गृहपृष्ठ को बन्लान् आइजीपी ?

को बन्लान् आइजीपी ?

को बन्लान् आइजीपी ?

नेपाल सरकारको निर्णयानुसार प्रहरी नायब महानिरीक्षक (डीआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दर्ज्यानी चिह्न प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वाेच्च पद प्रहरी महानिरीक्षक (आइजीपी) बन्नेछन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षक (आइजीपी)बाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा पदोन्नति भएका छन् ।

हालका आइजीपी धीरजप्रताप सिंह यही चैत १० गते राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि रिक्त हुने आइजीपी पदमा हाल पदोन्नति भएका एआइजीबाटै बढुवा गर्नुपर्ने भएकाले अबको दुई दिनपछि नै पाँच एआइजीमध्ये एक जनाले आइजीपीकाे फुली लगाउन पाउने महत्वपूर्ण अवसर प्राप्त गर्दैछन् ।

काम गर्नसक्ने सक्षम, संगठनलाई कमाण्ड गर्नसक्ने, नेतृत्व दिनसक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले आइजीपी बनाउनसक्ने विद्यमान अवस्था रहेको पूर्वप्रहरी अधिकारी बताउँछन् ।  ‘मापदण्ड हेर्दा व्याख्याअनुसार जसलाई बनाए पनि हुने जस्तो देखिन्छ,’ पूर्वएआइजी पुष्कर कार्कीले भने, ‘सरकारले राम्रै र सक्षम व्यक्तिलाई ल्याउँछ, यो नियमित प्रक्रिया हो जस्तो लाग्छ मलाई ।’

पछिल्लो समयमा गृहमन्त्रालयले सरुवा-बढुवामा मापदण्ड नै बनाएर लागू गरेको छ । सरकारले उपयुक्त व्यक्ति हो भन्ने व्याख्याका आधारमा गरेर पाँचमध्ये एकलाई आइजीपी बनाउनसक्ने देखिएको प्रहरी अधिकृतहरु बताउँछन् । सरकारले सिंहलाई गएको वैशाख १८ गते महानिरीक्षक पदमा पदोन्नति गरेको थियो ।

प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने, नेतृत्व दिनसक्ने र आफू मुनिकालाई प्रोत्साहन गर्नसक्ने व्यक्तिलाई आइजीपी बनाउनसक्ने उल्लेख छ ।

यही चैत १० मा प्रहरी महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह अवकाश हुँदा उनीसँगै तीन एआइजी पनि अनिवार्य अवकासमा जाँदैछन् । सिंहकै ब्याची एआइजी सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा जान लागेका हुन् ।

हाल बढुवा भएका एआइजीमध्ये एक जना आइजीपीमा पदोन्नति भएपछि १० गते रातिपछि त्यो पदसहित गरेर चार एआइजीको पद पुनः रिक्त हुन्छ । हालका आइजीपी सिंहको अवकाशपछि रिक्त हुने चार एआइजीमा डीआइजी सन्दीप भण्डारी, सुदीप गिरी, टेक तामाङ, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, भीमप्रसाद ढकाल, दुर्गा सिंह, पोषराज पोखरेल र किरण राणाबीच प्रतिस्पर्धा हुने केन्द्रीय प्रवक्तासमेत रहेका डीआइजी पोषराज पोखरेलले जानकारी दिए ।

चैत ११ पछि बढुवा हुने आइजीपीको कार्यावधि संशोधनका लागि प्रक्रियामा रहेको ३० वर्षे उमेर हद नहटाइएको खण्डमा २०८१ चैतसम्मको रहनेछ । यसअघि आइजीपीको बढुवामा राजनीतिक हस्तक्षेप भएको भनेर चर्काे आलोचनासमेत हुने गरेको थियो । पूर्वप्रहरी अधिकारी भने अब त्यसबाट मुक्त हुन जरुरी रहेको बताउँछन् । गृहमन्त्रालय स्रोतका अनुसार आउँदो मन्त्रिपरिषद्को बैठकले सोमबार पदोन्नति भएका एआइजीमध्येबाट एक जनालाई आइजीपीमा पदोन्नतिको निर्णय गर्नेछ ।

एआइजीमा पदोन्नति भएकी किरण बज्राचार्य प्रहरी इतिहासमै पहिलो पटक प्रहरीको सर्वाेच्च (महानिरीक्षक) पदको प्रतिस्पर्धी बन्ने महिला हुन् । यसअघि अतिरिक्त महानिरीक्षकमा पुगे पनि पूजा सिंह भने महानिरीक्षकको प्रतिस्पर्धामा सामेल हुन पाएकी थिइनन् ।

बज्राचार्यसँगै डीआइजीमा बढुवा हुनुभएका मीरा चौधरी, दुर्गा सिंह र किरण राणा एआइजी बढुवामा नै पछि परेकाले उनी महानिरीक्षकको प्रतिस्पर्धामा एक्लो महिलाका रुपमा प्रतिस्पर्धी हुने अवसर प्राप्त गरेकी हुन् ।

प्रकाशित समय : १७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु