global ime bank Long Banner Ad

गृहपृष्ठ व्यावसायिक बङ्गुरपालनबाट आकर्षक आम्दानी गर्दै सुगम

व्यावसायिक बङ्गुरपालनबाट आकर्षक आम्दानी गर्दै सुगम

व्यावसायिक बङ्गुरपालनबाट आकर्षक आम्दानी गर्दै सुगम

भोजपुरका केही युवाले व्यावसायिक रूपमा पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई ती युवामध्येका एक हुन । उनि व्यावसायिक बङ्गुरपालन र फलफूलखेतीमा जुटेका छन् ।

उद्यमी राईले सेन्मायुङ कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक बङ्गुरपालन, कागती, एभोकाडो, आँप, अनार, लिचीलगायत खेती गर्दै आएका छन् ।

बङ्गुर फार्मबाट उत्पादन हुने मलको सदुपयोग गर्ने लक्ष्यले बङ्गुरपालनसँगै फलफूलखेती गरिरहेको उनले बताए । व्यवसायी राईको फार्ममा अहिले ४१ वटा बङ्गुर छन् ।

भविष्यमा बङ्गुरपालन तथा फलफूलखेतीबाट वार्षिक ५० देखि ६० लाखसम्म कारोबार गर्ने लक्ष्यका साथ थप विस्तारमा जुटेको उनले बताए । विदेशमा सात वर्ष बिताएका राईले त्यहाँ सिकेको सीपलाई सदुपयोग गर्दै व्यावसायिक कृषिमा जुटेको बताए । “वार्षिक १२ देखि १५ लाखसम्म कारोबार हुन्छ । त्यसबाट खर्च कटाउँदा वार्षिक आठदेखि १० लाखसम्म आम्दानी हुन्छ ।”

स्वदेशमा व्यावसायिक रूपमा काम गर्नसके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने उनि बताउछन् । आफ्नो फार्ममा उत्पादन भएका बङ्गुर खरिद गर्न ठेकेदार घरमा आउने उनले बताए । फार्ममा स्थानीय जातसँगै उन्नत जातका हेमसार, धराने कालो बङ्गुरलगायत पालन गरिरहेको उनले बताए । फार्ममा एक सय २० केजीदेखि एक सय ५० केजीसम्मको बङ्गुर छन् । “बङ्गुर बिक्रीको कुनै समस्या छैन”, उनले भने, “ धरान, विराटनगरबाट ठेकेदार नै आउँछन् । मागलाई धान्न धौ धौ छ । यो व्यवसायलाई अझ विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको छु ।”

कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको व्यवसायी राईले बताए । उनलाई व्यवसायमा घरपरिवारले सहयोग गर्दै आएका छन् । व्यावसायिक कृषि कर्ममा लाग्ने किसानलाई राज्यले पनि आवश्यक सहयोग गर्नुपर्ने उनको धारणा छ । बङ्गुरपालन, फलफूल तथा तरकारीखेतीमा आफूले जानेको सीप अन्य किसानलाई सिकाउँदै आएको व्यवसायी राई बताउछन् ।

 

प्रकाशित समय : ११:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु