गृहपृष्ठ दुर्गा प्रसाईं आतंक : प्रचण्डले ओलीलाई देलान् साथ ?
दुर्गा प्रसाईं आतंक : प्रचण्डले ओलीलाई देलान् साथ ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक मञ्चमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति आलोचना गरिहाल्ने र काँग्रेसप्रति नरम देखिन्छन् । तर शनिबार ठिक उल्टो दृश्य देखियो । काठमाडौंमा आयोजित एक कार्यक्रममा ओली प्रचण्डप्रति उदार तर काँग्रेसप्रति अलिक बढी आक्रामक देखिए । उनले राष्ट्रपति रामचन्द्र पौडेललाई काँग्रेससँग जोडेर आलोचना गर्नसमेत भ्याए । तथापी २०६४ सालमा माओवादीले आफूलाई मार्ने षड्यन्त्र बनाएको आरोप भने लगाए । तैपनि प्रचण्डप्रति भने नरम नै देखिए ।
यही मंसिर ७ मा एमाले र दुर्गा प्रसाईंको समूहबीच महासंग्रामकै अवस्था बन्ने पक्का बनेको छ । यो अवस्थामा ओली प्रचण्डसँग केही लचक हुन थालेको विश्लेषण हुन थालेका छन् । त्यसमाथि बैगुनी नातीले हजुरबुबाकै पोल खोल्न थालेपछि दबाबमा परेका ओलीले प्रसाईंलाई पक्राउ गर्न प्रधानमन्त्रीलाई दबाब नै दिएका बिषयसमेत सार्वजनिक भएका छन् ।
जाजरकोट र रुकुम पश्चिम भूकम्पको त्रासमा त्रहिमाम हुँदा बसेको सर्वदलीय बैठकले प्रचण्ड र ओली थप नजिक बनाएको छ । प्रधानमन्त्री प्रचण्ड गणतन्त्रविरोधी गतिविधिले पीरमा रहँदा ओलीले पनि लोकतान्त्रिक गणतन्त्रमाथि औँलो ठड्याउने काम एमालेले कहीँ कतै पनि हुन नदिने भन्दै ढाडस दिएका छन् ।
प्रचण्डसँगको सहयात्रा टुटेसँगै स्थिर सरकार बनाउने मुडमा रहेको एमालेको सत्ता सहयात्राको प्रस्तावलाई काँग्रेसले अस्वीकार गरेपछि ओली प्रचण्डसँग नजिकिन थालेको विश्लेषण छ । पछिल्लो समय टिकटक बन्द गर्ने सरकारको निर्णयमा पनि एमालेकै नेता कार्यकर्ताहरुले विरोध जनाइरहँदा ओलीको सर्मथन छ । प्रसाईं लगायतको समूहले सामाजिक सञ्जालबाट आफ्नै बद्नाम गर्न थालेको बुझेका ओली सो निर्णयको पक्षमा रहेको बुझ्न समस्या छैन । सत्तारुढ काँग्रेसका महामन्त्री तहबाटै सरकारको सो निर्णयको विरोध भइरहेको छ । संस्थापन इतरपक्षले त लगातारको सरकार फेर्न दबाब दिइरहेको छ ।
प्रचण्डसँग अहिले समाजवादी मोर्चामै आवद्ध दलहरुको असमझदारी बढ्दो छ । यहीबीचमा ओली वा देउवालाई सत्ताकै नेतृत्व दिएर भएपनि जनजीविकाका मुद्दामा काम गर्न सर्वदलीय सरकार बनाउनुपर्ने पक्षमा माओवादीकै नेताहरु खुल्न थालेका छन् ।
विगतमा एक अर्कालाई ‘महाराजदेखि पागल’सम्म घोषणा गर्न पछि नहट्ने ओली–प्रचण्ड प्रतिकुल अवस्थाका बाबजुद पनि भारतले लगाएको नाकाबन्दीका बेला एकजुट भएका थिए । संविधान जारी हुनुअघि मधेसकेन्द्रित दलहरूको आन्दोलनलाई कारण देखाउँदै भारतले चासो दिन थालेको थियो । जुन ओली–प्रचण्ड दुवैले रुचाएका थिएनन् । संसद विघटनका बेला एकअर्कासँग पानी बाराबारको अवस्थामै पुगेका उनीहरु गत पुषमा सत्ता स्वार्थकै लागि मिलेका थिए । संविधान संसोधनका लागि काँग्रेस, एमाले र माओवादी मिल्न सक्ने विश्लेषणका बीच व्यवस्थामाथि खतरा मडारिएको चर्चा पनि गर्न थालेका छन् । साथै यही मौका पारी प्रचण्ड–ओली मिल्नसक्ने सम्भावनालाई नजिकबाट हेर्न थालिएको छ ।
समय–समयमा प्रचण्डलाई तह लगाउन हौसिने ओली पछिल्लो समय माओवादीप्रति गरम देखिएपनि प्रचण्डप्रति भने नरम नै देखिएका छन् । काँग्रेस फकाउँदा फकाउँदा थाकेका ओली काँग्रेसकै शैलीमा प्रचण्ड फकाउन लागेका हुन् कि भन्ने आशंकासमेत छ । कोशीमा शेखर बोकेर पार नलाग्ने बुझेपछि अहिले एकातर्फ जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री दिने कार्ड फालेर सत्ता गठबन्धनका विरुद्ध लागिपरेका छन् भने अर्कोतर्फ प्रचण्डसँगको निकटता केका लागि हो ? प्रश्न उब्जिएको छ ।
प्रकाशित समय : ०९:०० बजे