गृहपृष्ठ ‘प्राचीनकालमा पुर्खाले बनाएका सम्पदाको संरक्षण गर्नुपर्छ’
‘प्राचीनकालमा पुर्खाले बनाएका सम्पदाको संरक्षण गर्नुपर्छ’
काठमाडौँ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले प्राचीनकालमा पुर्खाले बनाएका सम्पदाको संरक्षण गरिनुपर्नेमा जोड दिएको छ ।
विश्वसम्पदा दिवसका अवसरमा प्रदेश सरकारअन्तर्गतको पर्यटन कार्यालयले आज हाँडीगाउँ क्षेत्रमा आयोजना गरेको कार्यक्रममा उहाँले नयाँ मठमन्दिर बनाउनेभन्दा पनि पुराना सम्पदाको संरक्षण गर्नेतिर ध्यान जानुपर्ने बताउनुभयो ।
प्राचीनकालमै नेपालमा धेरै सम्पदा बनिसकेकाले तिनको संरक्षण, संवर्द्धन र प्रचारप्रसार गरी आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने मन्त्री श्रेष्ठको भनाइ थियो ।
नयाँ मठमन्दिर बनाउनेलाई पुराना सम्पदाको महत्त्व थाहा नहुने गरेकाले त्यसकाबारेमा पनि जागरण ल्याउनुपर्ने उनको भनाइ थियो । भक्तपुरमा अहिले चलिरहेको बिस्केट जात्रामा युवाको सहभागिता कम देखिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले युवालाई संस्कृतिको संरक्षणमा सक्रिय गराउनु चुनौती बन्न थालेको बताउनुभयो । युवाको सहभागिता नभए संस्कृति नजोगिने भएकाले यसतर्फ सरोकार भएका सबैको ध्यान जानुपर्ने भनाइ पनि मन्त्री श्रेष्ठले व्यक्त गरे ।
“नेपालमा प्रशस्तमात्रामा सांस्कृतिक र प्राकृतिक सम्पदा भए पनि त्यसका माध्यमबाट पर्यटक आकर्षित गर्न सकिएको छैन, सांस्कृतिक र प्राकृतिक सम्पदा अस्तव्यस्त हुँदा पनि यसमा असर गरेको छ, सम्पदा क्षेत्रलाई चुस्त बनाएर युवा सहभागिताका माध्यमबाट पर्यटन प्रवर्द्धनमा काम गर्नुपर्छ”, उनले भने।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कला र हस्तकला क्षेत्रका सम्पदा संरक्षण गरेर नेपालमा पर्यटकलाई आकर्षित गरी व्यापार व्यवसाय पनि वृद्धि गर्न सकिने विचार राखे । यसको प्रवर्द्धनका लागि सरोकार भएका निकायबीच सहकार्य हुनुपर्नेमा पनि उनले जोड दिएको थियो ।
सो अवसरमा प्रदेश संस्कृति मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले मन्त्रालयले गरेका संस्कृति र पर्यटनसम्बन्धी कार्यक्रमकाबारेमा प्रस्तुति गरेको थियो । संस्कृतिविद् प्रा डा सुदर्शनराज तिवारीले हाँडीगाउँ क्षेत्रका सम्पदाकाबारेमा कार्यपत्र प्रस्तुत गरेको थियो ।
कार्यक्रममा नेपाल सम्पदाका सङ्घका अध्यक्ष धर्मराज शाक्य, वरिष्ठ उपाध्यक्ष डा गोविन्द टण्डन, पर्यटन कार्यालय काठमाडौँका कार्यालय प्रमुख पवनकुमार पोखरेललगायतले प्राकृतिक र सांस्कृतिक पर्यटनका माध्यमबाट नेपालमा पर्यटक भित्र्याउन सकिने भएकाले यसतर्फ काम गरिनुपर्ने बताएको थियो ।
कार्यक्रमअघि हाँडीगाउँ क्षेत्रका सम्पदामा सांस्कृतिक झाँकी र बाजागाजासहित सम्पदा संरक्षणमा चेतना जगाउने उद्देश्यले पदयात्रा पनि गरिएको थियो । पदयात्रामा सम्पदाप्रेमीहरूको उल्लेख्य सहभागिता थियो ।
प्रकाशित समय : १६:५८ बजे



















