गृहपृष्ठ कार्यालयमा स्तनपान कक्ष नहुँदा घट्दै, महिनासम्म पूर्ण स्तनपान गर्ने शिशुको संख्या
कार्यालयमा स्तनपान कक्ष नहुँदा घट्दै, महिनासम्म पूर्ण स्तनपान गर्ने शिशुको संख्या
नेपालमा कार्यालयमा नै स्तनपान कक्ष नभएकाले ६ महिनासम्म स्तनपान गर्न पाउने शिशुको सङ्ख्या घट्दै गएको देखिएको छ ।
धेरैजसो महिला शिशुलाई घरमा नै छाडेर कामकाजमा जाने र कार्यालयमा स्तनपान कक्ष नभएकाले शिशुले स्तनपान गर्न नपाएको बताइएको छ । सुत्केरीपछि आमा काममा फर्किनुपर्ने कारणले गर्दा स्तनपानलाई निरन्तरता दिन आमाले चुनौती व्यहोर्नु परेको छ ।
परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पतालकी प्रमुख बालरोग विशेषज्ञ डा। कल्पना उपाध्याय सुवेदीले आमाहरूले घरमा शिशुलाई स्तनपान गराए पनि कार्यालय समयमा स्तनपान गराउन नपाएकाले ६ महिनासम्म स्तनपान गर्ने शिशुको सङ्ख्या घट्दै गएको बताइन् ।
जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को प्रतिवेदनमा नेपालमा ६ महिनाभन्दा मुनिका ५६ प्रतिशत शिशुलाई पूर्ण रूपमा स्तनपान गराइएको छ । जबकी जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को प्रतिवेदनमा ६६ प्रतिशतले शिशु जन्मेको ६ महिनाभित्रमा स्तनपान गराएको थियो । यसरी १० प्रतिशतमा कमी आएको छ ।
आमाहरूले घरमा हुँदा शिशुलाई आफ्नो दूध खुवाउनुहुन्छ, तर काममा फर्किसकेपछि कार्यस्थलको वातावरण स्तनपानमैत्री नभएकाले आमाहरूले शिशुलाई अन्य दूध खुवाउन बाध्य हुनुहुन्छु, डा। कल्पना भन्छिन्, ुत्यसैले पहिलेभन्दा कम शिशुले स्तनपान गर्न नपाएका हुन् ।
कामकाजी महिलाले पनि सुत्केरीपछि काममा फर्केपछि पनि ६ महिनासम्म शिशुलाई आफ्नो दूध मात्र खुवाएर पूर्ण स्तनपान गराउनुपर्ने प्रमुख बालरोग विशेषज्ञ डा। सुवेदीको भनाइ छ । आमाहरूले घरमा हुँदा आफ्नो दूध खुवाउने, स्तनपान गराउने र काममा जाने बेलामा आफ्नो स्तनबाट दूध दुहेर सफा भाँडोमा राखेर शिशुलाई दिउँसो खुवाउनका लागि छाडनुपर्ने उनी बताउँछिन् ।
उनका अनुसार यदि आमाको घरमा फ्रिज छ भने दुहेको दूधलाई २४ घण्टासम्म सुरक्षित राख्न सकिन्छ । यहि फ्रिज छैन भने पनि कोठाकै तापक्रममा ६ देखि ८ घण्टा सुरक्षित दूध रहन सक्छ । उनले कार्यस्थल पनि स्तनपानमैत्री हुन जरुरी रहेको बताइन् । कार्यालय समयमा बीचबीचमा स्तनपान गराउन केही समयका लागि बिदा लिन सकिने उनको भनाइ छ ।
कार्यालयमा स्तनपान कक्षको व्यवस्था हुन पनि आवश्यक रहेको उनको भनाइ छ । उनका अनुसार स्तनपान कक्षमा हात धुने ठाउँ, स्तन निचोरेर दूध राख्ने व्यवस्था, फ्रिजको व्यवस्था भयो भने आमाले आफ्नो दूध निचोरेर पटकपटक ९दुई–तीन० घण्टाको फरकमा दूध खुवाउन सक्छन् ।
परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेककुमार लालले धेरै महिला आर्थिक गतिविधिमा संलग्न भएकाले काममा जानुपर्ने भएको र स्तनपान मैत्री कार्यस्थल नभएकाले शिशुलाई स्तनपान गराउन नपाएको बताए ।
उनले कार्यस्थलमा आमाले स्तनपान गराउन नपाएकाले बाध्य भएर अरु वस्तुहरू खुवाउनपरेको बताए । शिशुलाई अरु कुरा खुवाउँदा शिशु र आमाको स्वास्थ्यमा नकारात्मक असर पर्दछु, उनले भने, समग्र आर्थिक तथा सामाजिक विकासमा पनि यसको नराम्रो र प्रतिकूल असर पार्दछ ।
नेपालसहित विश्वभरि नै यही साउन १६ देखि २२ गतेसम्म ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ ‘विश्व स्तनपान सप्ताह’ मनाइँदै छ । स्तनपानबाट बच्चालाई कुपोषण, उच्च रक्तचाप, मधुमेहजस्ता रोग लाग्नबाट बचाउँछ भने आमालाई रक्तश्राव कम, डिप्रेसन, तथा डिम्बासय र स्तन क्यान्सरबाट बचाउन मद्दत गर्ने गर्दछ ।
उनले शिशु र आमाको स्वास्थ्यमा नकारात्मक असर गर्ने भएकाले कामकाजी आमालाई कार्यस्थलमा नै स्तनपान गराउने उपयुक्त वातावरण रोजगारदाताले बनाउनुपर्नेमा जोड दिए ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा सबै रोजगारदाताले नवजात शिशुका आमालाई दुई वर्षसम्म कार्यस्थलमा स्तनपान गराउने व्यवस्था उल्लेख गरिएको छ । कार्यस्थललाई स्तनपानमैत्री बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
प्रकाशित समय : १४:५० बजे





















