global ime bank Long Banner Ad

गृहपृष्ठ ‘विदेशी मुद्रा आर्जनको स्रोत कुचो, राज्यले बजार विस्तारमा ध्यान दिनु पर्छ’

‘विदेशी मुद्रा आर्जनको स्रोत कुचो, राज्यले बजार विस्तारमा ध्यान दिनु पर्छ’

‘विदेशी मुद्रा आर्जनको स्रोत कुचो, राज्यले बजार विस्तारमा ध्यान दिनु पर्छ’

सबै नेपालीका घरमा हुने वस्तुमध्येको एउटा हो कुचो । शहरदेखि गाउँसम्म कुचोको प्रयोग गर्नु नै पर्छ । बिहान उठेपछि कुचो लगाउनु पर्ने हाम्रो संस्कार नै भइसकेको छ । हाम्रो संस्कारको रुपमानै रहेको कुचोको व्यपार र आत्मनिर्भताको अवस्थाका विषयमा नेपाल कुचो संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश :

नेपालका कुचो व्यवसायको अवस्था के छ ?

नेपालमा कुचोको व्यवसाय अहिलेसम्म राम्रो नै छ । बजार पनि राम्रै छ । विशेष गरेर दिपावलीको समयमा कुचोको माग बढी हुन्छ । यो समयमा आन्तरिक खपत बढी हुने भएकाले व्यापार बढेको अवस्था छ । भर्खरै दिपाली सकिएकाले पनि अहिले कुचोको व्यापार बढेको छ । यो वर्ष अघिल्लो वर्षको तुलनामा बढी नै कुचो बिक्री भएको छ । यो वर्ष अघिल्लो वर्षको तुलनामा कुचोको उत्पादन पनि बढी भएको अवस्था छ ।

कुचोको उत्पादन अघिल्लो वर्षको भन्दा बढी भएकाले बाहिर निकासी पनि अलि धेरै भयो । तर अघिल्लो वर्षको तुलनामा कुचोको मूल्य भने केही कम भएको अवस्था छ । हामीले भारत तर्फ पनि निकासी गरेका छौँ । तर कुचोको उत्पादन भारतमा पनि धेरै नै भएका कारणले मूल्यमा असर परेको अवस्था छ । हाम्रो मुख्य बजार भारत नै हो । खपत नै नभएको अवस्था भने होइन तर सबै भारत नै गयो तर कम मूल्यमा निर्यात गर्नु पर्‍यो । त्यहाँ उत्पादन बढ्दा मूल्यमा गिरावट आउने नै भयो ।

भारतमा उत्पादन बढ्दा हामीलाई अन्य देशसँग बजार विस्तार गर्न नसकेका कारणले भविष्यमा यसको बजारको लागि खतार हुने देखिन्छ । भातरले किसानलाई धेरै मात्रामा अनुदान दिएको छ । जसले गर्दा उत्पादन बढी छ । यसले हामीलाई भविष्यमा प्रतिस्पर्धा गर्न समस्या हुने देखिन्छ । यस तर्फ राज्यले बेलैमा सोच्नु पर्ने अवस्था छ । यदि राज्यले बजारको व्यवस्थापन गर्न सकेको खण्डमा विदेशी मुद्रा आर्जन गर्ने राम्रो स्रोत बन्न सक्छ ।

हामी कुचोमा आत्मनिभर बन्न सकेको छौँ ?

हामी अम्लिसोको कुचोमा पुरै रुपमा आत्मनिर्भर रहेको अवस्था छ । हामी आत्मनिर्भर भएर नै कुचोको निकासी गर्न सकेका हौँ । हामी वार्षिक रुपमा १ अर्बको निर्यात गर्छौँ । तर जुन रुपमा हामीले प्रयोग गर्ने खरेटो कुचोमा भने हामी आत्मनिर्भर बन्न सकेका छैनौँ ।

अम्लिसो हाम्रोमा उत्पादन हुने भएकाले यसमा हामी आत्मनिर्भर भएको अवस्था छ । खरेटो कुचो बनाउनका लागि नरिवलको सिन्का र पामआयलको सिन्का प्रयोग गर्नु पर्ने कारणले गर्दा हामी यसमा पर निर्भर रहेको अवस्था छ । खरेटोको रुपमा प्रयोग हुने कुचोको लागि आवश्य पर्ने सिन्का हामीले इन्डोनेसियाबाट आयात गर्नु पर्ने अवस्था छ । त्यसलाई पनि कुचो नै भनिन्छ ।

तर अम्लिसोको कुचो र त्यसको प्रयोग फरक–फरक छ । अम्लिसोको कुचोले हामी घर भित्र बडार्ने काम गर्छौँ भने खरेटोले घर बाहिर बडार्ने काम हुन्छ । खरेटो बनाउनका लागि नरिवलको सिन्का र पामओयलको सिन्का प्रयोग हुन्छ । नेपालमा नरिवलको खेती कम हुने भएकाले र पामआयलको खेती नेपालमा नहुने कारणले गर्दा हामीलाई समस्या भएको हो ।

बाँस र थाकलको सिन्काबाट खरेटो बनाउन सक्ने भए पनि त्यो थाकलको उत्पादन निकै कम र बाँसको सिन्का बनाउन बढी खर्चिलो हुन्छ । इन्डोनेसियाको सिन्का सहजै आइरहेको अवस्थामा यसको प्रयाग भएको छ । यदि नरिवल खेती गर्न सकेको खण्डमा हामीले त्यो सिन्काको आयातलाई रोक्न सक्छौँ । यसले दोहोरो फाइदा हुन्छ । एकातर्फ नरिवलको तेल बनाउने लगायत काममा प्रयोग हुने भयो भने अर्को तर्फ खरेटो बनाउन सकिने भयो ।

वार्षिक कति मूल्य बराबरको कुचोको व्यापार हुन्छ ? नेपालमा मात्रै हो कि विदेशमा पनि निर्यात गछौँ हामी ?

हामीले विदेशमा कुचो निर्यात गर्दछौँ । तर मुख्य बजार भने भारत नै हो । अन्य देशहरुको कुरा गर्दा हामीले केही मात्रामा बंगलादेश र चिनको तिब्बतमा निर्यात गर्ने गरेका छौँ । तर त्यो निकै कम मात्रामा छ । अन्यथा हाम्रो कुचोको बजार भनेको आन्तरिक बजारसँग भारतीय बजार नै हो ।

अन्य देशमा कर बढी भएकाले हामीले निकासी गर्न सक्ने अवस्था नै छैन । हामीले ५१ प्रतिशत कर तिरेर पनि बंगलादेश पठाइएको छ । कहिले कसो तिब्बतबाट पनि माग हुने भएकाले मुठो भएको कुचो त्यहाँ पनि पठाउने गरिएको छ । तर हाम्रो मुख्य बजार भनेको भारत नै हो र प्रतिस्पर्धी पनि भारत नै हो । भारतले उत्पादन बढाएकाले हामीलाई केही असर त पर्छ नै । बिक्री नै नहुने अवस्था छ नहोला तर मूल्य कम हुने अवस्था हुन्छ ।

कुचो बनाउनका लागि प्रयोग हुने अम्लिसोमा नेपालका करिब १ लाख परिवार प्रत्यक्ष र परोक्ष रुपमा संलग्न रहेका छन् । यसमा पनि कसैले अलि धेरै मात्रामा व्यवसायी खेती गरेको अवस्था छ भने कतिले पशुहरुका लागि घाँसको रुपमा पनि खेती गरेका छन् । तर पछिल्लो समय विदेश जानेको संख्यामा वृद्धि भएका कारण अम्लिसोको उत्पादमा कमी आउने देखिएको छ । जनशक्ति विदेश गए पछि उत्पादनमा ह्रास आउने कुरा कुचोमा मात्रै नभएर सबै व्यवसायमा हुने कुरा हो ।

कुचोको कच्चा पदार्थ के हो ? यसबाट फाइदा लिनका लागि के गर्नु पर्छ ?

कुचोको कच्चा पदार्थ मुख्य गरि अम्लिसो नै हो । यसको कुनै विकल्प छैन । कुचो अरुको निस्कदैन । खरेटो बनाउने विषयमा भने अरु पनि प्रयोग हुन सक्छन् । नेपालमा अम्लिसोको कुचो नै प्रयोग हुन्छ । केही पहिले प्लास्टिकको कुचो पनि प्रयोगमा आएको थियो । तर अहिले त्यसको प्रयोग भएको छैन ।

अम्लिसोको खेतीले भुक्षय रोकिने र पशु पालनमा पनि यसबाट फाइदा लिन सकिन्छ । अम्लिसो सुख्खा क्षेत्रमा समेत हुने भएकाले यसले पशुपालनमा पनि निकै ठूलो योगदान गर्न सक्छ । बाहिर रुपमा बडार्ने कुचो बनाउनका लागि भने हामीले बाँसको सिन्कालाई कच्चा पदार्थका रुपमा प्रयाग गर्न सक्छौँ । त्यस बाहेक पनि हामीले नरिवल खेती गर्न सकियो भने पनि त्यसको सिन्काको कुच्चो बन्न सक्छ । नरिवल खेती गर्दा दोहोरो फाइदा लिन सकिन्छ । यसका लागि तराइका क्षेत्रमा हामीले नरिवल खेती गर्न सक्छौँ ।

प्रकाशित समय : १४:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु