global ime bank Long Banner Ad

गृहपृष्ठ आलेखः पुष्प व्यवसायमा भविष्य खोज्दै युवा

आलेखः पुष्प व्यवसायमा भविष्य खोज्दै युवा

बेलायतबाट उच्च शिक्षा लिइ स्वदेश फर्किएपछि निर्मल थापाले हजुरआमाकै पुष्प व्यवसाय सम्हालेका छन् । हजुरआमा राधिका खड्का पुष्प व्यवसायमा लागेको ४० वर्ष भयो । यसैमा रमेकी हजुरआमाको व्यवसायिक खुसी देखेरै निर्मल पनि यही व्यवसायमा लागेका हुन ।

निर्मल भन्छन्, “सानैदेखि हजुरआमा र मामाले नर्सरी व्यवसाय गरेको देखेर यसलाई नजिकबाट बुझ्ने मौका पाएको थिएँ । मलाई पनि राम्रै लाग्यो । बेलायतमा पढेर फर्किएपछि म पनि यसैमा लागेको छु । अहिले त हजुरआमालाई सघाउँदै छु, खुसी छु । मलाई लाग्छ भोलिको मेरो पेसा यही हो ।”

पछिल्लो समय पुष्प व्यवसायमा युवाहरुको आकर्षण बढेको देखिएको छ । निर्मल जस्तै अन्य धेरै युवा यो व्यवसायमा लागेका छन् । गत शुक्रबारदेखि भृकुटीमण्डपमा शुरु भएको नर्सरी प्रदर्शनीमा देखिएका यस्ता धेरै युवा छन् । जसले यो व्यवसायलाई भोलिको पेसा बनाएका छन् ।

“पहिला त नर्सरी व्यवसाय गरेर परिवार पाल्न सकिएला भन्ने लागेको थिएन”, ४० वर्षदेखि नर्सरी गर्दै आएकी निर्मलकी हजुरआमा राधिका भन्छन, “निरन्तरको मिहेनतसँगै यो व्यवसाय फस्टाउँदै जान थाल्यो । अहिले यसैमार्फत आत्मनिर्भर भएकी छु, सन्तुष्ट छु ।”

स्वदेशमा केही भविष्य छैन, अब विदेश पलायन हुनुको विकल्प छैन भनेर हतोत्साहित हुने युवालाई स्वदेशमा पनि मिहेनत गर्न सकेमा राम्रो भविष्य छ भन्ने पाठ सिकाउने राधिकाको सफलताको कथा पछ्याउँदै छन् नाती निर्मल । “सबैको सपना विदेश जाने र उतै बस्ने भन्ने हुन्छ”, निर्मलले भने “मैले त विदेश पढेँ तर स्वदेशमा नै आफूलाई थाहा भएको व्यवसाय गर्न रुचि राखेर फर्किएको हुँ, मिहेनत गर्न सके स्वदेशमा आम्दानी र सन्तुष्टि दुवै छ ।”

अहिले उनले ‘आइ एम अ गार्डेनर’ भन्दै यस व्यवसाय विस्तारको अभियानमा छन् । हाल उनको नर्सरीमा ४५ जनाले रोजगारी पाएका छन् । उनले अनलाइनबाट पनि विरुवा बिक्री वितरण गर्दै आएका छन् । हाल ज्ञानेश्वर, लबिममल ललितपुर, मल्किाटारमा व्यवसाय गरिरहनुभएका उनले उपत्यका बाहिर पनि विरुवाहरु बिक्री गर्ने गरेका छन् ।

थापा जस्तै स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने अर्को गतिलो उदाहरण हुन । ललितपुरस्थित भैंसीपाटीका दीपेन्द्र तुलाधार । दीपेन्द्र पहिले विज्ञापन एजेन्सी सञ्चालन गर्थे । कोरोना भाइरसको महामारीसँगै आर्थिक स्थिति ह्रासोन्मुख भयो । नेपालमा पनि बन्दाबन्दीसँगै कैयौँ उद्योग धरासायी बन्न थाले । विज्ञापन बजार पनि अस्तव्यवस्त हुन थाल्यो ।

उनका भाइहरु विदेश तिरै छन् । विज्ञापन एजेन्सी चल्न छोडेपछि उनलाई पनि अब विदेश नै जानुपर्छ भनेर आफन्त र साथीभाइले सुझाव दिन थाले । तर उनलाई लाग्यो विदेशमा पनि सजिलो कहाँ छ र ? स्वदेशमै विभिन्न विकल्प खोज्ने क्रममा उनेले नर्सरी व्यवसाय रोज्नुभयो । उनि भन्छन, “अहिले त राम्रै कमाइ भएको छ ।”

भृकुटिमण्डपमा जारी पुष्प प्रदर्शनीमा शनिबार पुग्दा तुलाधार ग्राहकलाई फूल तथा नर्सरीका विरुवा बिक्रीमै व्यस्त हुन्थे । प्रदर्शनीमा व्यापार बढाउनुपर्छ भन्ने त थियो नै कुन विरुवाको स्याहारसुसार कसरी गर्ने, कति समयमा कति मात्रामा पानी राख्ने ? भन्ने सीप सिकाउन उनि व्यस्त हुन्थे ।

“हामी फूल तथा नर्सरीका बिक्री त गरौँला, आफूबाट ग्राहकले किन्नुभएको विरुवा हेरचाह नपाएर मर्छ कि भन्ने पिर पनि लाग्छ । कुन विरुवालाई बाहिर तथा कुनलाई भित्र राख्ने ? कसरी सम्भार गर्ने ? भन्ने विषय पनि हाम्रा लागि उत्तिकै महत्वपूर्ण हुन्छ । हामीसँग किनेर लगेका विरुवा राम्रोसँग हुर्किउन र नमरुन भन्नेमा पनि जानकारी पनि हामी दिन्छौँ”, उनले भने, ।

उनले ग्राहकलाई सहज होस् भनेर उनले नर्सरीका लागि चाहिने सबै सामग्रीहरु एकै छानामुनि बिक्री गर्दै आएका छन् । “पहिला ग्राहकहरु नर्सरी किन्न एउटा ठाउँमा र गमला किन्न अर्को ठाउँमा जानु पर्दथ्यो”, उनले भने “कुटोलगायतका सामग्री किन्न जानुपर्ने झन्झटबाट मुक्त गराउन सबै सामग्री गमला घरमै बिक्री गर्दै आएको छु ।”

तुलाधारका अनुसार होटल, रेष्टुरेन्ट, अफिस, अपार्टमेन्ट, घरभित्र सजाउन गमला अनिवार्य जस्तै भइसकेको छ । गमला नहुँदा शोभा नै दिँदैन, अनि बगैँचा मनोमोहक बनाउन पनि फूल र नर्सरीका विरुवा अनिवार्य भइसकेका छ, मानिसको सोख परिवर्तन भएसँगै प्लान्टहरुमा आकर्षण पनि बढ्दो रहेको उनको भनाइ छ ।

आज बुकी दिनु सट्टा कुनै पनि अवसरमा विरुवासहितको गमलाहरु दिने प्रचलन बढ्न थालेको उनि सुनाउछन् । बुकी छिटो ओइलाएर जाने हुँदा गमला दिएमा लामो समयसम्म रहने सोचले पछिल्लो समय बुकीको सट्टा गमला दिन र लिन रुचाइने गरेको उनको भनाइ छ । बिहान पूजा गर्नदेखि घर सजाउन, बिहे तथा व्रतवन्धमा मण्डपहरु सजाउन फूलको प्रयोग बढिरहेकाले अझै नर्सरी व्यवसायमा भविष्य देख्छन तुलाधार ।

नर्सरी व्यवसायमै भविष्य बनाइरहनुभएको अर्को पात्र हुन, सिर्जना फ्लावर नर्सरी भक्तपुरको नेत्रकुमारी खड्का । उनि विगत २६ वर्षदेखि निरन्तर यही पेशामा सक्रिय छिन । उनको नर्सरीमा दश जनाले रोजगारी पनि पाइरहेका छन् । पछिल्लो समय नर्सरीप्रतिको आकर्षण बढेसँगै बिक्री वितरण पनि बढिरहेको उनि सुनाउछिन । “पहिला त कसले किन्छ होला र नर्सरीका विरुवाहरु ? यो व्यवसायबाट कसरी अघि बढ्ने होला भन्ने लाग्थ्यो ? सङ्घर्ष गर्दै जाँदा हुँदो रहेछ”, उनले भनिन, “अहिले त यही व्यवसायबाट राम्रो आम्दानी भएको छ ।”

व्यवसाय सन्तोषजनक भएरै होला उनको छोरा राजु पनि सोही पेशालाई नै निन्तरता दिने योजनामा छन् । राजु बिहानमा कलेज र दिउँसोको समयमा नर्सरी व्यवसायमै समय बिताएकी छन् । अरुका छोराहरु विदेश जान्छु भनेर झगडा गरिरहँदा आफ्नो छोरा भने स्वदेशमा नै यही व्यवसायलाई निरन्तरता दिने सोचमा रहेकाले आफूलाई खुशी लागेको उनको भनाइ छ ।

दाहाल ट्रडिङ कन्सर्नका सञ्चालक दुर्गाप्रसाद दाहाल पनि विगत ४४ वर्षदेखि यही पेसामा आवद्ध छन् । “पहिला त यो व्यवसायमा लाग्ने देशभर नै हामी दुई÷तीन जना मात्रै थियौँ”, उनि भन्छन्, “विस्तारै ग्राहकहरुले प्लान्ट खरिदमा अभिरुचि बढाएसँगै अहिले त धेरै जना यही व्यवसायमा लाग्न थालेका छन्, अब बजारमा प्रतिस्पर्धा गर्न नै गाह्रो हुन थालिसक्यो ।” उनका छोरा आशीष पनि बुबाले रोज्यको पेशामा सक्रिय बन्न थालेका छन् ।

प्रकाशित समय : १३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु