गृहपृष्ठ बायर्नको जीतमा केनको कीर्तिमान
बायर्नको जीतमा केनको कीर्तिमान

इंग्ल्याण्डका कप्तान ह्यारी केनले बुन्डेस लिगामा आफ्नो गोलको शृङ्खला जारी राख्दा बायर्न म्युनिखले एफसी हाइडेनहेमलाई हराउँदै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।
पहिलो हाफमा दुई गोल गर्दै केनले सिजनमा आफ्नो गोलको संख्या १७ पुर्याएका छन् । यसअघिका लगातार दुई खेलमा उनले ह्याट्रिक गरेका थिए । योसँगै ११ खेलपछि केन लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् ।
यसअघि सन् २०१९ मा रोबर्ट लेवान्डोस्कीले लिगको ११ खेलमा १६ गोल गरेका थिए । केनले गत सिजनका सर्वाधिक गोलकर्ता क्रिस्टोफर एनकुन्कु र निकलास फुलक्रुगको १६ गोलको आँकडा अहिले नै उछिनिसकेका छन् ।
दोस्रो हाफमा तीन मिनेटको अन्तरमा हाइडेनहेमका टिम क्लेइनडेन्स्ट र जान निकालस बेस्टेले दुई गोल फर्काउँदै खेल बराबरी गरेका थिए । तर, त्यसपछि बायर्नलाई जीत दिलाउन राफायल गुरेरो र एरिक म्याक्सिम चुपो मोटिङले थप एक–एक गोल गरे ।
११ खेलपछि बायर्नको २९ अंक रहेको छ । तर, दोस्रो स्थानमा रहेको बायर लेभरक्युजनले आइतबार हुने खेलमा युनियन बर्लिनलाई हराए टोली पुनः शीर्ष स्थानमा उक्लिनेछ ।
प्रकाशित समय : १०:२० बजे