गृहपृष्ठ ग्याँस सिलिण्डर पड्किँदा सांसद चन्द्र भण्डारी र उनकी आमा गम्भीर घाइते, भारत लैजान सिफारिस
ग्याँस सिलिण्डर पड्किँदा सांसद चन्द्र भण्डारी र उनकी आमा गम्भीर घाइते, भारत लैजान सिफारिस
ग्याँस सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा घाइते भएका छन् । काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा गएराति ग्याँस सिलिण्डर विस्फोट भएको थियो ।
राति खाना खाइवरी सुतेको बेला सिलिण्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएको उनको पारिवारिक स्रोतले बतायो । उनीहरु दुवैको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।
गएराति नै भण्डारीलाई भेट्न कीर्तिपुरस्थित अस्पताल पुगेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उनीहरुको अवस्था गम्भीर रहेको सामाजिक संजालमा लेखेका छन् ।
चन्द्र भण्डारीको शरीरको करिब २५ प्रतिशत र उनकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको भण्डारीको सचिवालयले जनाएको छ ।
२५ प्रतिशत शरीरको भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् ।
अस्पतालकी मेडिकल डाइरेक्टर निजिमा ताम्राकारका अनुसार सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको छ । उनका अनुसार आमाको अन्य रोग पनि भएकाले अवस्था जटिल छ ।
आमाको तुलनामा सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उनको अवस्था पनि गम्भीर रहेको तुलाधर बताउँछिन् ।
प्रकाशित समय : ०९:०७ बजे


















