गृहपृष्ठ आईपीओको प्रिमियम वापतको रकम जगेडा कोषमा राख्न निर्देशन
आईपीओको प्रिमियम वापतको रकम जगेडा कोषमा राख्न निर्देशन
नेपाल बीमा प्राधिकरणले आइपीओमार्फत् उठेको प्रिमियम वापत उठेको रकम जगेडा कोषमा राख्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ। प्राधिकरणले बुधबार कम्पनीहरुलाई यस्तो निर्देशनसहितको पत्र पठाएको हो ।
सार्वजनिक लेखा समितिले पौष १२ गते बीमा कम्पनीहरुले प्रिमियममा आइपीओ जारी गरेको विषय सच्याउन प्राधिकरणलाई निर्देशन दिएको थियो । बीमा कम्पनीहरुलाई प्रिमियममा सेयर बिक्री गर्न नेपाल बीमा प्राधिकरणले स्वीकृत दिनु बीमा ऐनको विपरीत र सर्वसाधारण लगानीकर्ताको हित विपरीत देखिएको भन्दै सो कार्यलाई तत्काल सच्याउन लेखा समितिले नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएको थियो ।
लेखा समितिको निर्देशनपछि प्राधिकरणले प्रिमियम वापत उठेको रकम जगेडा कोषमा राख्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ। यस विषयमा हिमालयन रि ईन्स्योरेन्स विरुद्ध सर्वोच्च अदालतमा मुद्दा समेत परेको छ । अदालतको आदेश पछि सोहि अनुसार गर्ने गरि प्राधिकरणले हाल कम्पनीहरुलाई प्रिमियम रकम जगेडामा राख्न भनेको हो । यता कम्पनीहरुभने सो रकमबाट बोनस सेयर जारी गरेर चुक्ता पुँजी बढाउँने योजनामा थिए ।
हिमालयन रि ईन्स्योरेन्ससहित ५ बीमा कम्पनीले प्रिमियममा आइपीओ जारी गरेका छन् । जसमध्ये आइएमई लाइफ, सिटिजन्स लाइफ, सन लाइफ नेपाल र रिलायबल नेपाल लाइफ रहेका छन् । यी सबै कम्पनीलाई प्राधिकरणले प्रिमियम वापत उठेको रकम जगेडा कोषमा राख्न निर्देशन दिएको हो ।
प्रकाशित समय : १२:१६ बजे



















