सोलुखुम्बुमा खसेको पहिरोले बेनी हाइड्रोपावर क्षति
वि.सं.२०८० भदौ ३ आइतवार १४:३३
shares

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–३ बोल्दोमा गएको पहिरोले बेनी हाइड्रोपावरको संरचनामा क्षति पुगेको छ । गएराति बोल्दो पुल छेउमा गएको पहिरोले ११ दशमलव ८ मेगावटको बेनी हाइड्रोपावरको ट्रान्समिसन लाइनमा क्षति पुर्याएको हो।
पहिरोले हाइड्रोपावरको ट्रान्समिसन लाइनको एक नम्बर टावर नै क्षतिग्रस्त भएको आयोजनाका (प्लान्ट म्यानेजर) देवदत्त दुवेदीले जानकारी दिएए। उनका अनुसार ठूलाठूला ढुङ्गासहितको पहिरोले आयोजनाको अन्य विद्युतीय उपकरणहरुमा समेत क्षति पुगेको छ ।

पहिरोका कारण सल्लेरी–तामाखानी सडक अन्तर्गत बोल्दोमा रहेको सोलुखोला माथिको मोटेरेबल पक्की पुलमा समेत क्षति पुगेको छ भने आवतजावत ठप्प भएको छ । सडकको माथिल्लो भागबाट पहाडसहित झरेको पहिरोले पैदल यात्रा गर्न नमिल्ने गरी सडक पूरै अवरुद्ध भएको छ । पुलमा तामाखानीतर्फको भागमा क्षति पुगेको सोलुदूधकुण्ड नगरपालिका–३ का वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाले बताए।
पहिरोले सडक अवरुद्ध भएपछि जिल्लाकै प्रसिद्ध धार्मिकस्थल तामाखानी लोदिङमा रहेको ज्वालामाई मन्दिर जाने मुख्य मार्ग बन्द भएको छ । पुजारी वीरबहादुर मगरले मन्दिर जान फाप्लु, खोलाघारी हुँदै तामाखानी जोडिएको सडक प्रयोग गर्न आग्रह गरेका छन् ।






















