गृहपृष्ठ नेपाल प्रहरीका कर्मचारीले गरे सगरमाथाको सफल आरोहण
नेपाल प्रहरीका कर्मचारीले गरे सगरमाथाको सफल आरोहण
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को १००औं सदस्यता प्राप्त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने कार्यक्रमअन्तर्गत नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलोपटक प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले मंगलवार बिहान १०ः१५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन् ।
आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा फहराउन सफल भएका छन् । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरबाट २०७९ चैत ३० गते आवश्यक निर्देशन तथा शुभकामनासहित झण्डाहरू हस्तान्तरण गरी प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपाली सहितको आरोहण दल गत वैशाख २ गते काठमाडौंबाट प्रस्थान गरेको थियो ।
पहिलोपटक विक्रम संवत् २०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६९२० मिटर उचाईको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६ हजार ११९ मिटर उचाईको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेको थियो ।
प्रकाशित समय : १९:३४ बजे


















