गृहपृष्ठ लम्पी स्किन ४० जिल्लामा फैलियो, ५ लाख पशुचौपायामा सङ्क्रमित

लम्पी स्किन ४० जिल्लामा फैलियो, ५ लाख पशुचौपायामा सङ्क्रमित

लम्पी स्किन ४० जिल्लामा फैलियो, ५ लाख पशुचौपायामा सङ्क्रमित

नेपालमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोग महामारीका फैलिने क्रम बढ्दो छ । पशु सेवा विभागका अनुसार हाल देशका ४० जिल्लामा झण्डै ४ देखि ५ लाख पशुचौपायामा सङ्क्रमण फैलिएको छ ।

गर्मीयाम सुरु भएसँगै देखा परेको यो रोग अहिले देशभर फैलिएको विभाले जारीको सूचनामा उल्लेख छ ।

लम्पी स्किन रोगको सङ्क्रमण भएका धेरै पशु नमरेपनि दूध उत्पादन ८० प्रतिशतसम्म गिरावट आउने विभागले जनाएको छ । विभागका अनुसार गर्भ तुहिने र बाँझोपन हुने हुँदा किसानलाई आर्थिक रुपमा क्षति हुने विभागको सूचनामा उल्लेख छ ।

लम्पी स्किन रोगको सङ्क्रमित गाईभैँसीको मुख, नाक, खुट्ट तथा छालामा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ । गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुने गरेको विभागले जनाएको छ ।

६ हजारभन्दा धेरै सङ्क्रमित पशु चौपाया मरेका छन् । ७ वटै प्रदेशका गरी ३ सय ५० पालिकामा रोग देखिएको विभागका वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालले जानकारी दिए ।

रोगी पशुको शरीरभरि घाउ नै घाउ भएको देखेपछि दूध दुहेर खान मन नलाग्नु स्वाभाविक हो । दूध खानु हुँदैन भन्ने कुरा वैज्ञानिक अध्ययनबाट प्रमाणित नभएका कारण राम्ररी उमालेर खान सकिने उनले बताए ।
‘सङ्क्रमित गाईभैँसीको ओसारपसार र उनीहरुसँग हुने लसपसबाट स्वस्थ पशुमा सर्ने सम्भावना उच्च हुन्छ । किसान आफैँले तथा उपचारमा संलग्न प्राविधिकले निसङ्क्रमणका उपाय अपनाउनुपर्छ ।’ उनले भने, ‘लम्पी स्किन रोग रोकथामका लागि किर्नाको सङ्ख्या नियन्त्रण, लामखुट्टे र गोठ वरिपरिको वातावरण सफा राख्नुपर्छ । रोग एक ठाउँबाट अर्को ठाउँमा फैलन नदिन पनि सङ्क्रमित क्षेत्रबाट पशुको ओसारपसार गर्नुहुँदैन् ।’

लम्पी स्किन रोग नियन्त्रण गर्न सम्भव भएसम्म बजारमा पाइने खोप स्वस्थ्य पशु चौपायामा लगाउन सकिने तर सङ्क्रमित पशुलाई खोप नलगाउन र एक पटक सङ्क्रमित भएर निको भएको पशुमा खोप लगाउन आवश्यक रहेको उनको सुझाव छ ।

गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या पनि बढ्ने र ती किरा सक्रिय हुँदा लम्पी स्किन रोग बढ्ने भएका कारण लामखुट्टे र किर्ना मार्ने औषधी प्रयोग गर्न विभागको सूझाव छ ।

रोगी पशुचौपायाबाट मानिसमा नसर्ने अनि रोगी गाईभैँसीको दूध प्रयोग गर्दा पनि मानिसमा कुनै जोखिम नहुने भएकाले दूध खेर फाल्नु नपर्ने विभागले जनाएको छ ।

लम्पी स्किनका बारेमा थप जानकारी र सल्लाहका लागि विभागले नजिकैको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क गर्न पनि आग्रह गरेको सूचनामा भनिएको छ ।
लम्पी स्किन रोग यसपालि हिमाली क्षेत्रमा पालिएका पशुचौपायामा समेत देखिएको छ । भाइरसको प्रकृतिअनुसार १० देखि १५ दिनमा यो रोग आफैँ निको हुन्छ ।

विभागका अनुसार नेपालको मोरङ जिल्लामा २०७७ साल असारमा पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो । आर्थिक वर्ष २०७७÷०७८ मा आठ जिल्लाका ११ वटा पालिकामा देखिएको थियो भने भने २०७८÷०७९ मा नौ जिल्लाका १९ पालिकामा रोग विस्तार भएको थियो । गत वर्ष यो रोग छिटपुट मात्रै देखिए पनि अहिले देशैभर फैलिएको छ ।

प्रकाशित समय : १५:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु