गृहपृष्ठ वर्षेनी अनुदान बढेको बढै, किसानको दुःख सरेको सरै
वर्षेनी अनुदान बढेको बढै, किसानको दुःख सरेको सरै
कृषि तथा पशुपंन्छी विकास मन्त्रालयका अनुसार जेठदेखि असोजसम्म सबैभन्दा बढी रासायनिक मलको माग हुन्छ । तर, यही समयमा किसानले मल पाउँदैनन् ।
जेठको मध्यतिर धानको बिउ राख्न, मकैमा मल हाल्न र पश्चिम तराईसँगै मध्ये पहाडमा बर्खेधान रोपाइँ हुने गरेको छ । नगदेबाली लगाउने समयमा किसानले मल पाएका छैन ।
कृषि मन्त्रालयका अनुसार युरिया मल ४० हजार, डिएपी १० हजार नौ सय ५९ र पोटास एक सय १८ मेट्रिकटन मौज्दात रहेको छ । तर, यो मल पनि अहिले किसानले सरकारले वितरण गरेको छैन ।
सरकारसँग पर्याप्त मौज्दात मल भएपनि मल बिक्रेता र स्थानीय तहसँग सहकार्य नहुँदा किसानलाई मलको समयमा नपाएका हुन् ।
कृषि मन्त्रालयले चालु आर्थिक वर्षमा चार लाख ७८ हजार मेट्रिकटन हो । हालसम्म बिक्री दुई लाख ५८ हजार मेट्रिकटन भइसकेको छ । मन्त्रालयकै तथ्यांकलाई आधार मान्ने हो भने हाल सरकारसँग २ लाख ३० हजार मेट्रिकटन मल मौज्दात हुनुपर्ने हो । तर, केही मल खरिदको प्रक्रियामा रहेका र ५१ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको कृषि मन्त्रालयले जनाएको छ ।
साथै, सिजनमा तीन प्रकारका मल गरेर दुई लाख ५९ हजार मेट्रिकटन मल खपत हुने गर्छ । त्यसमध्ये एक लाख ६० हजार युरिया मल, ९० हजार डिएपी र नौ हजार मेट्रिकटन पोटास मल खपत हुने मन्त्रालयको तथ्यांक छ । जेठदेखि असोजसम्म विशेष गरी धान, चिया र उखुमा मल आवश्यकभन्दा बढी खपत हुने गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।
मुख्यबालीको सिजन सुरु हुन लाग्दा पुनः मल अभाव हुन थालेपनि अहिले विगतमा अभाव नभएको उनले बताए । ‘प्रदेशबाट स्थानीय तहकै कारण मल समयमा नपुग्न सक्छ । मल अभाव हुनुपर्ने हो । अहिले मल प्रशस्त छ । प्रदेशहरूमा गइरहेको छ । असारमा एक लाख आइपुग्छ ।’ उनले भने, ‘यो वर्ष असार र साउनमा रोपाइँमा मलको अभाव नहोस । असारभित्र थप एक लाख मेट्रिकटन मल आइसक्नेछ । प्रदेशबाट स्थानीय तहमा जाने हुँदा ढुवानीलगायत कारणले किसानले मल समयमा नपाउन सक्छन् ।’
यस्तै, सरकारसँग मौज्दात छ भनेपनि स्थानीय तहका किसानले मल नपाएको कृषकसमूह संघका अध्यक्ष नवराज बस्नेतले जानकारी दिए । सरकार र स्थानीय तहको सहकार्य नमिल्दा किसानले मलको अभाव खेप्नुपरेको उनको आरोप छ । ‘विगतमा जस्तो यो सालपनि मल वितरण गर्ने सहकारीमा मल अभाव नै देखिएको छ । मकैलाई युरिया र पश्चिममा धान रोपाइँ सुरु हुँदा डिएपी मलको अभाव देखिएको हो ।’ उनले भने, ‘सरकारले समयमा मल किसानसम्म वितरण नगर्दा उत्पादनमा गिरावट आइरहेको छ । कृषिमा उत्पादन बढाउँछु भनेर सरकारले भाषण गरेर मात्र हुँदैन् । किसानका समस्या समाधान गर्नुपर्छ ।’
चालू आर्थिक वर्षमा मल अभाव नहोस् भन्नका लागि अर्थ मन्त्रालयबाट सात अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चितता गत फागुनमा गरेको थियो । त्यस्तै, सरकारले आगामी आर्थिक वर्षको बजेटमा रासायनिक मलकै लागि ३१ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कृषि सामग्री कम्पनीमार्फत मल वितरण गर्ने ४१ कार्यालय र पाँच हजार तीन सय सहकारीमार्फत सात सय ५३ वटै स्थानीय तहमा मल वितरण हुने गर्छ । अहिलेपनि देशभरका मल डिपोमा किसान मल खोल्दै लाइनमा बसेका छन् ।
प्रकाशित समय : ०८:३० बजे


















