यूएईविरूद्ध रोमाञ्जक जित निकाल्दै नेपाल विश्वकपमा
वि.सं.२०७९ फागुन १८ बिहीवार १८:०७
shares
तस्बिर श्राेत : क्यानकाे फेसबुक पेज ।
आइसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा यूएईविरूद्ध रोमाञ्जक जित निकाल्दै नेपाल विश्वकपमा छनाेट भएकाे छ । आज भएकाे महत्वपूर्ण खेलमा नेपालले यूएईलाई ७ रनले पराजित गरेकाे हाे ।
अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुँदै १९१ रन बनायो । नेपालका कप्तान देव खनालले ८४ बलमा ५१ रनको अर्धशतकीय इनिङ खेले । कप्तान खनालले ३ चौका र १ छक्का प्रहार गरेका थिए । देवले ७५ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए ।
विशाल विक्रम केसीले ५० बलमा ३८ रन बनाए । केसीले ५ चौका प्रहार गरेका थिए । उत्तम थापा ३६ रन बनाएर आउट भए । ६ ओभर १ बलमा ३ विकेट गुमाइसकेको नेपालका लागि थापा र कप्तान खनालले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । दिपेश कँडेलले १५ तथा हेमन्त धामीले १३ रन बनाए ।
नेपालका ओपनर दीपक बोहोरा इनिङको पहिलो बलमा नै आउट भएका थिए । अर्का ओपनर अर्जुन कुमाल ३ तथा आकाश त्रिपाठी ९ रनमा आउट भएका छन् ।
यूएईका लागि धुव्र पराशरले ३ तथा हरिस शेठ्ठी र आयान खानले समान २/२ विकेट लिए । हर्शित शेठ र अम्मर बदामीले समान १/१ विकेट लिएका छन् ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई २४३, तेस्रो खेलमा हङकङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो ।
यो जितसँगै नेपालले सन् २०२४ मा श्रीलंकामा आयोजना हुने यू-१९ पुरुष विश्वकपमा सहभागिता जनाउने भएको छ ।
























