गृहपृष्ठ प्रतिनिधिसभा बैठक बस्दै, एमाले अवराेध गर्ने तयारीमा
प्रतिनिधिसभा बैठक बस्दै, एमाले अवराेध गर्ने तयारीमा
आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । आजको बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ ।
जसअनुसार आज नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बन गरिएकोबारे सभामुखले सदनलाई गराउने छन् । यस्तै आज राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा पढेर सुनाइने छ भने बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।
यसैगरी आज राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।
सोही कार्यसूचीका साथ प्रतिनिधिसभाको बैठक हिजै (सोमबार) बस्ने तय भए पनि क्विन्टल सुन प्रकरणका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो अडान नछाडेपछि बैठक स्थगन गरिएको थियो।
एमालेले उक्त प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गरिरहेको छ।
यसअघि यही साउन १० गते बसेको प्रतिनिधिसभा बैठकमा पनि एमालेले सोही माग राखेको थियो। उक्त माग सम्बोधन नभएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने एमालेको अडान छ ।
प्रकाशित समय : १०:१६ बजे



















