global ime bank Long Banner Ad

गृहपृष्ठ चाँगुनारायणसँगै विभिन्न मन्दिरमा नागपञ्चमी मेला

चाँगुनारायणसँगै विभिन्न मन्दिरमा नागपञ्चमी मेला

चाँगुनारायणसँगै विभिन्न मन्दिरमा नागपञ्चमी मेला
नागपञ्चमीका अवसरमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरमा आज बिहानैदेखि मेला लागेको छ । नागपञ्चमीको दिन भव्य मेला लाग्ने यस मन्दिरमा आज दर्शनार्थीको बिहानैदेखि भीड लागेको पुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिए ।
साउन शुक्ल पञ्चमीका दिन लाग्ने यस मेलामा चाँगुनारायणलाई गाईको दूध, घ्यु, दुबो तथा रायोको गेडा चढाउनाले घरखेतमा नागले दुःख नदिने, धनधान्य हुने धार्मिक विश्वास छ । स्थानीयले चाँगुनारायण मन्दिरबाट फर्किएर आआफ्नो घरको मूल ढोकामा गाईको गोबरले नागको तस्बीर टाँसी दुबो, रायोको गेडा र गाईको दूध चढाउने परम्परा छ ।
भक्तपुर नगरपालिकास्थित तिलमाधव नारायणको मन्दिर र  वाखुपति नारायणको मन्दिरमा पनि मेला लागेको छ । यहाँका दुवै मन्दिरमा भक्तपुर, थिमि, काभ्रे, बनेपा, पनौतीलगायतका स्थानबाट दर्शनार्थीहरु आएका छन् ।
नागपञ्चमीका दिन तिलमाधव नारायण र बाखुपति नारायणको पूजागरी दर्शन गरेमा पूण्य प्राप्त हुने, मनोकाङ्क्षा पूरा हुने एवं घरमा सर्पले दुःख नदिने जनविश्वास रहेको छ । यहाँका मन्दिरमा दिनभरि दर्शनार्थीको घुइँचो लागेको छ ।
भक्तपुरको नाग पोखरीमा नागको पूजागरी दूधको अभिषेक गरिएको छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन यस पोखरीको बीचमा रहेको नागको मूर्तिमा दूधले अभिषेकगरी भव्य रुपमा पूजा गरेर स्थानीयले मेला भरेका छन् । स्थानीयले दूध, दही, अक्षता, फूल, दुबो अर्पणगरी पूजा गरेर मेला भरेका छन् ।
हिन्दु धर्मावलम्बीहरुले आज घरको मूल ढोकामा नागको तस्बिर टाँसेर नागको पूजा गरिएको छ । यसरी घरको मूल ढोकामा नागको तस्बिर टाँस्दा घरमा नाग, बिच्छीलगायतका जीवको दुःख नहुने, प्रसन्न हुने र वर्षभरि विषालु जीव, आगो र चट्याङको भय नहुने विश्वास रहेको छ ।

प्रकाशित समय : ०९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु