काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सोल्टीमा डलरपतिको कुम्भमेला, एनआरएनएमाथि नागरिकतादेखि लगानीसम्मै प्रश्न

6.36K
shares

नेपालका लागि नेपाली भन्दै कोटका दुई खल्तीमा यसअघि नै दुई नागरिकता बोकेर हिडिरहेका कुल आचार्य एण्ड कम्पनीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार फेरि अर्काे नागरिकता थपिदिए । अर्थात् गैरआवासीय नेपालीका नाममा एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले पहिलो गैरआवासीय नागरिकता पनि बुझेका छन् । यसअघि ढाट र छलछाम गर्दै दुई नागरिकता बोकिरहेका उनीहरुलाई अब देखाई–देखाई विदेश छँदा विदेशकै नागरिकता, नेपाल आउँदा नेपालकै नागरिकता बोक्न पाउने छुट सरकारले दिएको छ । ‘यो देशमा जन्मिनु नै बेकार छ’ भन्दै नागरिक्तै त्यागेर विदेश भाँसिएकाहरुलाई क्या गजब भो, सम्भवतः एउटै व्यक्तिले दुई देशको नागरिकता बोक्न पाउने विश्वकै दुर्लभ अवसर उनीहरुले पाए । प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर गैरआवासीय नेपाली संघको कार्यकारी अध्यक्षको हैसियतमा बद्री केसी र अध्यक्षको हैसियतमा कुल आचार्यलाई नागरिकता थमाएका हुन् । यसअघि नै दुई नागरिकता र राहदानी बोकेर हिडिरहेका आचार्यविरुद्ध अहिले अर्का गैरआवासीय नेपाली प्रेम गाहा मगरले महानगरिय प्रहरी परीसर टेकुमा उजुरी हालेका छन् ।

‘उहाँले नक्कली भुटानी बनेर पासपोर्ट लिनु भएको छ ।’, गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहा मगरले भने, ‘बेलायत पुगेर उताकै नागरिकता लिनु भएको छ । नेपालको राहदानी र नागरिकतासमेत प्रयोग गरिरहनु भएको छ । अहिले फेरि गैरआवासीय नागरिकता पनि लिनु भएको छ । यो गैरकानुनी छ ।

मगरले यसअघि पनि गृह र परराष्ट्र मन्त्रालयमा आचार्यविरुद्ध यही कसुरमा उजुरी हालेका थिए । तर कारबाहीको साटो उनैलाई मञ्चमा राखेर प्रधानमन्त्रीले बक्सिसमा नागरिकता बाँडेका छन् । यी दुवैले नेपाली नागरिकताको भाउ कुहिएको आलु समान बनाएका छन् । तर यसमा दोष गैरआवासीय नेपालीको मात्रै छैन । उनीहरु माग्नलाई बालुवाटार छिरेकामात्रै थिए, प्रचण्ड नेतृत्वको सरकारले संविधान, ऐन र कानुन नै संसोधन गरि नागरिकता थमाईदियो । किनकि सरकारलाई अझै आश छ, उनीहरुले नेपालमा लगानी भित्र्याउँछन् र देशको चौपटै विकास हुन्छ ।सरकारले उनीहरुको स्थापनादेखि नै सोच्दै आएको छ, नेपाली मुलका विदेशीहरु अर्बपति छन्, लगानीको त मुलै फुटाउँछन् । र यीनका पैसाले हामी समृद्ध हुन्छौं । तर अपसोच, न यीनीहरुले देशमा लगानी भित्र्याउन सके, न देश नै कायापलट हुनसक्यो । बरु विदेशमा बसेर यीनीहरु नै भन्छन्, ‘थैट, यस्तो विजोगवाला देशमा को बस्छ ।’

गैरआवासीय नेपालीकै लगानीमा देश कायापलट हुन्थ्यो भने भइसक्थ्यो । तर २००३ मा स्थापना भएको यो विश्वस्तरिय संस्थाले २० बर्ष पुरा गरिसक्दा समेत नेपालका लागि ‘पशुपतिको जात्रा सीद्राको व्यापार’ भइरहेको छ । तर यही नारा भजाएर उनीहरुले भने टन्नै कमाए । स्थापनाकालिन अध्यक्ष उपेन्द्र महतोलाई अहिले आफ्नै पैसा गन्ने फुर्सद छैन । अहिले तपाईँसँग कति पैसा छ भनेर सोध्यो भन्यो, ‘त्यस्ता पैसा के गन्नु कति छ कति’ भन्छन् । उनीको पुँजीमध्ये नेपालमा त शून्य दशमलव ५ प्रतिशतमात्रै लगानी होला । देखाउन लायक त्यही एउटा काठमाडौंको मेडिसीटी अस्पताल छ । अन्यत्र ४५० मा जाँच्ने डाक्टरले यहाँ ८५० लिन्छन् । उनले नागरिकलाई दिएको फाइदा यही एउटा चर्काे शुल्क असुली हो ।बाँकी पैसा सबै विदेशमा छ ।अर्काे अध्यक्ष शेष घले अष्ट्रेलियाका टपटेन धनाड्यको सूचीमा छन् । उनले नेपालमा लगानी गरेको भए नेपालकै पहिलो धनाड्य बन्थ्ये । नेपालीहरुले रोजगारी पाउथेँ । तर अहँः नेपालमा डुबिन्छ भनेर लगानी गर्दैनन् । त्यही पनि लाजै गालै थोरै हिस्सा फालिदिएका छन् । त्यसपछिका सबैभन्दा विवादित पात्र भवन भट्ट पनि यो संस्थाको अध्यक्ष बने । उनले अर्बाैं कमाए । नेपालमा उनी ओशो तपोवनतिर कहिलेकाहीँ हल्लिँदै गरेको भेटिन्छन् । बरु अझै नेपाली पैसा सोहर्दै विदेश पठाउने उद्देश्य राखेर आफ्नै नामको बीबी एयरवेज नै चलाउँदै छन् । तर यीनीबाट पनि देशले कुनै फाइदा लिन सकेन । अर्थात् उनीहरु आफु त बने देशलाई बनाएनन् । तर गैरआवासीय नेपालीभित्र पनि सोझासिधा विदेशीहरु छन् । अर्थात् ८/१० जना अर्बसम्म बटुल्न सक्ने हैसियतमा छन् । ५/७ जना यताको कालो धनलाई श्वेत स्नान गर्दिन्छु भनेर नेताहरुसँग चोचोमोचो मिलाउन तल्लिन छन् । अरु उहीँ ‘पशुपतिको जात्रा सीद्राको व्यापार’ वाला छन् ।

केही गैरआवासीय नेपालीले हाइड्रोपावरमा लगानी गरेका छन् ।तर उनीहरुका हाइड्रोपावरले नेपालै उज्यालो बनाउने त परकै कुरा, चल्ने कि नचल्ने संकटमै छन् । केही अस्पताल र बैंकहरुमा लगानी छन् । जहाँ संख्या थपिने भन्दा अर्काे फाइदा देशलाई छैन । बरु गैरआवासीय नेपालबाट धेरै अपेक्षा गर्दा देश नै दुखी बनेको छ । अर्थात् कुनै पनि चिजबाट धेरै अपेक्षा गरियो भने पछि आफै दुखी भइन्छ । त्यसैले एनआरएनएबाट अपेक्षा गर्न आवश्यक छैन । अहिले उनीहरुको काठमाडौंमा ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन चल्दैछ । अध्यक्षकै उम्मेदवार चारजना छन् । यसअघि तीन जना हुँदा सहमति नभएर भाँडभैलो भएपछि तीनै जना अध्यक्ष बनेर ६/६ महिना काम चलाएका थिए । आफै–आफै भिडेर सक्किने अवस्थामा रहेका उनीहरु फेरि भिडेर सक्किँदैछन् भन्ने पुष्टि अध्यक्षमा चारजनाबीच हुँदै गरेको हानाथापले गरिरहेको छ । यीनीहरुका अनुहारमा डलरको खोलो त देखिन्छ, तर देशका लागि कुनै खास खुराक देखिँदैन ।फलतः नेपालका लागि नेपाली मुलुकका विदेशीहरुको यो सम्मेलन महाकुम्भ मेला भन्दा अर्काे बनेको छैन । झन महाधिवेशनस्थलको तडकभडकले संस्थापकहरु नै चिन्तित छन् ।

अब महाधिवेशनस्थल, काठमाडौंको सुविधा सम्पन्न होटल सोल्टीकाे कुरा गरौं । यहाँ नेपाली मुलका विदेशीहरुको जमघट चलिरहेको छ । मानौं उनीहरु माटो सम्झिने नेपाल आएका हुन् । त्यो भन्दा अर्काे कुनै उद्देश्य छैन । तर यहाँ आएका सबैलाई जितेर फर्किनु छ।

चिटिक्क परेका नेपाली सुन्दरीहरुलाई गैरआवासीय नेपालीहरुले चुनावमा खटाएका छन् । यी युवतीहरु प्रनिनिधि हैनन् । तर आ–आफ्ना उमेदवार जिताउन जोडतोडका साथ प्रचार प्रसारमा लागिरहेका छन् ।

हातमा भिजिटिङ कार्ड र उम्मेदवारको पर्चा बोकेर उनीहरु भोटरहरुलाई भेट्छन् र भोट माग्छन् । यो काम गरेबाफत सम्भवतः उनीहरुलाई पनि डलरमै पेमेन्ट गर्ने व्यवस्था उम्मेदवारहरुले गरेका छन् । केही युवतीसँग हामीले यसविषयमा बुझ्दा उनीहले यो कुरा स्वीकार पनि गरेका छन् । अर्थात्, युवतीको सौन्दर्यता प्रयोग गरि भोटरलाई आफुतिर आर्कषित गर्न गैरआवासीय नेपालीहरु खप्पिस सावित भएका छन् । यसमध्ये केही उम्मेदवारका आफन्तीहरु छन्, जसले आफ्ना उम्मेदवारलाई जिताउन अह्म भूमिका खेलिरहेका छन् । तर यो महाधिवेशन स्थलमा झण्डै १५ सय भोटरमात्रै सहभागि भएका छन् । झण्डै २५ सय बढी भोटरहरु विदेशमै छन् । उनीहरुले अनलाइनमार्फत भोटिङ गर्नेछन् ।

०००