global ime bank Long Banner Ad

गृहपृष्ठ डढेलोको असरः देखिन छाडे जङ्गलमा जनावर

डढेलोको असरः देखिन छाडे जङ्गलमा जनावर

डढेलोको असरः देखिन छाडे जङ्गलमा जनावर

वन फडानी रोकिएपछि घना बन्दै गएका म्याग्दीका सामुदायिक वन र खोरियामा गत फागुनदेखि जेठसम्म लागेको डढेलोका कारण जङ्गली जनावर देखिन छाडेका छन् ।

डढेलोका कारण जङ्गल उजाडिएपछि चराचुरुङ्गीको कोलाहल र चिरबिर सुनिन छाडेको स्थानीयले बताएका छन् । डढेलोका कारण वन नष्ट भएपछि वनमा पस्ने बित्तिक्कै सुनिने चराचुरुङ्गीको चिरबिर सुनिन छाडेको मालिका गाउँपालिका–१ निस्कोटका राम पुनले बताए । “रङ्गीविरङ्गी चरा र वन्यजन्तुको चहलपहल हुन छाड्दा वनको रौनक घटेको छ, पहिला जङ्गलमा देखिने जनावर अहिले गाउँका खेतबारी र सडक छेउमा देखिन थालेका छन”, उनले भने ।

जङ्गलमा डढेलो लागेयता चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल देखिन छाडेको मालिका गाउँपालिका–६ उपल्लो दुखुका यमन पुनले बताए । “डढेलो लागेपछि वन क्षेत्र वर्षापछि पनि कालो देखिएको छ । जङ्गलमा कुनै चहलपहल छैन । जङ्गली जनावर गाउँ पसेर दुःख दिन थालेका छन्”, पुनले भने ।

जङ्गलमा डाँफे, कालिज, चिबे, तित्रा, कटुके चरा, लामपुच्छ«ेलगायत पक्षी देखिन छाडेका बेनी नगरपालिका–३ भकिम्लीका तेजबहादुर घर्तीले बताए । घर्तीले भने “अचेल यी चरा देखिँदैनन् ।” वनमा बाक्लै भेटिने खरायो, दुम्सी, फ्याउरो र स्याल पनि हराएको उनले बताए ।

समुदायको जिम्मामा रहेका सामुदायिक वनमा काठ, दाउरा, घाँस र स्याउला फडानी रोकिएपछि म्याग्दीका सामुदायिक वन हराभरा भएका थिए । वन क्षेत्र हराभरा र घना बन्दै गएपछि जङ्गली जनावर वृद्धि भएको थियो । डढेलोले जङ्गल सखाप पारेपछि गाउँमा झन् बढी जङ्गली जनावर पसेर दुःख दिन थालेका मालिका गाउँपालिका–१ निस्कोटका टकबहादुर विक बताउछन् ।

डिभिजन वन कार्यालय म्याग्दीका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामध्ये गएको हिउँदमा डढेलोले सबैभन्दा बढी नोक्सान म्याग्दीमा पु¥याएको छ । डढेलोले म्याग्दीको करिब दुई हजार हेक्टर वन क्षेत्र ध्वस्त बनाएको छ । जिल्लाका मालिका, मङ्गला र बेनी नगरपालिकाका वनमा डढेलो लागेको थियो । आफ्नो बासस्थान वरपर डढेलो बढ्दै गएपछि चराचुरुङ्गी र वन्यजन्तु कतिपय डढेलाको चपेटामा परी मरेका तथा अन्तै गएको हुनसक्ने मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोका बताउछन् ।

डढेलोले वनका महत्त्वपूर्ण जडीबुटी सखाप भएका छन् । चराचुरुङ्गी, जीवजन्तु हराउनुका साथै बहुमूल्य जडीबुटी तथा काठ खरानी भएको छ । डिभिजन वन कार्यालयको अभिलेखअनुसार म्याग्दीको दुई लाख २९ हजार सात सय छ हेक्टर क्षेत्रफलमध्ये ३६ दशमलव ७६ प्रतिशत वन, एक दशमलव ८५ प्रतिशत झाडी, २१ दशमलव २७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ । ढोरपाटन सिकार आरक्षले एक हजार दुई सय ६० हेक्टर, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले तीन हजार सात सय ५३ हेक्टर वनक्षेत्र ओगटेको छ ।

डिभिजन कार्यालय मातहतका ७९ हजार चार सय ३९ हेक्टर वनमध्ये २४ हजार दुई सय दुई हेक्टर तीन सय १० वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन हुँदै आएको छ । करिब पाँच हेक्टर कबुलियत, धार्मिक र निजी वन छ । बाँकी सबै राष्ट्रिय वन हो ।

 

प्रकाशित समय : १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु