गृहपृष्ठ बेलारुसमा आणविक हतियार राख्ने पुटिनको घोषणा

बेलारुसमा आणविक हतियार राख्ने पुटिनको घोषणा

बेलारुसमा आणविक हतियार राख्ने पुटिनको घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक बेलारुसमा आणविक हतियार राख्ने सम्झौता गरेको बताएका छन् ।

युक्रेन युद्धलाई लिएर पश्चिमा मुलुकसँगको तनावपूर्ण सम्बन्ध र रुसी विश्लेषकले सम्भावित आणविक हमलाको सन्दर्भ निकालिरहेका बेला पुटिनले शनिबार यस्तो घोषणा गरेका हुन् । संयुक्त राज्य अमेरिकाले दशकौंदेखि आफ्नो युरोपेली सहयोगी मुलुकमा आणविक हतियार राखेको बताउँदै पुटिनले बेलारुससँगको सम्झौताले आणविक सम्झौताको उल्लंघनसमेत नगर्ने तर्क गरेका छन् ।

पुटिनले भनेका छन्, ‘हाम्रा दायित्वलाई उल्लंघन नगरी हामी यसका लागि सहमत भएका छौं । आणविक हतियारको अन्तर्राष्ट्रिय दायित्व उल्लंघन नगर्नेमा म जोड दिन्छु ।’ राज्यद्वारा सञ्चालित टेलिभिजनसँग बोल्दै पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले नेटो सदस्य पोल्यान्डसँग सीमा जोडिएको आफ्नो देशमा आणविक हतियार राख्ने मुद्दा लामो समयदेखि उठाउँदै आएको बताए ।

रुसले मिन्स्क (बेलारुसको राजधानी)लाई वास्तवममै हतियार हस्तान्तरण नगरेको स्पष्ट पारेको छ । आउँदो जुलाई १ सम्म बेलारुसमा आणविक हतियार राख्नका लागि आवश्यक सुविधाको निर्माण गरिसक्ने रुसले जनाएको छ ।

रुसले यसअघि नै आणविक हतियार बोक्न सक्ने १० लडाकु विमान र आणविक हतियार प्रक्षेपण गर्न सक्ने क्षमताको मिसाइल प्रणाली बेलारुसलाई उपलब्ध गराइसकेको पुटिनले बताए । विश्वको अर्काे ‘सुपरपावर’ अमेरिकाले पुटिनको यो घोषणापछि ‘सावधानीपूर्ण’ तरिकाले प्रतिक्रिया दिएको छ ।

प्रकाशित समय : १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु