गृहपृष्ठ चिसो घटेपछि अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै
चिसो घटेपछि अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै
मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङले जानकारी दिएका छन् । चिसो छल्न झरेका मुस्ताङीहरू फागुनको तेस्रो सातापछि विस्तारै फर्कन थालेका छन् ।
चक्रीय अन्नपूर्ण पदमार्गमा तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक आएका छन् । सन् २०२३ को जनवरीदेखि हालसम्म सो सङ्ख्यामा विदेशी पर्यटक आएका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार यतिबेला दैनिक ४०÷५० जना पर्यटक आउने गरेका छन् । “यस पदमार्गमा यतिबेला कम कम नै पर्यटक आइरहेका छन्, विश्वमा देखा पर्दै गएको आर्थिकमन्दीका कारण हुनसक्छ”, गुरुङले भने ।
कोरोना सङ्क्रमणपछि विगतमा आएकोझै पर्यटक हालसम्म आएका छैनन् । पर्यटकको कमीले पदमार्गका पर्यटन व्यवसायी चिन्तित छन् । जुर्मुराउँदै गरेको पर्यटन व्यवसाय कोरोना सङ्क्रमणले लामो समय ठप्प भयो, सङ्क्रमण हटेयता विगतमा झै पर्यटक आउन नसकेको व्यवसायी पञ्चबहादुर गुरुङले बताए । हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा पर्यटक आउछन् ।
मनाङका विभिन्न हिमाल तथा चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी जिल्ला जोडिएको छ ।
त्यस्तै पछिल्ला समयमा पर्यटक लक्षित पूर्वाधार निर्माणको क्रम पनि बढेसँगै यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको छ । आजभन्दा चार दशक अघिसम्म मुक्तिनाथ मन्दिरमा जाने यात्रुले होटल अभावमा त्यहाँका पार्टी पौवामा बस्नुपर्ने बाध्यता थियो । अहिले भने मुस्ताङमाथि लेतेबाटै मुक्तिनाथ हुँदै लोमन्थाङसम्म सुविधासम्पन्न होटेल बनिसकेका छन् ।
विगतको मुस्ताङमा आउँदा पौवा र ठाँटी, भेँडीगोठमा बस्नुपर्ने बाध्यतालाई सुविधासम्पन्न होटलले अन्त्य गरिदिएको अर्का स्थानीय रामकुमार थकालीले बताउनुभयो । पछिल्ला समयमा मुस्ताङका ठिनी, स्याङलगायतका गाउँमा स्थानीयले घरबास पनि सञ्चालनमा ल्याएका छन् ।
उपल्लो मुस्ताङको ल्होमन्थाङमा विस्तारै पर्यटकको चहलपहल बढिरहेको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमन्थाङका निमित्त प्रमुख रामबहादुर गुरुङले बताए । उपल्लो मुस्ताङको लोमन्थाङलाई माटाको सहरका रुपमा समेत लिइन्छ । एउटै पर्खालभित्र एक सय ८० वटा घर रहेको लोमन्थाङमा मुस्ताङी राजको दरबारसमेत छ ।
उपल्लो मुस्ताङमा भएका गुफा तथा गुम्बा हेर्नका लागि पनि स्वदेशी एवं विदेशी पर्यटक आउने गरेको झोङका स्थानीय मिककुमार गुरुङले जानकारी दिए । झोङमा रहेको ऐतिहासिक गुफाले यहाँ आउने जो–कोहीलाई लोभ्याउने गरेको बताउँदै उहाँले पाँच तला र एक सय आठ कोठा रहेको गुफा उपल्लो मुस्ताङको महत्वपूर्ण गन्तव्य रहेको छ ।
कोरोना त्रासका कारण विगतका दुई वर्ष यहाँको पर्यटनमा पनि असर परेको स्थानीयवासी बताउँछन् । कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनका लागि स्थानीय पालिकासँगै पर्यटनसम्बद्ध सङ्घसंस्थाले पनि कार्यक्रम अघि बढाएका छन् । मुस्ताङमा हालै पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)ले प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको टेवानका अध्यक्ष कमला गिरीले जानकारी दिए ।
प्रकाशित समय : ०९:३३ बजे



















