कौसीखेतीबाट मनग्य आम्दानी गर्दै प्रेमराज
वि.सं.२०८० मंसिर २७ बुधवार १२:२८
shares

कञ्चनपुर भीमदत्त नगरपालिका–३ तिलकपुरका प्रेमराज खत्रीले घरको छतभरि कौसीखेती गरी विभिन्न प्रकारका तरकारी फलाएका छन् । उनको कौसीमा बाँसले बनाएका ¥याकमा गोलभेंडा, काउली, हरियो खुर्सानी, रायो र चाइनिज सागलगायत हिउँदे तरकारीले हराभरा छ ।
उनको बारीमा विभिन्न प्रजातिका फलफूलका बिरुवा र जडीबुटीले हराभरा देख्निछ । गाउँका धेरैले उनको बारीलाई अशोक बाटीका भन्ने गर्दछन् । उक्त बारीमा नभएको कुनै बिरुवा छैन । “२०६६ सालमा प्रहरीबाट सेवानिवृत्त भएपछि मैले खेती सुरु गरेको हुँ ।” उनले भने “सुरुआतमा घरमा खानलाई उत्पादन गर्न खोजेको हुं अहिले बिक्री गर्न थालेको छु मासिक चार/पाँच हजार आम्दानी हुन्छ ।” उनले आफुसँग जग्गा नभएका कारण घरको छतमा खेती गर्नुपरेको बताए ।
“यहाँ मेरो दुई कठ्ठा एक धुर जग्गा छ त्यसमा घर बनेको छ तरकारी खेती गर्न ठाउँ छैन ।” खत्रीले भने “जग्गा नभएपछि छतमा खेती सुरु गरे यहाँ सबै प्रकारका तरकारी छन् राम्रो फल्छ ।” तरकारी बिक्रीबाट मासिक चार/पाँच हजार र दूध बिक्रीबाट मासिक १६ हजार आम्दानी हुने गरेको उनले बताए ।
“केही गरौँ भन्ने भावना भएको मानिस कहिले बेरोजगार हुँदैन ।” उनले भने “यहाँ धेरै मानिस आफ्नै मनिस्थितिले बेरोजगार भएका छन् ।” उनले आफ्नो सीप प्रयोग गरे स्वदेशमै रोजगार रहेको बताए ।
“मेरो परिवारले अहिलेसम्म बजारको औषधि खानुपरेको छैन ।” उनले भने “घरको उत्पादनले आफू पनि स्वस्थ्य भइन्छ आम्दानी पनि हुन्छ ।” अहिले खेतीबाटै आएको आम्दानीले छोराछोरीको पठनपाठन खर्च चलेको उनले भने । “छोरो विएससी सिएसआई र छोरी विएससी अध्ययन गर्दै छन् ।” उनले भने“तरकारी बिक्रीबाट आएको रकमले घरखर्च सबै चलेको छ ।”

























