global ime bank Long Banner Ad

गृहपृष्ठ चलचित्र क्षेत्रमा नयाँ बिहानीको अनुभूति गराउनुपर्छ : मन्त्री डा तिमिल्सिना

चलचित्र क्षेत्रमा नयाँ बिहानीको अनुभूति गराउनुपर्छ : मन्त्री डा तिमिल्सिना

चलचित्र क्षेत्रमा नयाँ बिहानीको अनुभूति गराउनुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रमा परिवर्तनको स्पष्ट अनुभूति हुने गरी काम गर्न चलचित्र विकास बोर्डलाई निर्देशन दिएका छन्।

चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले सरकार र बोर्ड दुवैले परिणाममुखी काममार्फत जनताको विश्वास जित्नुपर्ने बताएका हुन् ।

मन्त्री तिमिल्सिनाले सरकारले जनताले चाहेको परिवर्तनलाई व्यवहारमा उतार्न निरन्तर आत्मसमीक्षा गरिरहेको उल्लेख गर्दै चलचित्र विकास बोर्डले पनि हरेक दिन आफ्नो भूमिकाबारे समीक्षा गर्नुपर्ने बताए ।

उनले भने, ‘हरेक दिन, हरेक समय चुनौतीका रूपमा नयाँ जिम्मेवारी आएको छ । जनतालाई कसरी खुसी बनाउने, कस्तो परिणाम देखाउने भन्नेमा सरकार गम्भीर छ । जनताले जुन कुराको विरोध गरे र परिवर्तनका लागि संघर्ष गरे त्यसलाई व्यवहारमा उतार्नु नै हाम्रो जिम्मेवारी हो । हामी सरकारमा किन आएका हौँ भन्ने विषयमा आफैँले पनि निरन्तर चिन्तन गरिरहेका छौँ। बोर्डले पनि यही सोचका साथ काम गरोस ।’

मन्त्री तिमिल्सिनाले नेपाली राजनीतिसँगै चलचित्र क्षेत्रमा पनि नयाँ युगको सुरुवात भएको अनुभूति सबैले गर्न सक्नुपर्ने बताए । बोर्डलाई चलचित्र क्षेत्रका सम्पूर्ण कलाकार, प्राविधिक, निर्माता, निर्देशक तथा नयाँ पुस्ताका सर्जकहरूले भरोसा गर्न सक्ने अभिभावकीय संस्थाका रूपमा विकास गर्नुपर्ने उनको धारणा थियो।

चलचित्र क्षेत्रका सरोकारवालासँग मन्त्रालय निरन्तर संवादमा रहेको उल्लेख गर्दै उनले चलचित्र उद्योगको विकासका लागि आवश्यक नीतिगत सुधार र सहकार्यमा सरकार खुला रहेको पनि स्पष्ट पारे।

यसैबीच बोर्डका अध्यक्ष दिनेश डिसीले आफ्नो कार्यकालमा चलचित्र उद्योगलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिएको बताएका छन्।

उनले बोर्डले विशिष्ट परिचयपत्र प्राप्त गरी ३० वर्षभन्दा बढी समय चलचित्र क्षेत्रमा योगदान दिएका व्यक्तिहरूका लागि वार्षिक एक लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य बीमा व्यवस्था गरिएको जानकारी दिए।

त्यसैगरी राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त व्यक्तित्व तथा २० वर्षभन्दा बढी योगदान दिएका चलचित्रकर्मीका लागि वार्षिक ७५ हजार रुपैयाँ बराबरको स्वास्थ्य बीमाको व्यवस्था गरिएको उनले बताए ।

अध्यक्ष डिसीले चलचित्र विकास बोर्डबाट जारी गरिएको परिचयपत्र कलाकारहरूको राष्ट्रिय पहिचानको आधार बनेको उल्लेख गर्दै यसको सम्मान र प्रयोगलाई प्रभावकारी बनाउन आग्रह गरे ।

चलचित्रसम्बन्धी विधेयकलाई अन्तिम रूप दिने क्रममा चलचित्रकर्मीहरू स्वयं सचेत भएर निगरानी गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले कुनै पनि प्रावधान अन्तिम चरणमा छुट्न नदिन बोर्डले ‘वाचडग’को भूमिका निर्वाह गर्ने बताए।

बोर्डले बजेट निर्माणमा पनि पुरानै शैलीलाई निरन्तरता नदिई चलचित्र उद्योगलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रमलाई प्राथमिकता दिएको उनले जानकारी दिए।

‘सरकारले आफैँ स्टुडियो बनाउने वा उपकरण किन्ने होइन, नीति निर्माण गरेर निजी क्षेत्रलाई सहज वातावरण सिर्जना गर्ने हो। त्यसैले चलचित्र उद्योगका वास्तविक सरोकारवालालाई सहयोग पुग्ने गरी बजेट पुनर्संरचना गरेका छौँ,’ उनले भने।

डिसीले चलचित्र उद्योगभित्र रहेको अनावश्यक विवाद, समूहबन्दी र नकारात्मक प्रवृत्ति अन्त्य गर्न सबै पक्ष सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए।वार्षिकोत्सवको अवसरमा बोर्डले रक्तदान तथा वृक्षारोपण कार्यक्रमसमेत आयोजना गरेको जानकारी दिँदै उनले सरकारको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ अन्तर्गत गरिएको योगदानका लागि चलचित्र विकास बोर्डले स्वर्ण पदक प्राप्त गरेको उल्लेख गरे। साथै चलचित्र क्षेत्रलाई अझ व्यवस्थित, प्रतिस्पर्धी र व्यावसायिक बनाउन मन्त्रालयसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रकाशित समय : २०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु