निर्यातका लागि नेपाली उत्पादन मौलिक हुनुपर्छ : अर्थमन्त्री डा महत
वि.सं.२०८० माघ १८ बिहीवार १४:३७
shares

अर्थमन्त्री डा प्रकाश शरण महतले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न आवश्यक रहेको बताए । निर्यात व्यवसायी महासङ्घ नेपाल (फिन)को स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोहमा अर्थमन्त्री डा महतले नेपाली उत्पादन उच्च प्रविधियुक्त भन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिए ।
“निर्यात क्षेत्रको भविष्य निकै राम्रो छ । निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राखेको छ”, उनले भने, “नियार्तका लागि नेपाली उत्पादन मौलिक हुनुपर्छ ।”
उनले भारतसँगको व्यापार सम्झौताबाट फाइदा लिन छाडेर साफ्टाको विषय उठाउन आवश्यक नरहेको धारणा राखे । उनले आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व वृद्धि र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यात कर्ताले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
“निर्यात व्यवसायीहरूको सम्र्पुण र परिश्रमले विश्व बजारमा नेपाली उत्पादनको बजार माग बढाउन र मुलुकको निर्यात क्षमता विस्तारमा योगदान रहँदै आएको छ”, उनले भने । मन्त्री महतले फिनले उठान गरेका जायज माग देशमा आर्थिक स्रोतको कमीका कारण तत्काल सम्बोधन गर्न नसकिएको र निकट भविष्यमा निर्यातकर्तालाई सहुलियत उपलव्ध गराइने प्रतिबद्धतासमेत व्यक्त गरे ।

























