global ime bank Long Banner Ad

गृहपृष्ठ अस्ताए रकस्टार रविन

अस्ताए रकस्टार रविन

अस्ताए रकस्टार रविन

चर्चित नेपाली रकस्टार, गायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । दिदी भगवती तामाङले भाइ रविनको मंगलबार बेलुका निधन भएको पुष्टि गरेकी छन् । मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा रविनको निधन भएको भगवतीले बताइन् ।

प्रहरीले गायक तामाङकी दिदी भगवतीले प्रहरीलाई ६ बजे खबर गरेको र सोहीअनुसार बुढानिलकण्ठ–५ चिसेनीस्थित उनको घरमा पुगेको बतायो । ‘उहाँ मृत अवस्थामा भेटिनुभयो। शंकास्पद केही देखिँदैन । सामान्य अवस्था छ । घटनास्थल क्लिन देखिन्छ’ प्रहरीको भनाइ छ । सबै प्रक्रिया पुर्‍याएर रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो ।

रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए ।

उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो । नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ । उनको निधनमा नेपाली संगीतकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् ।

उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो जहाँ उनी ग्याङस्टर रोलमा थिए । उनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका छन् ।

प्रकाशित समय : ०८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु