global ime bank Long Banner Ad

गृहपृष्ठ लेखा व्यवसायीको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु

लेखा व्यवसायीको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु

लेखा व्यवसायीको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा आयोजित लेखा व्यवसायीको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । लेखा व्यवसायमा लागू भइरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी दिने, आर्थिक सुशासन निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने र संस्थाका सदस्यको भूमिका बढाएर मुलुकको अर्थतन्त्र सबल बनाउनका लागि योगदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आइक्यान अध्यक्ष भाष्कर सिंह लालाले जानकारी दिएका छन् ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले मुलुकको वित्तीय अनुशासन पालना गर्नका लागि लेखा व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । आर्थिक अनियमिततासँग जोडिएका विषय उजागर गर्नमा लेखा व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने पनि उनको भनाइ छ ।

“प्रत्येक वर्ष अनियमितता बढिरहेको छ । कर फर्छ्योटमा कमी देखिएको छ । निजी क्षेत्रमा जति पनि अनियमितता देखिएका छन्, त्यो भनेको अडिटरको पनि जिम्मेवारीभित्र पर्छ”, महालेखापरीक्षक शर्माले भने, “लेखा व्यवसायीले व्यावसायिक तरिकाले हेरिदिनुभयो भने यस्ता समस्या कम हुँदै जान्छन् । समस्या जति ढाकछोप गर्न थालिन्छ र मिलाउनतिर लागिन्छ, त्यति नै ठूलो समस्या आउँछ ।”

चार्टर्ड एकाउन्टेन्टहरूको भूमिका राज्यका निकाय तथा सार्वजनिक संस्थाको वित्तीय कारोबारलाई प्रमाणित गर्ने मात्र नभई आर्थिक सुशासन कायम गर्नका लागि पनि महत्त्वपूर्ण रहेको उनको भनाइ छ । मर्यादित लेखा व्यवसायमार्फत पेसागत विश्वास जगाउन आवश्यक रहेको पनि महालेखापरीक्षक शर्माले बताएका छन् ।

सोही कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीले लेखा व्यवसायीले तयार पार्ने वित्तीय प्रतिवेदनबाट राज्यको अनुहार प्रतिबिम्वित हुने धारणा राख्नुभयो । “लेखा व्यवसायीले तयार पार्ने वित्तीय प्रतिवेदनले राज्यको अनुहारलाई प्रतिबिम्बित गरेको हुन्छ । वित्तीय प्रतिवेदनको गुणस्तर कसरी सुधार गर्ने र व्यावसायिक सीप तथा दक्षता कसरी विकास गर्ने भन्ने विषय महत्त्वपूर्ण हो”, उनले भने ।

दुई दिनसम्म चल्ने सम्मेलनमा प्रत्येक दिन दुई–दुई वटा सत्र सञ्चालन हुनेछन् । विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने तथा संस्थासँग सम्बन्धित वृत्तचित्र पनि सम्मेलनमा प्रस्तुत गरिने जनाइको छ ।

प्रकाशित समय : १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु