global ime bank Long Banner Ad

गृहपृष्ठ चिसो घटेपछि अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

चिसो घटेपछि अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

चिसो घटेपछि अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङले जानकारी दिएका छन् । चिसो छल्न झरेका मुस्ताङीहरू फागुनको तेस्रो सातापछि विस्तारै फर्कन थालेका छन् ।

चक्रीय अन्नपूर्ण पदमार्गमा तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक आएका छन् । सन् २०२३ को जनवरीदेखि हालसम्म सो सङ्ख्यामा विदेशी पर्यटक आएका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार यतिबेला दैनिक ४०÷५० जना पर्यटक आउने गरेका छन् । “यस पदमार्गमा यतिबेला कम कम नै पर्यटक आइरहेका छन्, विश्वमा देखा पर्दै गएको आर्थिकमन्दीका कारण हुनसक्छ”, गुरुङले भने ।

कोरोना सङ्क्रमणपछि विगतमा आएकोझै पर्यटक हालसम्म आएका छैनन् । पर्यटकको कमीले पदमार्गका पर्यटन व्यवसायी चिन्तित छन् । जुर्मुराउँदै गरेको पर्यटन व्यवसाय कोरोना सङ्क्रमणले लामो समय ठप्प भयो, सङ्क्रमण हटेयता विगतमा झै पर्यटक आउन नसकेको व्यवसायी पञ्चबहादुर गुरुङले बताए । हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा पर्यटक आउछन् ।

मनाङका विभिन्न हिमाल तथा चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी जिल्ला जोडिएको छ ।

त्यस्तै पछिल्ला समयमा पर्यटक लक्षित पूर्वाधार निर्माणको क्रम पनि बढेसँगै यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको छ । आजभन्दा चार दशक अघिसम्म मुक्तिनाथ मन्दिरमा जाने यात्रुले होटल अभावमा त्यहाँका पार्टी पौवामा बस्नुपर्ने बाध्यता थियो । अहिले भने मुस्ताङमाथि लेतेबाटै मुक्तिनाथ हुँदै लोमन्थाङसम्म सुविधासम्पन्न होटेल बनिसकेका छन् ।

विगतको मुस्ताङमा आउँदा पौवा र ठाँटी, भेँडीगोठमा बस्नुपर्ने बाध्यतालाई सुविधासम्पन्न होटलले अन्त्य गरिदिएको अर्का स्थानीय रामकुमार थकालीले बताउनुभयो । पछिल्ला समयमा मुस्ताङका ठिनी, स्याङलगायतका गाउँमा स्थानीयले घरबास पनि सञ्चालनमा ल्याएका छन् ।

उपल्लो मुस्ताङको ल्होमन्थाङमा विस्तारै पर्यटकको चहलपहल बढिरहेको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमन्थाङका निमित्त प्रमुख रामबहादुर गुरुङले बताए  । उपल्लो मुस्ताङको लोमन्थाङलाई माटाको सहरका रुपमा समेत लिइन्छ । एउटै पर्खालभित्र एक सय ८० वटा घर रहेको लोमन्थाङमा मुस्ताङी राजको दरबारसमेत छ ।

उपल्लो मुस्ताङमा भएका गुफा तथा गुम्बा हेर्नका लागि पनि स्वदेशी एवं विदेशी पर्यटक आउने गरेको झोङका स्थानीय मिककुमार गुरुङले जानकारी दिए । झोङमा रहेको ऐतिहासिक गुफाले यहाँ आउने जो–कोहीलाई लोभ्याउने गरेको बताउँदै उहाँले पाँच तला र एक सय आठ कोठा रहेको गुफा उपल्लो मुस्ताङको महत्वपूर्ण गन्तव्य रहेको छ ।

कोरोना त्रासका कारण विगतका दुई वर्ष यहाँको पर्यटनमा पनि असर परेको स्थानीयवासी बताउँछन् । कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनका लागि स्थानीय पालिकासँगै पर्यटनसम्बद्ध सङ्घसंस्थाले पनि कार्यक्रम अघि बढाएका छन् । मुस्ताङमा हालै पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)ले प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको टेवानका अध्यक्ष कमला गिरीले जानकारी दिए ।

प्रकाशित समय : ०९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु