गृहपृष्ठ बर्सेनि अपराधका घटना किन बढिरहेका छन् ?
बर्सेनि अपराधका घटना किन बढिरहेका छन् ?
बर्सेनि अपराधका घटनामा वृद्धि हुँदै गइरहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको पछिल्लो चार आर्थिक वर्षका तथ्याङ्कले अपराधको सङ्ख्या बर्सेनि बढ्दै गएको पुष्टि गर्छ ।
आर्थिक वर्ष २०७७/७८ मा देशभर विभिन्न प्रकृतिका ४० हजार एक सय २० अपराधिक घटनाको मुद्धा दर्ता भएकामा गत आव २०८०/८१ सम्म आइपुग्दा त्यो सङ्ख्या बढेर ५९ हजार दुई सय तीन पुगेको छ । आव २०७८/७९ मा ४६ हजार नौ सय दुई र आव २०७९/८० मा ५६ हजार तीन सय २३ मुद्धा प्रहरीमा दर्ता भएका छन् । अघिल्लो आवको तुलनामा गत आवमा पाँच दशमलव ११ प्रतिशतले मुद्धा दर्ता वृद्धि भएको छ । गत वर्ष सबैभन्दा बढी काठमाडौँ उपत्यकामा १७ हजार ४५ मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ । पछिल्लो समय सबैभन्दा धेरै आर्थिक अपराध देखिएको छ । चेक अनादरको मुद्धा बढी मात्रामा दर्ता भएका छन् ।
काठमाडौँ उपत्यकामा आर्थिक गतिविधि केन्द्रित हुँदा आर्थिक अपराधको घटना बढेको प्रहरीको भनाइ छ । मधेसमा नौ हजार छ सय २०, कोशीमा नौ हजार तीन सय ७८, लुम्बिनीमा सात हजार छ सय ४४, बागमतीमा पाँच हजार एक सय ९७, गण्डकीमा चार हजार छ सय ९८, सुदूरपश्चिममा तीन हजार छ सय एक र कर्णालीमा दुई हजार २० वटा आपराधिक घटनाको मुद्धा दर्ता भएका छन् । गत वर्ष सबैभन्दा बढी १३ हजार दुई सय ६३ बैङ्किङ कसुरसम्बन्धी मुद्धा दर्ता भएका प्रहरीको तथ्याङ्क छ ।
सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकतासम्बन्धी १० हजार सात सय ५६, आत्महत्या सात हजार एक सय ९४, लागुऔषध चार हजार तीन सय ९८, चोरी तीन हजार सात सय ५८, जबरजस्ती करणी दुई हजार पाँच सय सात, ठगी एक हजार आठ सय ७४, सवारी ज्यान एक हजार सात सय ७५ र ज्यान मार्ने उद्योगसम्बन्धी एक हजार १९ वटा मुद्धा दर्ता भएका छन् ।
प्रकाशित समय : १९:०४ बजे


















