ढाका कारबाहीमा परेपछि सांसद बन्दै गरेकी विन्ध्यवासिनी को हुन् ?
वि.सं.२०७९ चैत ३० बिहीवार ०६:५०
shares

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठ अडियो प्रकरणमा मुछिएपछि कारबाही गर्दै सांसद पद र पार्टी सदस्यता खारेज गरेको छ ।
ढाका कारबाहीमा परेलगत्तै उनको स्थानमा समानुपातिक सूचीबाट विन्ध्यवासिनी कंशाकारलाई सांसद बनाउने निर्णय रास्वपाले गरेको छ ।
रास्वपाको केन्द्रीय सदस्य समेत रहेकी मकवानपुरकी कंशाकार एसिड पीडित महिला हुन् । विगत ९ वर्षअघि उनी एसिड आक्रमणमा परेकी थिइन् ।
रास्वपा स्थापनादेखि नै जिल्ला सदस्य रहेकी उनलाई केही साताअघि मात्रै पार्टी सभापति रवि लामिछानेले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
पार्टीले सांसदमा सिफारिस गर्ने निर्णय गरेको विषयमा खुसी भएकी कंशाकार यो बारेमा हालसम्म आधिकारिक जानकारी नआएको बताउँछिन् ।
उनी गत मंसिर ४ को निर्वाचनमा मकवानपुरबाट रास्वपाको समानुपातिक तर्फको उम्मेदवार थिइन् । अलोकप्रिय घटनापछि रास्वपालाई लिएको निर्णयलाई लोकप्रिय कदमका रुपमा ब्याख्या गरिएको छ ।

























