ढाकाकुमार बन्दैछन् रविको दशा !, किन बल्झियो कोरटीम विवाद ?
वि.सं.२०८० भदौ २८ बिहीवार ०९:००
shares
मन्त्री बन्नकै लागि ३ करोड बुझाएर देश बनाउँछु भन्ने एक जना मान्छे अहिले फेरि एकाएक चर्चामा छन् । नाम हो, ढाकाकुमार श्रेष्ठ । उनी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका भुतपूर्व सांसद हुन् । अर्थात ‘मन्त्री बन्नुपर्यो, मलाई दुई करोड चाहियो’ भन्दै व्यवसायी दुर्गा प्रसाईँसँग डिल गरेको सार्वजनिक भएपछि पार्टीले पद खोसिदिएका सांसद हुन् । अहिले उनीसँग सांसद पद छैन । पार्टीको साधारण सदस्यको पद पनि छैन । मात्र पश्चातापमा छटपटाई रहेका उनले अहिले फेरि रविको कोरटीम भन्दै केन्द्रीय सदस्य मोहनजंग थापाले आफुसँग तीन करोड माग गरेको दाबी गरेपछि एकाएक चर्चा हुन थालेको छ । तीन करोड बुझाएर मन्त्रीको बनेको मान्छेले कसरी देश बनाउँछ ? तैपनि उनी भन्छन्, ‘म त मन्त्री बनेपछि गरिब दुःखी जनताको सेवा गर्छु भन्ने सोचेको थिए । स्वास्थ्य सेवामा आमुल परिवर्तन गर्छु भन्ने सोचेको थिए ।’ तर ढाकालाई हाम्रो प्रश्न, ३ करोड बुझाएर मन्त्री भएपछि आफ्नै गोजीको सेवा त गर्ने होलानी हैन् ?
ढाकाले आफु स्वास्थ्यमन्त्री बन्ने ‘फिक्स’ भएको र त्यसका लागि कोरटीमलाई बुझाउनुपर्ने भन्दै प्रसाईँसँग रकम माग गरेको अडियो सार्वजनिक भइसकेपछि पार्टीले २०७९ चैत २९ मा पद खोस्ने निर्णय गरेको थियो । पार्टी सभापति रवि लामिछानेले ७२ घण्टाभित्र कारबाही गर्छु भन्दै सार्वजनिक मञ्चबाटै घोषणा गरेका थिए । उनको स्थानमा अहिले विन्दावासिनी कंसाकार सांसद बनेकी छन् । तर आफ्नै सांसद पद जाँदासमेत ढाका बोल्न सकेनन् । त्यसयता निरन्तर चुप रहेका उनी अहिले फेरि आफुमाथि अन्याय भएको भन्दै बोल्न थालेका छन् । मोहनजंग थापासहितको समूहले मन्त्री बनाउँछौं भन्दै ३ करोड माग गरेको प्रमाण आफुसँग सुरक्षित रहेको र अब बोल्नैपर्ने बाध्यतामा परेको बताउँछन् ।
ढाकाकुमारको दावीले उदाउँदै गरेको पार्टीकै छबिमा कालो धब्बा लगाउने काम गरेको छ । मन्त्री बन्नकै लागि तीन करोड बुझाउनुपर्ने पार्टी कस्तो हो ? भन्ने प्रश्न सार्वजनिक तहमै उठेको छ । ‘जान्नेलाई छान्ने’ भनेकै पार्टी यो खाले विवादमा मुछिएपछि समर्थकलाई पनि चित्त बुझेको छैन । तर ढाकालाई बोल्ने बाटो पार्टीले नै दिएको हो । किनकि ढाकाकाण्ड सार्वजनिक भएपछि यसको छानबिन गर्न र प्रतिवेदन बुझाउन पार्टीको अनुशासन आयोगलाई जिम्मा लगाइएको थियो । तर त्यसको छानबिन ढाकाले गल्ती गरेकै हुन भनेर टुंगियो, प्रतिवेदन सार्वजनिक भएन । जसले रास्वपाभित्र पनि पारदर्शीता छैन भन्ने देखियो । अहिले फेरि ढाका बोल्न थालेपछि नेताहरु पुनः यसबारे छानबिन गरि निष्कर्ष सार्वजनिक गर्ने बताइरहेका छन्।
यद्यपी बुधबार विज्ञप्ति निकालेर आफ्नै बचाउ गरेको रास्वपाले ढाकाले प्रमाण ल्याएर आए ७२ घण्टाभित्र रकम माग्ने व्यक्तिलाई कारबाही गर्ने दाबी गरेको छ । जहाँ भनिएको छ, ‘पार्टीलाई स्पष्टीकरण दिनेक्रममा उहाँले मलाई जोगाईदिन पर्यो, नत्र पार्टीको जो कोहीको नाम पनि पोलिदिन्छ । पार्टीलाई सक्काईदिन्छु भनेर धम्की दिनुभएको थियो ।’
अब प्रश्न आउँछ ढाकाले सकाएर सकिने पार्टी कस्तो हो ? के ढाकाको यही धम्कीका कारण रास्वपाले प्रतिवेदन जनताका बीचमा ल्याउन सकिरहेको छैन । जहाँका एकएक बुँदामा के लेखिएको छ, त्यसको पारदर्शीता हुनुपर्दैन ? नत्र ढाकाकै जस्तो गुमराहमा पार्ने काम रास्वपाले किन गर्दैछ ? तथापी मोहन जंग थापा पनि स्वच्छ छबि भएका व्यक्ति होइनन् । अमेरिकामा बसी नेपालमा रास्वपाको केन्द्रीय सदस्य बनेका उनी रविसँग अमेरिकामै निकट भएका थिए । त्यही दोस्तीले अहिले राजनीतिक सहयात्री बनाएको हो । थापा अमेरिकामै फर्जी परिचयपत्र र कागजात बनाएर ठगी गरेको आरोपमा मुद्दा परेपछि त्यसलाई स्वीकारेका व्यक्ति हुन् ।
यस्तै अपारदर्शीता रास्वपाले सभापति लामिछानेको चालक मृत्यु प्रकरणमा समेत गरेको छ । चुनाव प्रचार प्रसारका बेला चितवनमा रहँदा घरको छतबाट खसेर घाइते भएका गाडी चालक दिलबहादुर थापा (शम्भु)को उपचारका क्रममा बैशाख १९ गते मृत्यु भएको थियो । सिन्धुपाल्चोक बाह्रबिसेका ३९ वर्षीय थापा वैशाख ४ गते बिहान ४ बजे रवि बसेकै घरको छतबाट भुइँमा खसेको अवस्थामा भेटिएका थिए । रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका थापा कसरी भुइँमा खसे भन्नेमै शंका थियो । उनी छतबाट खसे, गम्भीर घाइते भए र उपचारक्रममा मृत्यु भयो भन्ने बाहेक अन्य कुरा खुलेकै छैन । किनकि अहिलेसम्म पनि उपनिर्वाचन चलिरहेका बेला छतबाट खसेका उनलाई वातावरण शान्त भइसकेपछि मृत्यु घोषणा गरिएको अधिकांशले शंका गरेका थिए । अझ परिवारले त थाहा पाउनु प¥यो नि त्यो दिन के भएको थियो भन्ने घिटघिटो बाँकी छैन । एउटा पूर्वगृहमन्त्रीको चालकको शंकास्पद मृत्युबारे ठोस कुरा बाहिर नआएपछि त्यसमाथि प्रश्न उठाउँदै संसदको सबैभन्दा ठूलो दलका नेताहरु नै रास्वपामाथि प्रश्न उठाइरहेका छन् ।
गृहमन्त्री गुमेलगत्तै रविमाथि राष्ट्रिय परिचयपत्रको व्यक्तिगत विवरण निजी कम्पनीले रुजु गर्न पाउने गरी कार्यविधि बनाएको विषय सार्वजनिक भयो । त्यसलाई मन्त्रिपरिषद्ले खारेज पनि गरिदियो । तर कुन स्वार्थमा रविबाट यो निर्णय भएको थियो त्यसको जवाफ पनि आजसम्म उनले दिएका छैनन् । यसको मतलब रास्वपा यस्ता धेरै विषयमा चुक्दैमात्रै आएको छैन, नाङ्गिने अवस्थासमेत बनेको छ । जुन जोगी आए पनि कानै चिरिएको भन्ने युक्ति रास्वपाको हकमा पनि लागु हुँदैछ । झन संसददेखि सडक र सत्तापक्ष हुँदै प्रतिपक्षसम्म रास्वपाले खेलेको अपरिपक्क भूमिकाले थप कमजोर पार्ने काम गरेको छ ।

























