गृहपृष्ठ सहरमा हरियाली प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्दै काठमाडौं महानगर
सहरमा हरियाली प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्दै काठमाडौं महानगर
आज काठमाडौं महानगरपालिकाले सहरमा हरियाली प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्ने अभियानअन्तर्गत शङ्खधरपार्क (रत्नपार्क) मा वृक्षरोपण गरेको छ ।
रोपिएका बिरुवा कपुर, धूपी र समीका छन् । अभियानको थालनी गर्दै यसअघि कोटेश्वर–जडीबुटी सडक खण्डमा एक सय २० कपुरका बिरुवा रोपिसकिएको छ । सहरी हरियालीका प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्ने सपना पूरा गर्ने अभियान रहेको नगर प्रमुख बालेन्द्र साहले बताएका छन् ।
सहरी हरियालीका लागि धार्मिक मान्यता पाएका, फूल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वानस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको प्रमुख साहको भनाइ छ । चराचुरुङ्गी तथा अन्य जीव जनावरलाई खाना र बास उपलब्ध गराउनसक्ने क्षमता भएका स्थानीय जातका बोट बिरुवालाई जोगाउने योजनाअनुरुप रैथाने (इडेमिक) र प्राकृतिक रुपमा उम्रने (इन्डिजेनियस) बिरुवा रोपण कार्यलाई पहिलो प्राथमिकतामा राखिनेछ ।
सन् १८०२ मा एक वर्षसम्म काठमाडौंको नारायणहिटी र स्वयम्भूमा वैज्ञानिक बुचानन हामिल्टनले बोट बिरुवाको अध्ययन गरिएको थियो । त्यसबाट ४१ प्रजातिका बिरुवाको नाम नेवारी लवजमा राखिएको छ । अन्तरराष्ट्रियस्तरमा नेवारी लवजबाटै उच्चारण गरिने ती बिरुवा बोसिस्वाँ, नःकुस्वाँ, भोलुस्वाँ, लुँकुलिस्वाँ, गुँसीलगायतका हुन् । यी बिरुवाको वैज्ञानिक नाम क्रमशः बेटुला बोसिस्वाँ (अल्नस नेपालेन्सिस), लौरस नकुस्वाँ, डाँफे भोउलु, लुकुलिया ग्राटिसिमा, पोडोकार्पस नेरिफोलियस हो । यी बिरुवा स्थानीय हावापानीमा सजिलै हुर्कने तथा नेपाली जनजीवनसँग परिचित भएकाले जैविक र वानस्पतिक विविधताको संरक्षणमा सघाउ पुग्ने छ ।
कामपाको उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाका प्रमुख नवराज थापाका अनुसार रत्नपार्कसँगै खुल्ला मञ्च क्षेत्र तथा पार्कसँगै वडासँग समन्वय गरेर निर्धारण भएका ठाउँमा बिरुवा रोपिने छ ।
प्रकाशित समय : १४:५० बजे


















