गृहपृष्ठ हुन्डीमार्फत लागुऔषध, हतियारदेखि सुन तस्करी, रेमिट कम्पनीकै संलग्नता
हुन्डीमार्फत लागुऔषध, हतियारदेखि सुन तस्करी, रेमिट कम्पनीकै संलग्नता
पछिल्लो समय तीनै देशबाट रेमिट्यान्सभन्दा पनि हुन्डी कारोवारबाट नेपालमा धेरै रकम भित्रिने गरेको अर्थ मन्त्रालयकै अध्ययनले औल्याइएको छ ।
हुण्डी कारोबारमा रेमिट कम्पनी मात्र होइन, बैंक तथा ट्राभल एजेन्सीहरू समेत संलग्न रहेको अर्थमन्त्रालयकै आर्थिक अध्ययनहरुमा उल्लेख छ । वैदेशिक रोजगारी र अध्ययनका लागि नेपालीहरु विदेश गएसँगै रेमिट्यान्स भित्रिने क्रम पनि बढेको छ ।
दक्षिण कोरिया, अमेरिका, अष्ट्रेलिया, जापान, बेलायत र युरोपलगायतका देशमा मात्र नभई खाडी देशबाट धेरै रोमिट्यान्स नेपाल आइरहेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको १० महिना अवधिमा १० खर्ब ५ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स रकम गत आर्थिक वर्षको सो अवधिको तुलनामा २३.४ प्रतिशतले बढी रहेको राष्ट्र बैंकले जनाएको छ ।
बैंकले सार्वजनिक गरेको १० महिनाको वित्तीय विवरणअनुसार वैशाख महिनामा मात्रै १ खर्ब २ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो अवधिमा साढे ४ लाख नेपालीहरु विभिन्न देश वैदेशिक रोजगारीमा गएको बैकको तथ्यांकमा छ ।
नेपाल राष्ट्र बैंकले २०७४ सालमा गरेको अनौपचारिक अध्ययनअनुसार नेपालमा भित्रिने रेमिटेन्सको ३३ प्रतिशत (२ खर्ब ५० अर्ब) रकम हुण्डीलगायतका गैरकानूनी माध्यमबाट आउने गरेको छ । चालु आर्थिक वर्षको अन्तिम महिनामा रेमिट्यान्सको वृद्धिदर ३१.९ प्रतिशत पुग्दा पनि विदेशी मुद्रा (डलर) सञ्चितिमा सुधार नहुनुको प्रमुख कारण हुण्डीनै भएको अर्थविदहरु बताउँछन् । ।
उनीहरुका अनुसार हुण्डी रेमिट्यान्स नै भएपनि यो अनौपचारिक माध्यमबाट आउने भएकाले रेमिट्यान्समा गनिँदैन । जसका कारण कर छली भइरहेको छ । हुन्डीको अनुसन्धान नै नहुने भएकाले निर्वाध रूपमा अर्बौं रकम यसकै माध्यमबाट लेनदेन हुने गरेको बैकको अध्ययनहरुमा बताइएको छ ।
हुण्डीले रकम आउने क्रमलाई घटाउँदैन । सरकारी तथ्यांकमा मात्रै नदेखिने हो । सरकारी कोषमा विदेशी मुद्रा आउँदैन । अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति घटाउने राष्ट्र बैकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।
नेपालबाट कुनै पनि देशमा पैसा पठाउन हुण्डीका एजेन्टले आफ्नो एजेन्टमार्फत आर्थिक कारोबार गदै आएको उनले बताए । ‘घर परिवारले पाएको रकम बढिरहेको देखिन्छ । हुण्डी रेमिट्यान्स नै भएपनि यो अनौपचारिक माध्यमबाट आउने भएकाले रेमिट्यान्समा गनिँदैन । यसले अनधिकृत व्यापार व्यवसायसँगै राजश्व समेत घटाउँछ ।’ उनले भने, औपचारिक च्यानलबाट आएको रकम भने कम देखिन्छ । हुण्डी विश्वाशीलो र भरपर्दो मानिँदैन । केही प्रतिशत कमिशन लिने र कुनै प्रमाण नहुने भएका कारण हुण्डी कारोवारबाट सबै संचेत हुनुपर्छ ।’
विदेशबाट पैसा पठाउँदा बैंकिङ च्यानल पयोग नगरी व्यक्ति वा दलालहरुमार्फत पैसा पठाउने कार्य दण्डनीय कार्य भएको उनको भनाइ छ ।
सरकारले विभिन्न माध्यमबाट नेपालबाट विदेशमा पुँजी पलायन भएको ठहर गर्दै आगामी आर्थिक वर्षदेखि पुँजी पलायनलाई नियन्त्रण गर्ने नीति ल्याएको हो । आर्थिक वर्ष ०८०÷८१ को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा पुँजी पलायनलाई कडाइका साथ नियन्त्रण गर्ने उल्लेख छ ।
नेपाल राष्ट्र बैंकले भर्चुअल मुद्रा वा क्रिप्टोकरेन्सीको कारोबार र त्यस्ता भर्चुअल मुद्रासँग सम्बन्धित हाइपरफण्ड कोष र पिरामिडमा आधारित नेटवर्कलगायतका कुनै डिजिटल करेन्सीमा लगानी नगर्न सार्वजनिक सूचना जारी गर्दै आएको छ ।
विदेशी विनियम (नियमित गर्ने) ऐनको दफा १२ ले वित्तीय प्रणाली व्यवस्थापनका लागि विभिन्न सूचना जारी गर्ने अधिकारी नेपाल राष्ट्र बैंकलाई दिएको छ । राष्ट्र बैंकले त्यसरी जारी गरेको सूचना विपरीत काम गर्दा फैजदारी कसुरमा बिगो, जरिवाना सहित ३ वर्षसम्मको कैद सजाय हुन्छ । भने, नेपालमा हुण्डीको कारोबार मौलाउँदै गएपनि राष्ट्र बैंकलाई भने ठोस कार्यक्रमहरु ल्याउन नसकेको आरोप लाग्ने गरेको छ ।
हुण्डीमा रेमिट कम्पनीकै हात
नेपाली रेमिट कम्पनीहरूको एजेन्टका रूपमा काम गरिरहेका कम्पनीहरूले विभिन्न देशमा प्रतिनिधि राखेरै हुण्डी कारोबार गदै आएको र ती कम्पनीले ठुलो आर्थिक चलखेल गरिरहेको राष्ट्र बैकले जनाएको छ ।
गत वर्ष राजस्व अनुसन्धान विभागले काठमाडौंको गोंगबुस्थित रेमिटेन्स कम्पनी ‘रिलायन्स सब रेमिट’ ले विदेशबाट गैरकानूनी हुण्डी कारोबार गरिरहेको आरोपमा पक्राउ गरी मुद्दा चलाएको थियो ।
उक्त कम्पनीका सञ्चालन गोविन्द सुब्बालाई विभागले हुण्डीमार्फत भित्रिएको ३ करोड ६६ लाख रुपैयाँ भित्राएको आरोपमा पक्राउ गरेको थियो । यस्तै, रिलायन्स सब रेमिटले जस्तै नबिल रेमिट, प्रभु मनी ट्रान्सफर, हिमाल रेमिट र वेस्टर्न यूनियन मनी ट्रान्सफरहरुले पनि हुण्डी कारोबारको कारोवार गदै आएको आरोप अनुुसन्धान प्रहरीले लगाउँदै आएका छन् । यी रेमिटहरुमा प्रहरी र राजस्व अनुसन्धान विभागले धेरै पटक छापा समेत हानेका छन् ।
हुण्डी कारोबारीहरूले देशैभर रेमिटेन्स कम्पनी विस्तार भएसँगै हुण्डीबाट ल्याएको रकम आन्तरिक रेमिटेन्स च्यानलबाट विभिन्न देश समेत पठाइरहेको राजस्व अनुसन्धान विभागका कर्मचारी बताउँछन् ।
हुण्डीको अवैध कारोबारसँगैे सुन तस्करी पनि मौलाएको छ । लागुऔषध, हतियार तथा सुनलगायत सामान तस्करीमा पनि हुन्डीमार्फत नै आर्थिक लेनदेन हुने गरेको प्रहरीको अध्ययनमा भनिएको छ ।
नेपालमा पछिल्लो समय दैनिक सय किलोभन्दा धेरै सुन तस्करी हुने गरेको छ । यसमा पनि आर्थिक कारोवार हुण्डीमार्फत नै हुने गरेको छ ।
हुन्डी कारोवारमार्फत नेपालबाट ठूलो मात्रामा लागुऔषध विभिन्न देशमा जाने गरेको छ । भने, हुन्डी नियन्त्रण हुन नसक्दा अन्य किसिमका अपराध पनि बढेको प्रहरीको अध्ययनहरुमा उल्लेख छन् ।
नेपालमा हुण्डी ठूलठूला सरकारी अधिकारी, व्यापारिक, राजनीतिक नेताहरु लगायतका सहयोगबाट सञ्चालन भइरहेको आरोप लाग्ने गरेको छ । जसका कारण यो कारोवार नियन्त्रण गर्ने समस्या हुने प्रहरीहरुले बताउँदै आएका छन् ।
हुन्डीमार्फत नै एक देशबाट अर्काे देशमा पैशा मात्र होइन सरकारले प्रतिबन्ध लगाएको सामाग्री ओसारपसार हुने गरेको प्रहरीले सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् । तर, यस विषयमा सरकारले ठोस नीति र कानुनी कारवाही गर्ने सकेको छैन ।
प्रकाशित समय : ०७:४० बजे



















