गृहपृष्ठ प्रधानमन्त्री भारत भ्रमण जादा एमाले महासचिवको ९ सुझाव
प्रधानमन्त्री भारत भ्रमण जादा एमाले महासचिवको ९ सुझाव
नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारत भ्रमणमा जान लाग्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ९ वटा सुझाव दिएका छन् ।
महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई ९ वटा सुझाव दिँदै राष्ट्रिय शक्तिहरूका बीचमा बलियो समझदारी हुनुपर्ने बताएका हुन् । यस्तै उनले नेपालको हितका पक्षमा तयारीसहितको स्पष्ट अडान आवश्यक रहेको उल्लेख गरेका छन् ।
‘यतिवेला नेपालको प्राथमिकता भारतसँगको विद्युत् व्यापार होइन, नेपालमै विद्युतको खपत वृद्धिगर्ने परियोजनाको विकासको कुरा हो’, पोखरेले लेखेका छन्, ’त्यसमा भारतको लगानी र सहयोगमा जोड दिनु राम्रो हुन्छ ।’
महासचिव पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमण भारतको चाहनामा होइन नेपालको राष्ट्रिय हितका विषयमा केन्द्रित हुन सक्नुपर्ने बताए।
प्रधानमन्त्री प्रचण्ड आजदेखि यही जेठ २० गतेसम्मका लागि भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।
यस्ता छन् महासचिव पोखरेलका सुझावः
१, इपिजिको प्रतिवेदनलाई स्विकार गरी त्यसको कार्यान्वयनको तयारी
२, गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका नयाँ एअररुटको सुनिश्चितता
३, नयाँ (चुच्चे) नक्सामा आधारित भई सीमा समस्याको समाधानको थालनी
४, डुबान समस्याको समाधानका सन्दर्भमा विगतमा भएको सहमतिको कार्यान्वयन
५, भारतसँगको बढ्दो व्यापारघाटा कम गर्ने सन्दर्भमा ठोस पहल
६, खुला सीमालाई प्रभावकारी रूपमा नियमन गर्ने विषय
७, तेस्रो मुलुकसँगको व्यापारमा भारतीय बन्दरगाह र मार्गको प्रयोगमा सहजता
८, गंगा रिभरवेसिन हुँदै नेपालसम्मको जलयातायातको विकास
९, भारतीय प्रधानमन्त्रीबाट घोषणा गरिएको सहुलियतपूर्ण कर्जाको प्रयोगमा उत्पन्न जटिलताको समाधान ।
प्रकाशित समय : १०:३३ बजे



















