global ime bank Long Banner Ad

गृहपृष्ठ जिपी कोइरालालाई विशिष्टिकृत अस्पतालका रुपमा विकास गरिने

जिपी कोइरालालाई विशिष्टिकृत अस्पतालका रुपमा विकास गरिने

जिपी कोइरालालाई विशिष्टिकृत अस्पतालका रुपमा विकास गरिने

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आज निरीक्षण गर्दै उनले अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

सङ्घीय सरकार मातहत रहेको उक्त अस्पतालको आज गृहजिल्ला आएको सन्दर्भ पारी निरीक्षण गर्दै मन्त्री पौडेलले भने “अस्पतालको गुरुयोजना बनाएर सुविधासम्पन्न बनाउनेतर्फ लागेका छौँ । मैले अस्पतालसँग गुरुयोजना मागेको छु । एक महिनाको समयसीमा तोकिएको छ । गुरुयोजना प्राप्त भएपछि आवश्यक प्रक्रिया अगाडि बढाउनेछौँ ।”

मन्त्री पौडेलले निरीक्षणका क्रममा अस्पतालले प्रदान गरिरहेको सेवा, भोग्नुपरेको समस्याका बारेमा जानकारी लिएका थिए । अस्पतालको स्तरोन्नति र थप विकासका लागि सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

मन्त्री पौडेललाई अस्पतालका बारेमा कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी गराएका थिए । सरकारले चालु आर्थिक वर्षको बजेटमा केन्द्रका लागि पूर्वाधार र उपकरण उपलब्ध गराउने शीर्षकमा बजेट विनियोजन गरेको छ विसं २०६७ मा स्व गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने उद्देश्यले अस्पताल स्थापना गरिएको थियो ।

सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व विसं २०७५ मा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । हाल उपचार केन्द्रको नाममा सात सय ४० रोपनी जग्गा प्राप्ति भइसकेको छ ।

पचास शय्याको अस्पतालमा सवारी दुर्घटनाका घाइतेका साथै झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका उपचार केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए । केन्द्रले पछिल्लो समययता विभिन्न स्वास्थ्य सुविधा थप गर्दै गएको छ । नागरिकलाई सहजरुपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गर्दै लगिएको उनको भनाइ छ ।

अस्पतालमा तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङजा, पाल्पा र नवलपरासी जिल्लाका नागरिक पनि सेवा लिन आउँछन् ।

अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन, कल्चर सेवा दिइरहेको छ । अस्पतालमा ओपिडी सेवा, चौबिसैँ घण्टा इमर्जेन्सी सेवा, ल्याब, भिडियो एक्सरे सेवा, सामान्य शल्यक्रियालगायत सेवा दिइरहेको छ । यहाँ श्वासप्रश्वासको उपचार पनि सुरु भइसकेको छ । अस्पतालमा दैनिक दुई सय ५० भन्दा बिरामी आउने गरेकामा ४०–५० जना श्वासप्रश्वासका रहेका अस्पतालका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित समय : १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु