गृहपृष्ठ नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ को गोल्ड अवार्ड
नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ को गोल्ड अवार्ड
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ। कम्पनीले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा प्राप्त गरेको यो सम्मानलाई वित्तीय पारदर्शिता र संस्थागत सुशासनप्रतिको प्रतिबद्धताको मान्यताका रूपमा लिएको जनाएको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले असार १६ गते काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित विशेष समारोहमा उक्त अवार्ड प्रदान गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा अवार्ड ग्रहण गरेका थिए।
कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्य लेखा मापदण्डको प्रभावकारी पालना र संस्थागत सुशासनका आधारमा नेपाल लाइफलाई गोल्ड अवार्ड प्रदान गरिएको हो।
अवार्ड ग्रहणपछि प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गर्वको विषय भएको बताए। उनले यस उपलब्धिले कम्पनीलाई अझ उच्च स्तरको वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादन कायम राख्न थप जिम्मेवारी थपेको उल्लेख गरे। साथै उनले सञ्चालक समिति, बीमित ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।
नेपाल लाइफका अनुसार चैत मसान्त २०८३ सम्म कम्पनीले ५२ लाख ४० हजारभन्दा बढी बीमालेख जारी गरिसकेको छ। कम्पनीले २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको तथा हालसम्म १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको जनाएको छ।
त्यसैगरी कम्पनीले नेपाल सरकारलाई हालसम्म १७ अर्ब रुपैयाँभन्दा बढी राजस्व तथा कर बुझाएको जनाएको छ। वित्तीय स्थायित्व, सुदृढ बजार स्थिति र वित्तीय दायित्व पूरा गर्ने क्षमताका आधारमा इक्रा नेपालबाट ‘डबल ए माइनस (AA-)’ क्रेडिट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनी बनेको पनि कम्पनीको दाबी छ।
हाल नेपालका ७७ वटै जिल्लामा १९७ वटा कार्यालय र ६५ हजारभन्दा बढी सक्रिय अभिकर्तामार्फत सेवा दिइरहेको नेपाल लाइफले आगामी दिनमा पनि वित्तीय पारदर्शिता, सुशासन र गुणस्तरीय सेवामार्फत ग्राहकको विश्वासलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।
प्रकाशित समय : २०:०८ बजे



















