काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सरकारले घोषणा गरेको रकम नै पाउँदैनन् खेलाडी

6.26K
shares

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ बर्षपछि पहिलोपटक भारतजस्तो पावर हाउससँग प्रतिस्पर्धा गर्ने अवसर पायो । नेपालका लागि यो नै पहिलो जित थियो । किनकि नेपाल अझै जित्नेभन्दा बढी सिक्ने अवस्थामा छ । यही नै अहिलेका लागि नेपालको उपलब्धी हो । कुनैबेला नेपालले पनि क्रिकेट खेल्छ र ? भन्ने विराट कोहलीजस्ता विश्व चर्चित खेलाडीसँग नेपालले शानदार खेलेको मान्नुपर्छ । आशिफ शेखको ब्याटमा ठोक्किएको बल कोहलीले ‘क्याच मिस’ गरेपछि त भारतीय खेलाडीले नजरअन्दाज गरे जस्तो नेपाल रहेनछ भन्ने प्रमाणित भयो । किनकि भारतीय टोलीविरुद्ध नेपालले शुरुवाती ब्याटिङ नै विस्फोटक गरेको थियो ।

भारतविरुद्धको खेलमा आशिफ शेख चम्किएको क्षण इतिहासले स्मरण गर्न लायक थियो । आशिफले २९ दशलमलब ५ ओभरमा अर्धशतक पार गरे । ५८ रनको योगदान दिएका उनले भारतविरुद्धको खेलमा वान डे करिअरको १०औं अर्धशतकसमेत पुरा गरे । ९७ बलको सामना गरेका आशिफले ८ चौका प्रहार गरे । एसिया कप क्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गर्ने उनी पहिलो खेलाडी बनेका छन् । अर्का खेलाडी कुशल भर्तेलको भारतविरुद्ध पहिलो छक्का प्रहार गर्दाको क्षण नै गर्विलो थियो । त्यो क्षणमा नेपाली खेलाडीको क्षमतालाई नपत्याएका भारतीय खेलाडीले बलको उचाइ र गतिसँगै आँखा डुलाएका थिए । रोहित शर्मा र विराट कोहलीको अनुहार केही हेर्न लायक देखिन्थ्यो ।

भारतविरुद्ध २५ बलमा ३ चौका र २ छक्का हान्दै ३८ रनको योगदान दिएका भुर्तेललाई पछि ड्रेसिङ रुपमा कोहलीसहितका भारतीय खेलाडीले मेडल लगाईदिएका थिए । किनकि यही खेलमार्फत भुर्तेलले एकदिवसीय क्रिकेटमा एक हजार रन पुरा गरेका छन् । सन्दीप लामिछानेजस्ता अन्तर्राष्ट्रिय अनुहार र सोमपाल कामी जस्ता अनुभवी खेलाडीको प्रदर्शनले नेपालको उचाइ झनै बढायो । यो खेलमा सोमपालको योगदान निकै तारिफयोग्य थियो । कुनै पनि नेपाली खेलाडीको योगदान मैदानमा कम देखिएन ।

नेपालका लागि त यो सम्मानजनक उपलब्धी थियो । तर नेपाल जस्तो एसोसियट राष्ट्रसँग यत्तिमात्रै रन बनाएर जित्नु भारतका लागि सम्मानजनक जित थिएन । क्रिकेटको पावर हाउसका रुपमा भारतले उमेर समूहका खेलमा नेपालले खेल्दै आए पनि राष्ट्रिय टोलीसँग खेल्ने अवसर प्राप्त भएको थिएन । भारतलाई नेपालले हराएको क्षण एउटैमात्र छ, २०१७ मा नेपाली यू–१९ टिमले भारतको यू–१९ टिमलाई हराएर रेकर्ड बनाएको थियो । त्यो भन्दा अर्को कुनै पनि स्तरमा भारतलाई हराएको नजिर छैन । त्यतिबेला नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरेका थिए भने हालका मुख्य प्रशिक्षक मोन्टी देसाई नेपाली टिमको कन्सल्ट्यान्ट प्रशिक्षक बनेर केही महिनाका लागिमात्रै नेपाल आएका थिए । उनकै रणनीतिमा नेपालले यू–१९ एसिया कपमा भारतलाई हराउन सफल भएको थियो । अहिले पनि नेपाली राष्ट्रिय टिमको मुख्य कार्यभार मोन्टीकै काँधमा छ । भारतजस्तो शक्तिशाली टिमसँग खेल्दा मोन्टीका केही ‘म्याजिक’ले पक्कै काम गरेका छन् ।

यो ऐतिहासिक क्षणसम्म पुर्‍याउने नेपाली क्रिकेट खेलाडीलाई सम्मान छ । किनकि जति सम्भव भएको छ खेलाडीकै बलमा मात्र सम्भव भएको छ । नत्र सरकार त आफैले घोषणा गरेको रकम पनि दिन सक्दैन ।

खेलले उत्साह दिएपनि खेलप्रति सरकारले चालिरहेका कदमले सधैं निराशा बनाउने गरेको छ । यसअघि १२ खेलमध्ये ११ जितेर विश्वकप छनोटसम्म पुग्न सफल क्रिकेट टोलीलाई सरकारले जनही ३ लाख दिने घोषणा गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमै बोलाएर फुलमाला लगाईदिएका थिए । तर फुलमाला सुक्नु र सरकार सुस्ताउनु एकै बन्यो । घोषणा भएको पाँच महिनासम्म पनि खेलाडीले रकम पाउन सकेनन् । हालसम्म घोषणा भएको रकम खेलाडीले नपाएपछि भारतसँग खेल चलिरहेका बेला संसदभित्र सांसदले कुरा उठाएका थिए । राप्रपा सांसद ज्ञानेन्द्र शाही र एमालेका सांसद रघुजी पन्तले घोषित रकम तुरुन्त उपलब्ध गराउन सरकारको धानाकर्षण गराएका छन् । तर सरकार पैसा नभएर दिन नसकिएको बताउँछ । ‘यो पैसा अघिल्लो आर्थिक बर्षमै दिनुपर्ने थियो तर रकम अभावमा दिन सकिएन ।’, युवा तथा खेलकुद मन्त्रालयका सहसचिव कुमारप्रसाद दाहालले भने, ‘अर्थमन्त्रालयबाट आउने जुन पैसा हो त्यो पैसा कम भएको कारणले हामीले पूर्ण निकासाका लागि माग गरेका थियौं । तर समयमा आएन । खेलाडीलाई पुरस्कार स्वरुप घोषणा भएको रकम समयमै दिन सक्नुपथ्र्याे । अपुग भएपछि निकासाका लागि फेरि पठाएका छौं आएपछि दिने हो ।’

बैशाखमा एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाउँदा मन्त्रिपरिषद्ले जनही ६ लाख दिने घोषणा गरेकाे थियो । त्यो रकम पनि खेलाडी पाएका छैनन् । राष्ट्रिय टोलीमात्रै होइन, उमेर समूहका खेलाडीलाई पनि सरकारले पुरस्कार घोषणा गरेको थियो । उनीहरुले समेत पाएका छैनन् ।

नेपाल र भारतबीचको खेल सुरु हुनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भिडिओ च्याटमा शुभकामना दिए । राष्ट्रपति रामचन्द्र पौडेलको दाम्पतीले टीभीमा खेल हेरेर मजा लिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले खेल हेर्दै गरेको फोटो सार्वजनिक गरेर समाजमा आफ्नो सहभागीता देखाए । खेलाडी फोटो फेसबुकमा पोस्ट्याउँदै बधाई दिने त कति हो कति ? खेलाडीहरुको खेलले सारा देशलाई खुशी दियो । तर तीनै खुशी दिने खेलाडी दुःखी भएर खेल्न विवश छन् ।

भारत र पाकिस्तान जस्ता ठूला राष्ट्रसँग खेलेको नेपालले जित हारभन्दा पर गएर यसलाई अवसरका रुपमा लिएको छ । किनकि न पूर्वाधार छ, न कुनै आकर्षक सेवासुविधा ? सरकारकाे लगानी शून्य सरह छ । नेपाली समर्थकहरु पनि रुखमा झुण्डिएर खेल हेर्छन् । खेल खेल्न गतिलो मैदान छैन । चिउरा चाउचाउको भरमा खेलाडीहरु अभ्यास गर्छन् । यस्तो संकटका बीच पनि यो खाले नतिजा देखाउनु आफैमा गर्वलायक क्षण हो ।