global ime bank Long Banner Ad

गृहपृष्ठ कैलालीमा चार सय हेक्टर बढी अतिक्रमित वन क्षेत्र खाली

कैलालीमा चार सय हेक्टर बढी अतिक्रमित वन क्षेत्र खाली

कैलालीमा चार सय हेक्टर बढी अतिक्रमित वन क्षेत्र खाली

एफ आर ए नेपालले सन् २०१० देखि २०१४ सम्म गरेको नेपालको वन क्षेत्रको सर्वेक्षणअनुसार कैलाली मुलुकमा सबैभन्दा बढी वन क्षेत्र भएको जिल्ला हो । जिल्लाको कूल तीन लाख २८ हजार सात सय १६ हेक्टरमध्ये दुई लाख पाँच सय ७३ हेक्टर वन क्षेत्र रहेको उक्त सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।

देशको सबैभन्दा बढी वन क्षेत्र भएको जिल्लामा अतिक्रमणको समस्या पनि धेरै रहेको सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज विष्टले बताए । उनका अनुसार कैलालीमा मात्रै २२ हजार हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमणमा रहेको छ । अतिक्रमण बढेसँगै नियन्त्रणका प्रयासलाई पनि तीव्रता दिइएको बिष्टले बताए ।

गत आर्थिक वर्षमा जिल्लामा चार सय ८९.४ हेक्टर अतिक्रमित वन क्षेत्र खाली गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लामा दुईवटा डिभिजन वन कार्यालयअन्तर्गत वनको संरक्षण र व्यवस्थापन हुँदै आएको छ । पहलमानपुर डिभिजन वन कार्यालयअन्तर्गतको चार सय १६ हेक्टर अतिक्रमण क्षेत्र खाली गराइएको कार्यालयका डिभिजनल वन अधिकृत रामबिचारी ठाकुरले जानकारी दिए । उनका अनुसार भजनी नगरपालिका–७ मा रहेको पुरैना तालको तीन सय ८१ हेक्टर जमिन खाली गराई ड्याम निर्माण गरिएको छ ।

भजनी–१ मा रहेको मोहोन्याल, पशुपति र वनदेवी सामुदायिक वन, वडा नं ९ स्थित सयपत्री र लौकाहा भौकाहा सामुदायिक वनमा हटरा बनाइएको र खनजोत गरेको ३३.९ हेक्टर वन क्षेत्र खाली गराइएको ठाकुरले बताए । उनका अनुसार उक्त क्षेत्रमा अतिक्रमण हटाई वृक्षारोपण गरिएको छ । घोडाघोडी नगरपालिका–२ स्थित मोहोन्याल सामुदायिक वन, लम्किचुहा नगरपालिका–१ स्थित जनकल्याण सामुदायिक वनभित्र बनाइएका भौतिक संरचनाहरु पनि भत्काइएको ठाकुरले जानकारी दिए ।

डिभिजन वन कार्यालय कैलालीअन्तगर्त ७३ हेक्टर क्षेत्रफलमा अतिक्रमण हटाइएको सो कार्यालयका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार अतिक्रण हटाइएको ४३ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिसकिएको छभने बाँकी क्षेत्रमा समेत वृक्षारोपणको तयारी भइरहेको छ ।

जिल्लामा विभिन्न बहानामा वन क्षेत्र अतिक्रमण हुने गरेको बताउँदै कँडेलले बाढीपहिरोबाट विस्थापित भएकाहरु अस्थायी रुपमा वन क्षेत्रमा टहरा बनाई बस्ने गरेकाले पनि अतिक्रमण बढेको उल्लेख गरे । डिभिजनल वन अधिकृत ठाकुरले भने “पछि उहाँहरु नै सोही जमिनलाई अतिक्रमण गरी बस्ने गरेकाले वन क्षेत्र अतिक्रमण हुने गरेको छ ।”

ठाकुरका अनुसार वन क्षेत्रको भोगाधिकार नलिई विभिन्न सङ्घसंस्था, स्थानीय पालिका, वडा कार्यालयलगायत सरकारी कार्यालयका भवन, मन्दिर, पार्किङस्थल, अस्थायी बजार वन क्षेत्रमा बनाइने गरेकाले पनि वन क्षेत्र अतिक्रमणमा परिरहेको छ । जिल्लाको चुरे क्षेत्र हुँदै भारतको दुधुवा नेसनल पार्कलाई जोड्ने अन्तर्राष्ट्रिय महत्वको वसन्ता जैविक मार्गसमेत अतिक्रमणको उच्च चपेटामा रहेको डिभिजनल वन अधिकृत कँडेलले बताए । उनका अनुसार सीमावर्ती क्षेत्रमा पर्ने जिल्लाको कैलारी गाउँपालिका र भजनी नगरपालिकाको हुलाकी राजमार्ग आसपासमा पर्ने वसन्ता वन क्षेत्र बर्सेनि बाढीपिडितका साथै विभिन्न बाहनामा निरन्तर अतिक्रमणको चपेटामा पर्दै आएको छ ।

पछिल्लो समय अतिक्रमण नियन्त्रणका लागि कैलालीमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय संरक्षण समूह, सङ्घसंस्थाबाट सहयोग प्राप्त भए पनि स्थानीय तह र राजनीतिक दलबाट अपेक्षित सहयोग प्राप्त नहुँदा समस्या भइरहेको डिभिजनल वन अधिकृत कँडेलले बताए ।

 

प्रकाशित समय : १६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु