गृहपृष्ठ ठेक्काको म्याद सकिन लाग्यो, काम सुरु भएन

ठेक्काको म्याद सकिन लाग्यो, काम सुरु भएन

ठेक्काको म्याद सकिन लाग्यो, काम सुरु भएन

सरसर्ती निर्माण भएको भए बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको आधारभूत अस्पताल अहिलेसम्म निर्माण भइसक्थ्यो ।

आगामी २०७९ चैत मसान्तभित्र अस्पताल भवन निर्माण सक्नुपर्ने ठेकेदार कम्पनी र ताराखोला गाउँपालिका बीचको सम्झौता भए पनि अस्पतालको काम अझै सुरु भएको छैन । जिल्लाका अन्य पालिकाका आधारभूत अस्पताल धमाधम निर्माण भइरहेको सन्दर्भमा यहाँ भने जग्गा स्थानान्तरण विवाद र ठेकेदार कम्पनीबीचको असमझदारीका कारण ताराखोला गाउँपालिकाको पाँच शय्याको अस्पताल निर्माण ठेक्का म्याद सकिनै लाग्दासमेत काम सुरु नभएको हो ।

भौगोलिक रुपमा दुर्गम गाउँपालिका रहेको ताराखोलामा अस्पताल बनाउनका लागि उपयुक्त जग्गा नभएकै कारण अस्पताल निर्माणमा कठिन देखिएको हो । आधारभूत अस्पताल निर्माणका लागि वडा नम्बर २ को सरपान्डीडाँडामा दुई वर्षअघि शिलान्यास भए पनि जग्गा विवाद तथा भौगोलिक जटिलताको कारण देखाउँदै गाउँपालिकाले ठेक्का लगाइसकेको जग्गालाई स्थानान्तरण गरी सोही वडाको कुवाँधुनेखोलामा पुर्‍याउँदा अस्पताल निर्माणमा निर्माण व्यवसायी र पालिकाबीच समस्या देखिएको थियो ।

शिलान्यासको वर्ष नै ताराखोलामा बाढी पहिरो गएका कारण उक्त सरपान्डीडाँडामा अस्पताल निर्माण गर्न भौगोलिक रुपमा जोखिम रहेको गाउँपालिकाका प्राविधिकको सल्लाहमा अस्पताल निर्माणको जग्गा स्थानान्तरण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले बताए ।

‘दुई वर्षअघिनै जग्गा विवाद तथा भौगोलिक कठिनाइका कारण अस्पतालको जग्गा स्थानान्तरण गरिएको थियो । ठेकेदारले ठेक्का ल्याइसकेपछि काम रोकेर राखेको देखिएको छ, जुन स्थानमा अस्पताल बनाए पनि अस्पतालको डिजाइन एउटै हो, केही लागत थपघट भए पालिकाले निर्णय लिन्छ भन्ने थियो,’ उनले भने । ‘निर्माण व्यवसायीले जग्गा स्थानान्तरणको कारण देखाउँदै भवन निर्माण गर्न आलटाल गर्दै दुई वर्ष बिताएकाे निमित्त प्रमुख प्रशासकीय अधिकृत गैरेले बताए । उनले भने, ‘चैत मसान्तसम्म सम्झौता मिति छ, म्याद सकिएपछि सार्वजनिक खरिद ऐनलाई टेकेर पुन ठेक्कामा जाने तयारीमा छौं । अस्पतालजस्तो संवेदशनशील क्षेत्रमा चरम ढिलासुस्ती गाउँपालिकालाई मान्य छैन ।’

प्रशासकीय अधिकृत गैरेका अनुसार सार्वजनिक खरिद ऐनमा ठेक्का मिति सम्झौता नसकेसम्म ठेकेदारलाई कारबाहीको काम गर्न नपाइने भएकाले चैत मसान्तभित्र ठेकेदारले काम थाल्ने लिखित सम्झौता नगरे ठेक्का रद्द गर्ने प्रक्रियामा गाउँकार्यपालिका जानेछ ।

पालिकाको आधारभूत अस्पताल समयमै नबन्दा गाउँपालिकाले दिने स्वास्थ्य सेवा प्रभावित बन्दै आएको ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापाले बताए । प्राविधिकले पालिका अस्पताल बनाउन शिलान्यास गरिएको जग्गा उपयुक्त नदेखेपछि स्थानीयको पहलमा अर्को स्थानमा जग्गा व्यवस्थापन गरेर अस्पताल बनाउने गाउँपालिकाको योजना रहे पनि निर्माण व्यवसायीले काम नै नथाल्दा समस्या भएको उनको भनाइ छ । ‘अस्पताल बनिसक्ने समयमा काम सुरु नहुनु दुःखद् हो, ठेक्का मिति सकिँदासाथ गाउँपालिकाले कार्यपालिकामार्फत ठेक्कालाई निरन्तरता दिने अथवा ठेक्का रद्द गर्ने निर्णय गर्ला,’ उनले भने, ‘जिल्लाका १० पालिकामध्ये अधिकांश पालिकामा आधारभूत अस्पताल ठडिँदा हाम्रोमा कामै सुरु नहुनु दुःखद् हो ।’

कोरोना कहरको समयमा पालिकाले कोरोना प्रभावित बिरामीलाई पालिकाले निर्माण गरेको बहुउद्देश्यीय सभाहलमा राखेर उपचार गराएको थियो । भौगोलिक रुपमा भिरालो जमिन रहेको ताराखोलामा ठूला भवन तथा संरचना निर्माण गर्न समस्या हुँदै आएको छ ।

२०७७ साल वैशाखमा दुई वर्षमा निर्माण सक्ने गरी गाउँपालिका र एसी कन्ट्रक्सनबीच सात करोड ५७ लाखमा ठेक्का सम्झौता भएको थियो । ठेक्का म्याद सकिना दुई महिना मात्रै बाँकी रहँदा अस्पताल निर्माण सुरुसमेत भएको छैन भने निर्माण व्यवसायीले पालिकाको कारण अस्पताल बनाउन नसकेको बताउँदै आएको छ । यता ताराखोला गाउँपालिकाले निर्माण व्यवसायीका कारण काम नभएको जनाएको छ ।

ठेक्का लगाइसकेको जग्गामा अस्पताल नबनाएर नयाँ जग्गामा अस्पताल बनाउन पालिकाले भने पनि लागत फरक पर्ने भएकाले भवन निर्माणको काम नथालेको अस्पताल भवन निर्माणको जिम्मा पाएको एसी कन्ट्रक्सन प्रालिका प्रतिनिधि दीपक अदैले जानकारी दिए ।

काम गरेर मूल्यांकन नभएर लगानी डुब्नभन्दा कामै सुरु नगर्दा राम्रो देखिएको भन्दै जग्गाअनुसार भवनको जग फरक पर्ने भएकाले पालिकाले उक्त परिवर्तित नक्सा उपलब्धसमेत नगराएको उनको भनाइ छ । ‘भवन एउटा जग्गामा गर्ने भनेर ठेक्का लिए, काम गर्न उपकरणसहित जाँदा स्थान परिवर्तन भएको देखियो, उक्त स्थानमा काम गर्दा लागत बढ्ने भए पनि गाउँपालिकाले सोही लागतमा काम गर्न दबाब दिइराखेको थियो,’ उनले भने, ‘पछि काम गरेर भुक्तानी नपाउनभन्दा कामै नगर्दा राम्रो भनेर हात झिकेर फर्कें, अहिले अस्पतालको जग्गा व्यवस्थापन र पहिरो नियन्त्रणका लागि गरेको कामको समेत रकम भुक्तानी भएन । आजको दिनसम्म हामीले एक पैसासमेत लिएका छैनौं ।’

गाउँपालिकाले ठेक्का मिति सकिने बेलासम्म परिवर्तित भवनको नक्सा र डिजाइन उपलब्ध नगराएर निर्माण व्यवसायीलाई दोष दिन नमिल्ने अदैको भनाइ छ । स्वास्थ्य मन्त्रालयको बजेटमा निर्माण हुने पालिका अस्पतालका लागि केन्द्रले नै स्वीकृत गरेको नक्सा र डिजाइनअनुसार पालिकाले काम गर्नुपर्ने प्रावधान छ । अस्पताल बनाउनका लागि पालिकाको नाममा अस्पतालको शय्याअनुसार तोकेको जग्गा हुनुपर्ने छ ।

पालिकाले सार्वजनिक खरिद ऐनअनुसार सुविस्थाको आधारमा पुनःठेक्का गर्नेतर्फ जानका लागि निर्माण व्यवसायीले समझदारी गर्ने निर्माण व्यवसायीको भनाइ छ । अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गर्न निर्माण व्यवसायीको तर्फबाट हालसम्म ५० लाख खर्च भइसकेको ठेकेदार कम्पनीको दाबी छ ।

प्रकाशित समय : १०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु