भएको छ । तर, खर्च त्यो भन्दा बढी २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा भएको छ ।
विजयकृष्णको यो हिसाबपछि तपाईँहरुलाई चाख लाग्न सक्छ, कोटीहोम भरी सर्वाधिक चर्चित र भाईरल बनेका कथावाचिका देवी प्रतिभा र चन्द्रकला सखीले कति पारिश्रमिक लिए होलान ? विजयकृष्णले सार्वजनिक गरेको हिसाबमा व्यक्ति तोकिएको छैन । तर गुरु, कथावाचक भनेर १ करोड ८० लाख दक्षिणा दिएको उल्लेख गरेका छन् ।
त्यस्तै प्रमुख कथावाचकहरुले एकमुष्ट रुपमा ७७ लाख रुपैयाँभन्दा बढी दक्षिणा लिएको उल्लेख छ । प्रमुख कथावाचकमा देवी प्रतिभा, चन्द्रकला सखी, राधिका दासी, दिनबन्धु पोखरेल र कान्ता भट्टराईलगायत थिए । देवी प्रतिभालार्ई भारतबाट र चन्द्रकला सखीलाई लण्डनबाट झिकाएका थिए । भारतबाट प्रसिद्ध कथावाचक अनिरूद्धाचार्य महाराजलाई समेत ल्याएका थिए । सबैलाई कोटिहोम स्थलमा ल्याउन हवाइभाडा र बासस्थानको खर्चको हिसाब छुट्टै छ । गुरु र अतिथिहरुले मात्रै फलफुल र मिठाइ २२ लाख ९२ हजार १२० रुपैयाँको खाएको हिसाब विजयकृष्णले देखाएका छन् ।
उनले देखाएको सबैभन्दा ठूलो खर्चमा स्वयंम्सेवकको हिसाबमा छ । स्वयंमसेवकलाई तलब भनेर ४ करोड २६ लाख ५३ हजार खर्च भएको हिसाब विजयकृष्णले सार्वजनिक गरेका छन् । जबकी कोटीहोमका क्रममा खटिएका स्वयंमसेवकहरुले पारिश्रमिक नपाएको भन्दै सार्वजनिक रुपमै आक्रोश व्यक्त गरेका थिए । यसले पनि यहाँ ठूलै घोप्ला भएको आशंका गर्ने ठाउँ छ ।
हुनत् अहिलेसम्म नेपालका एकलौता डलर अर्बपति विनोद चौधरीले पनि आफुलाई नाफामा रहेको भनेर बोलेको विरलै सुनिन्छ । अहिले विजय भण्डारीले आफ्नो थाप्लोमा ७२ लाख ऋणको बोझ थपियो भन्नु कुन चाहीँ नौलोकुरा भयो र ? तथापी विजयकृष्णको यो घाटाको हिसाबले हिजो जे उदेश्यका लागि भनेर कोटीहोम सञ्चालन गरिएको थियो, अब लगभग त्यो नबन्ने भएको छ । अर्थात् विजयकृष्णले मानव सेवा फाउण्डेशनमार्फत ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माण गर्ने भन्दै कोटीहोम चलाएका थिए । अब पहिल्यै घाटामा रहेको भन्दै हिसाब सार्वजनिक गरेका व्यक्तिले कसरी आश्रम निर्माण गर्लान् र ?
तथापी आफुमाथि प्रश्न उठ्ने छनक बुझेपछि कागको फूल चोर्न सक्ने खुबी भएका चलाख मनुवा महाराजले शुक्रबार बिहानै सामाजिक सञ्जालमार्फत ३ महिनाभित्र आश्रमको शिलान्यास गर्ने दाबी गरेका छन् । उसैपनि उनी पहिला व्यक्तिको रकम नतिरेपछि अदालतबाट ठगीमा दोषी ठहर भएका पात्र हुन् । नम्बरी ठग करार भई जेल बसेका महाराजले कोटीहोमलाई घाटामा देखाउनुको भित्रीकारण नै आश्रम नबनाउने योजना मुताविक भएको आशंका कतिपय नजिकरहेकाहरु गरिरहेका छन्।
तर आयोजक मध्येकै एक सदस्यका अनुसार महायज्ञमा झण्डै ३० करोड माथि उठेको अनुमान छ । त्यसमध्ये खर्च करिब १४ करोड रूपैयाँ हाराहारीमा भएको देखिन्छ । तर, लामो गृहकार्यपछि घाटा देखाएर हिसाब सार्वजनिक गरिएको हो । यसलाई पत्याउने अर्काे आधार के पनि छ भने आयोजकले सबै रसिद लुकाएको छ । अर्थात् हिसाबसँगै सार्वजनिक गरेको छैन । त्यसमा पनि कोटीहोम सञ्चालनकै क्रममा कतिपय हिसाबको विवरण नै राखिएको थिएन । सानातिना हिसाब जोडिएकै छैन ।
अब यीनै विजयकृष्णले काठमाडौंपछि पोखरामा समेत यस्तै प्रकृतिको महायज्ञ सञ्चालन गर्न थालेको खबर सार्वजनिक भएको छ । पोखरा १७ ढुँगेसाँघु महत गौँडामा रहेको हरिहर सिद्धेश्वर मन्दिरको जग्गामा महायज्ञ गर्न भन्दै भण्डारीले तयारी थालेको विषय सार्वजनिक भएको छ । तर काठमाडौं ठगेर आएका महाराजले पोखरामा पनि ठग्न थालेको भन्दै केही पत्रकारले समाचार लेखेपछि धम्की नै दिएको विषय पनि बाहिरिएको छ ।
कोटीहोमको बाँकी विवरण यस्तो छ
प्रकाशित समय : १३:५० बजे