गृहपृष्ठ हृदयघातले पत्तै नपाई कसरी लिन्छ ज्यान ?

हृदयघातले पत्तै नपाई कसरी लिन्छ ज्यान ?

हृदयघातले पत्तै नपाई कसरी लिन्छ ज्यान ?

संसारभर हृदयघातबाट वर्षेनी ९० लाख मानिसको ज्यान जाने गरेको तथ्यांक छ । अव्यवस्थित जीवनशैलीकै कारण ७५ प्रतिशतलाई मुटुरोग लाग्छ । ९० प्रतिशत हृदयघात सम्बन्धि मुटुरोग लाग्ने तथ्यांकले देखाउँछ । यो भयावह हो ।

आइतबारसम्म सामान्य जीवनशैली बिताइरहेका संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको भौतिक शरीरले मंगलबार बिहानदेखि सदाका लागि विश्राम लियो । एकाएक धुँवासरी फैलिएको नेम्वाङको निधनको खबर हरकोहीलाई अपत्यारिलो लागेपनि पत्याउनै पर्ने थियो । अस्पतालले उनको मृत्यु हृदयघातबाट भएको पुष्टि ग¥यो । पछिल्लो समय हृदयघातका कारण मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । हृदयघात सुन्दा जति सामान्य लाग्छ, यसबाट मृत्यु हुनेको तथ्यांक हेर्दा डरलाग्दो छ । संसारभर हृदयघातबाट वर्षेनी ९० लाख मानिसको ज्यान जाने गरेको छ । ६ वर्षअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आफ्ना पुत्र प्रकाश दाहाललाई हृदयघातकै कारण गुमाउनु परेको थियो । त्यस्तै माओवादी नेता पोष्टबहादुर बोगटीलाई पनि यही रोगले खाएको थियो । आम रुपमा सर्वसाधारण हृदयघातकै कारण मरिरहेका छन् ।

मुटुको रक्तनलीमा अचानक अवरोध आएर मुटुको मांशपेशीमा हुने रक्तसञ्चारको कमीले हृदयघात हुने गर्छ । जब मुटुको धमनीमा विभिन्न बोसोजन्य पदार्थ जम्मा भई धमनीहरु साँघुरो हुन्छन्, तब मुटु स्वंयमले अक्सिजन, ग्लुकोजलगायत अन्य खनिजपदार्थ प्राप्त गर्न सक्दैन र मुटु कमजोर भई हृदयघात हुने चिकित्सकहरु बताउँछन् ।

हृदयघात भएको बेलामा छातीको बीच भागमा दुख्ने, भारी हुने, श्वास फेर्न गाह्रो हुने, मुटुको धड्कन बढी भएको अनुभव हुने, धेरै पसिना आउने, रिँगटा लाग्ने हुने गर्छ । कसै कसैलाई पेटको माथिल्लो भाग दुख्ने, बेहोस हुने र शरीरको कुनै भाग चलाउन गाह्रो हुने जस्ता लक्षणहरु पनि देखिने मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल बताउँछन्।

हृदयघात नसर्ने रोग हो । तर, नेपालमा ७१ प्रतिशत मृत्यु यस्तै नसर्ने रोगबाट हुने गरेको छ । धनी, गरिब, बालक, युवा, वृद्ध अथवा कुनै वर्ग वा उमेर समूह नचिन्ने यसबाट कोही जोखिममुक्त छैनन् । तर, लैंगिकतामा भने यसले केही फरक पार्छ । महिलाको तुलनामा पुरुष हृदय रोगको उच्च जोखिममा हुने गर्छन् । तर, महिलालाई हुँदै नहुने भने होइन । उच्च रक्तचाप, मधुमेह, चुरोट सेवन, मोटोपन, शारीरिक व्यायमको कमी, उच्च कोलस्ट्रोल, अत्याधिक तनाव तथा नकारात्मक सोच, बढ्दो उमेर, पारिवारिक कारणजस्ता समस्या लिने बढी यसको जोखिममा हुने डा. भगवान् कोइरालाको भनाइ छ ।

अव्यवस्थित जीवनशैलीकै कारण ७५ प्रतिशत मुटुरोग र ९० प्रतिशत हृदयघात सम्वन्धि मुटुरोग लाग्ने कुरा विभिन्न अनुसन्धानबाट प्रमाणित भइसकेको छ । मानव र प्रकृतिबीचको बढ्दो दुरी, वातावरणीय प्रदूषण, मानसिक तनाव, अल्छीपनाजस्ता जीवनशैलीको उचित व्यवस्थापन गर्न नसक्नुले पनि हृदयघातका बिरामी बढाउँदै लगेको छ । त्यसैले जीवनशैली परिवर्तन गरेर हृदय रोग र हृदयघातको जोखिमलाई कम गर्न सकिन्छ ।

मुटुरोगबाट बच्न खानामा पनि विशेष ध्यान दिन जरुरी छ । रेसा र चोकर युक्त खानेकुराको समायोजन गर्दै सलाद, हरिया सागसब्जिजस्ता खानालाई प्राथमिकतामा राख्नु पर्छ । भिटामिन ए, सी र ई पाईने खानेकुरा र एण्टिअक्सिडेण्ट युक्त भोजन मुटु रोगीका लागि अपरिहार्य हुने गर्छन् । यसबाहेक नियमित व्यायाम, सकारात्मक सोच र नियमित चिकित्सकसँग परामर्श गर्न पनि आवश्यक छ ।

प्रकाशित समय : १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु