global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सप्तरीको शम्भुनाथ नगरपालिकाका नगर प्रमुख घूस लिएको आरोपमा निलम्बित

सप्तरीको शम्भुनाथ नगरपालिकाका नगर प्रमुख घूस लिएको आरोपमा निलम्बित

सप्तरीको शम्भुनाथ नगरपालिकाका नगर प्रमुख घूस लिएको आरोपमा निलम्बित

सप्तरीको शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्रप्रसाद गुप्ता निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नगरप्रमुख गुप्ताविरुद्ध घूस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेसँगै नगर प्रमुख गुप्ता निलम्बित भएका हुन् ।

नगर प्रमुख गुप्ता र नगरपालिकाका इन्जिनयर रामचन्द्र साहबीचको आपसी मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनाका लागि सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घूस लिएको पुष्टि हुन आएकोले नगरप्रमुख गुप्ता र इन्जिनयर साहमाथि बुधबार विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उप दफा (१) को कसुरमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले गत माघ ३ गते इन्जिनियर साहलाई एक लाख ४० हजार रुपैयाँ घूस लिइसकेको भन्दै नियन्त्रणमा लिएको थियो । इन्जिनयर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारले नगर प्रमुख गुप्ताको पनि संलग्नता पाएपछि उनी समेतलाई विपक्षी बनाई विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

दुवै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो एक लाख ४० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफ ३ को उपदफा (१) देहाय खण्ड (घ) बमोजिम कैद र बिगोबमोजिम जरिवानाको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

विशेषमा आरोपपत्र दायर भएसँगै स्वतः निलम्बित भएका नगर प्रमुख गुप्ता जिल्लामा निलम्बित हुने पहिलो नगर प्रमुख होइनन् । यसअघि राजविराज नगरपालिकाका नगर प्रमुख भिमराज यादविमाथिसमेत विशेष अदालतमा भ्रष्टाचारको आरोपमा अख्तियारले आरोपपत्र दायर गरेपछि उनीसमेत निलम्बित छन् ।

प्रकाशित समय : ०६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु