पत्रकार र प्रहरीको बीचबाट गोली चल्दा भारतीय पूर्वसांसद अतिक अहमद र उनका दाजु मारिए
वि.सं.२०८० वैशाख ३ आइतवार ०९:२८
shares

भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या भएको छ ।
पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका अतिक र अशरफ प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा थिए । त्यतिबेला पत्रकारसँग प्रतिक्रिया दिइरहेका उनीहरुलाई नजिकै पुगेर टाउकामा गोली हानिएको थियो ।
उनीहरुलाई गोली लागेको दृष्य पनि टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको थियो । दुवैजना ठाउँको ठाउँ ढलेका थिए ।
अतिकका वकिल विजय मिश्राले पत्रकार र प्रहरीकै भिड भित्रबाट अज्ञात व्यक्तिले निकै नजिकबाट गोली हानेको बताएका छन् । प्रहरीका एक आयुक्तका अनुसार पत्रकार बनेर आएकाहरुले गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गोली हानेकाहरुले घटनास्थलमै आत्मसमर्पण गरेका थिए ।
अतिक अहमद र उनका भाइ अशरफलाई १० भन्दा बढी गोली लागेको स्थानीय मिडियाले उल्लेख गरेका छन् । यो घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
सन् २००५ को जनवरीमा पूर्व विधायक राजु पालको हत्याका प्रत्यक्षदर्शी उमेश पाललाई अपहरण गरेर वयान नदिने कागज गराएर छाडेको आरोप अतिक अहमदमाथि थियो । तर सन् २००७ मा उमेशले प्रयागराजस्थित धुमनगञ्ज प्रहरीमा आफूलाई अपहरण र यातना दिएको भन्दै अतिकविरुद्ध उजुरी दिए ।
यो मुद्दामा सन् २०२३ को फेब्रअुरी २४ मा बयान दिएर फर्किइरहेको बेला उमेशको गोली हानेर हत्या भएको थियो । उमेशको हत्यामा अतिकका छोरा असद अहमद संलग्न थिए । असद अहमद र उनका साथी मोहम्मद गुलाम सन् २०२३ को अप्रिल १४ मा प्रहरी इन्काउन्टरमा मारिएका थिए ।
























