गृहपृष्ठ पुर्ख्यौली पेसा किन छोड्दैछन् गन्धर्व ?
पुर्ख्यौली पेसा किन छोड्दैछन् गन्धर्व ?
गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँ गन्धर्वहरु अहिले पुर्ख्यौली पेसा छोडेर जीविकोपार्जनका लागि अन्य पेसा अँगाल्न बाध्य भएका छन् ।
आधुनिक गीत, सङ्गीत एवम् प्रविधिको विकासका साथै समाजमा आफूहरूमाथि हुने हेयको दृष्टिकोणका कारण पुख्र्यौली पेसा छोडेर अरू पेसा अँगाल्न बाध्य भएको उनीहरु बताउँछन् ।
गन्धर्व समुदायको मुख्य बस्ती रहेको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरको गणेश टोलमा अहिले न्यून सङ्ख्यामा गन्धर्वहरु सारङ्गी बोकेर गीत गाउन हिँड्ने गरेका छन् । त्यो पनि चाडपर्वको समयमा मात्र ।
उक्त टोलमा बस्ने ७१ वर्षीय दिले गन्धर्व भन्छन्, “हामीलाई समाजले हेला गर्ने र राज्यले पनि बेवास्ता गर्ने गरेकाले गाउने पेसाबाट खानलाउन नपुग्ने अवस्था आएको हो ।” बीस वर्ष पहिलेदेखि जिल्लाका ग्रामीण क्षेत्र एवम् तुलसीपुर, घोराही, लमहीका बजार क्षेत्रमा गीत गाउँदै हिँडेका उनका अनुसार ५० घरधुरीमा चार सय गन्धर्व रहेको यस टोलमा अहिले दस जनाले मात्र यो पेसा अँगालेका छन् । आफूहरू पनि कुनै काम नपाएको बेलामा मात्र गाउँदै हिँड्छौँ । हातमुख जोड्न साह्रै मुस्किल परेकाले यो पेसा नै गर्न नपरोस् भन्ने सोच छ ।
अहिलेको पुस्ताले गायन पेसाप्रति देखाएको उदासीनताले आफ्नो जातीय अस्तित्व नै मेटिनसक्ने चिन्ता उक्त टोलका शालिकराम गन्धर्वलाई छ । “पहिलेका घर मालिकले प्रशस्त अन्न दिन्थे । त्यहीँबाट घरपरिवार पाल्न सजिलो हुन्थ्यो तर अहिले सारङ्गी बोकेर गाउँदै हिँड्दा धेरैले अपशब्द प्रयोग गर्छन् । अल्छी भनेर गाली पनि गर्छन् त्यो जवाफले त सरम पनि लाग्छ”, उनी भन्छन्।
आफ्ना युवा पुस्तालाई आर्थिकरूपमा सक्षम बनाए मात्र संस्कृति र जातीय पहिचान जोगाउन पुख्र्यौली पेसा अँगाल्न सकिने शालिकरामको भनाइ छ । आफ्ना पुर्खाहरु सल्यानको हिउल्चाबाट दाङमा आएको बताउने सोही टोलका टेकबहादुर गन्धर्व हात मुख जोर्न मुस्किल भएपछि पलायन भएका गन्धर्वहरु हाल दाङको तुलसीपुर, पातेटाकुरा, एकलीलगायत स्थानमा बसी ज्याला मजदुरी र माछा मार्ने गरेर जीविका चलाउँदै आएका छन् ।
प्रकाशित समय : १९:०२ बजे



















