काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

राष्ट्रिय अविष्कार केन्द्रले कृषि औजार कारखानाको जगाए आशा

2.42K
shares

राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई आफ्नो जीवनीसँग सम्बन्धित ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ ।  बिहीबार बिहानदेखि वीरगञ्जको घण्टाघरबाट पनि पुस्तक बिक्री गर्ने कार्यमा अनवरत रुपमा दौडधुप गर्दै छ ।  दौडधुप गर्नुका पछाडि भने दुई दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखानालाई पुनःजीवन दिने उद्देश्यसहित आवश्यक स्रोतसाधन जुटाउन भन्दै कम्मर कसेर लागिरहेएको छ ।

“मलाई त अहिले पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ । वीरगञ्जको कृषि कारखानाका लागि स्रोत जुटाउनका लागि देशव्यापी रुपमा पुस्तक बिक्री गर्दै आइरहेको छु”, उनले भने, “बिहीबारदेखि भने वीरगञ्जमै पुस्तक बिक्री गर्न आएको छु । कृषि औजार कारखानालाई जसरी भए पनि सञ्चालन गर्ने अठोटसहित लागिपरेका छौँ । त्यसैले अहिले देशव्यापी रुपमा पुस्तक बिक्री अभियानसहित हिँडिरहेको छु ।”

अध्यक्ष पुनले देशव्यापी रुपमा पुस्तक बिक्री गरेर कम्तीमा पनि कारखानाका लागि पुस्तकको छपाई खर्च कटाएर  २० करोडको प्रबन्ध आफैँ मिलाउने बताए । “पुस्तक बेचेरै २० करोड उठाउने जिम्मेवारी आफैँ लिन्छु । तर त्यति रकमले मात्रै कारखानालाई चलायमान गराउन सकिँदैन”, उनले भने, “मेरो अन्तर्राष्ट्रिय पदक र कास्कीको कालीकोटमा भएको २८ रोपनी जग्गा बेचेपछि कम्तीमा पनि १५ करोडजति आउँला होला अनि त्यो कारखाना चलिहाल्छ ।”

अध्यक्ष पुनले कृषि औजार कारखानालाई पूर्ण रुपमा सञ्चालन गर्र्ने हो भने कम्तीमा पनि ६०÷७० करोड खर्च गर्नुपर्ने बताए । “केन्द्र आफैँले यो वर्षभित्रै पाँच करोड रुपैयाँ जतिको अत्याधुनिक मेसिन खरिद गर्ने तयारीमा जुटेको छ”, उनले भने, “सरकारले पनि अत्याधुनिक खालका मेसिन खरिदमा सहयोगी भूमिका निर्वाह गरिदिएहुन्थ्यो । त्यसले कृषि औजार उत्पादनमा ठूलो महत्व राख्ने थियो ।”

अध्यक्ष पुनले सोभियत सङ्घका पालामा सञ्चालनमा ल्याइएको कारखानामा निकै पुराना र म्यानुअल प्रकृतिका मेसिन रहेकाले पनि अत्याधुनिक खालका मेसिन थप गर्न आवश्यक रहेको जिकिर गरे ।

“कारखानामा ६ दशकभन्दा पुराना खालका उपकरण र औजार रहेका छन् । ती उपकरण र मेसिनको प्रयोग गरेर उत्पादन गरिने औजारले बजारसँग प्रतिस्पर्धा गर्नै सक्दैनन”, “अहिले त कम्प्युटर प्रणालीबाट चल्ने खालका ‘सिएनसी’ खालका अत्याधुनिक मेसिन ल्याएर औजार उत्पादन गर्नुपर्ने हुन्छ ।” केन्द्रले अहिलेसम्म कम्तीमा पनि एक लाख ३० हजारभन्दा धेरै पुस्तक बिक्री गरिसकेको छ । जसबाट हालसम्म पुस्तक छपाइको खर्च नकटाइकन साढे नौ करोडभन्दा धेरै रकम सङ्कलन गरिसकेको छ । कम्तीमा तीन लाख पुस्तक बेच्ने लक्ष्य रहेको एउटा पुस्तकको मूल्य भने सात सय ५० तोकिएको छ ।

तत्कालीन सोभियत सङ्घको आर्थिक र प्राविधिक सहयोगमा वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा ल्याइएको थियो । कारखाना विसं २०२४ फागुन २८ गते सञ्चालनमा आएको थियो । कारखानाले सुरुआती चरणमा कृषि औजारको उत्पादन गरेर स्वदेशमा मात्रै होइन, विदेशमा निर्यात गर्दै आइरहेको थियो । तर कारखाना व्यवस्थापनमा भएका कमीकमजोरीले अन्ततः २०५९ सम्म आइपुग्दा कारखाना बन्द हुने अवस्थामा आइपुग्यो ।

विसं २०५९ चैत ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले कारखाना खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै कारखाना दुई दशकसम्म कारखाना अलपत्र अवस्थामा रहिरह्यो । विसं २०७९ भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले दुई दशकदेखि बन्द अवस्थामा रहेको कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालनका लागि राष्ट्रिय अविष्कार केन्द्रलाई १० वर्षका लागि उपलब्ध गराउने निर्णय गरेसँगै कृषि औजार कारखाना फेरि चर्चामा आएको हो ।

विसं २०७९ असोज ११ गते अर्थमन्त्रालयका तत्कालीन सहसचिव रमेश केसी र राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । तर केन्द्रले औपचारिक रुपमा काम सुरु भने विसं २०७९ माघ महिनामा मात्रै थालेको हो । पुनःनेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको काँधमा कृषि औजार कारखाना आउँदा कारखानाको अवस्था भने निकै दयनीय अवस्थामा थियो ।

वीरगञ्जस्थित कृषि औजार कारखानाका इञ्चार्ज तथा इञ्जिनियर रितेश देव राष्ट्रिय अविष्कार केन्द्रले कारखानाको जिम्मेवारी लिँदा कारखाना भूतबङ्गला जस्तै भएको स्मरण गर्नुहुन्छ ।

“दुई दशकदेखि बन्द भएको कारखानाभित्रै पीपलका बोट उम्रिएका थिए । जताततै माकुरोले जालो लगाएर हेर्नै नसकिने अवस्था थियो”, उनले भने, “कारखाना त भूतबङ्गला जस्तै थियो । सुरुआती चरणमा त कसरी काम गर्न सकिएला र भन्ने लागेको थियो ।”

इञ्चार्ज देवका अनुसार कारखानामा भएका अधिकांश पुराना मेसिनलाई मर्मतसम्भार गरेर चल्नसक्ने बनाएको बताए । “कारखानामा साना ठूला गरेर ५५ वटा मेसिन रहेका छन् । तीमध्ये अहिले ५० वटा मेसिन चल्ने भइसकेका छन्”, उनले भने । अहिले केन्द्रमा १५ जना कर्मचारीले नियमित रुपमा काम गर्दै आइरहेका छन् ।

केन्द्रमा यस्ता औजार बने

केन्द्रले दुई दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २३ महिनाकै अवधिमा डेढ दर्जनजति कृषि औजार अनुसन्धान र विकास गरेर परीक्षण गरिसकेको छ । तर केन्द्रलाई सुरुआती छ महिना समय त जीर्ण र अस्तव्यस्त रहेको कारखानाको सरसफाइ र मेसिन मर्मतसम्भारमा खर्च गर्नुपरेको थियो ।

कृषि औजार कारखाना वीरगञ्जका इञ्चार्ज देवले केन्द्रले छोटो अवधिमा नै डेढ दर्जनजति कृषि औजार अनुसन्धान र विकास गरेको दाबी गरे । “हामीले गोबरबाट पानी निकाल्ने मेसिनको सफलतापूर्वक परीक्षण गरिसकेका छौँ”,  “यो मेसिन व्यावसायिक रुपमा गाईभैँसीपालन गर्ने कृषकको आग्रहमा निर्माण गरेका हौँ । यस्तै प्रकृतिको मेसिन भारतमा पाँच लाखभन्दा धेरैपर्ने रैछ । तर हामीले तीन लाख ६० हजारमै तयार पारेका छौँ ।”

केन्द्रले पराल काट्ने मेसिन, धान काट्ने मेसिन ९रिपर०, दाना बनाउने मेसिन, धान रोप्ने सानो मेसिन ९रिपर०, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हाते औजार, आलु रोप्ने, आलु गोड्ने, साना ट्र्याक्टरमा राख्ने कल्टिभेटर, हाते प्रेस मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने, हाते औजारमा बञ्चरो, खुँडा, सानो कुटोकोदालीलगायत घरासयी प्रयोजनमा प्रयोग हुने कृषि औजार तयार पारिसकेको छ ।

केन्द्रका अध्यक्ष पुनले पछिल्लो एक वर्षको अवधिमा निर्माण गरेर परीक्षण गर्दै आइरहेको मेसिन भएको बताए । “केन्द्रले १०–१२ थरिका उपकरण अबको छ महिनाभित्र व्यावसायिक रुपमा उत्पादन गर्नेछ”, उनले भने।

स्वदेशी उत्पादितभन्दा आयातीतलाई भन्सार छुट

केन्द्रका इञ्चार्ज देवले कृषि औजार निर्माणका लागि आवश्यकपर्ने कच्चा फलामको मूल्यभन्दा तयारी अवस्थाको कृषि उपकरण सस्तो हुँदा पनि औजार निर्माण खर्चिलो हुने गरेको गुनासो गरे । “तयारी अवस्थाका कृषि औजारमा एक प्रतिशतमात्रै भन्सार शुल्क लाग्ने गर्छ । तर औजार निर्माणका लागि आवश्यकपर्ने फलामलगायत कच्चापदार्थको आयातमा कम्तीमा पनि २० प्रतिशत पर्न जाने गर्छ”,

“विदेशीमा बनाइएको तयारी कृषि औजारसँग स्वदेशमा निर्माण गर्ने औजारले प्रतिस्पर्धी बनाउन गाह्रो भइरहेको छ”,  यसले पनि उत्पादनमा धेरै समस्या ल्याइरहेको छ ।

साउनको तेस्रो साता कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसहितको टोली कारखानाको अवलोकन गरेपछि मन्त्रालयमा आवश्यक छलफल गरेर उपयुक्त निर्णय गर्ने प्रतिबद्धता व्यक्त व्यक्त गर्नुभएको थियो । “आविष्कार केन्द्रले जिम्मा लिएपछि यसको जीर्णोद्धार भएको छ तर यो कारखाना पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन”, “कृषि औजार कारखानालाई पूर्ण क्षमतामा सञ्चालनगरी नेपाली किसानलाई आवश्यक कृषि औजारको उत्पादन गरी स्वदेशी कृषि औजारको प्रयोगमा बढोत्तरी गराएर देशभित्र प्रयोग हुने कृषि औजारमा आत्मनिर्भर बनाउँदै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न आवश्यक सहयोग पु¥याउने विश्वास लिएको छु ।”