‘गृहमन्त्रीले इमोसनल ब्ल्याकमेलिङ गर्न खोजे’
वि.सं.२०८० साउन २४ बुधवार ०६:४९
shares

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार प्रतिनिधिसभालाई सम्बोधन गर्दा ब्ल्याकमेल गरेको आरोप एमालेले लगाएको छ । एमाले प्रमुख सचेतक पदम गिरीले गृहमन्त्री श्रेष्ठको सम्बोधनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै खास विषयमा प्रवेश नगरी संसद्लाई ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेको बताएका हुन् ।
‘हामीले राजनीतिक परिवर्तन गर्यौं । सारा परिवर्तन गर्यौं । तर आज हामी किन गरिब छौं ? किन नेपाली विदेश पलायन हुनुपरेको छ ? किन यस्तो हालत छ देशको ? अब सोच्नुपर्ने बेला आएको छ भनेर एउटा निबन्ध पेश गर्नुभयो’, उनले भने ।
नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय समिति बन्नुपर्ने भन्दै १० साउनदेखि संसद् अवरोध गरिरहेको थियो । मंगलबार गृहमन्त्रीको जवाफ सुन्न एमाले तयार भएको थियो । तर, उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार नभएको भन्दै एमालेले फेरि संसद् अवरोध गरेको छ ।

























