global ime bank Long Banner Ad

गृहपृष्ठ मोबाइल व्यवसायीकाे माग- लुटपाटको क्षतिपूर्ति आन्दोलनकारी संगठन र सरकारले दिनुपर्छ

मोबाइल व्यवसायीकाे माग- लुटपाटको क्षतिपूर्ति आन्दोलनकारी संगठन र सरकारले दिनुपर्छ

मोबाइल व्यवसायीकाे माग- लुटपाटको क्षतिपूर्ति आन्दोलनकारी संगठन र सरकारले दिनुपर्छ

नेपाल मोबाइल व्यवसायी महासंघले यातायात मजदुरहरूको प्रदर्शनको क्रममा सोमबार भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति आन्दोलन गर्ने संगठन र सरकारले दिनुपर्ने माग गरेको छ ।

मंगलबार महासंघले नयाँ बसपार्कमा ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै गोंगबु नयाँ बसपार्कको ल्होत्से मलमा भएको यातायात मजदुरहरूको प्रदर्शनका क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति आन्दोलन गर्ने संगठन र सरकारले दिनुपर्ने माग गरेको हो । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष भरत भट्टराईले सरकारले ४८ घण्टाभित्र मोबाइल व्यवसायीहरूका माग सम्बोधन नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए । १५ घण्टा हुँदासम्म राज्य घटनाप्रति मौन बस्नु व्यवसायीहरूको पक्षमा सरकार नदेखिएको उनको आरोप छ ।

सरकारले पसल लुटपाट गर्नेहरूको अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन भट्टराईले माग गरे । लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँबराबरको क्षति भएको उनको भनाइ छ ।

महासंघका उपाध्यक्ष तथा लुटपाट भएको पसलका सञ्चालक अर्जुन चालिसेले करिब ८ देखि ९ करोड रुपैयाँबराबरको मोबाइल, पैसा र अन्य सामग्रीहरू लुटिएको बताए । सरकारले घटनाबाट भएको क्षतिपूर्ति दिने विश्वास आफूहरूको रहेको उनको भनाइ छ ।

सामान्य व्यवसायीहरूले गरिखानसमेत ठूलो समस्या आएको भन्दै राज्यले व्यवसायलाई सुरक्षित बनाउन नसकेको चालिसेको टिप्पणी छ । एसीडीसी मोबाइल पसल र डायमण्ड स्टार इन्भेस्टमेन्ट ग्रुप प्रालिमा दुईवटा मोबाइल पसलमा नै लुटपाट भएको उनले बताए । केही चोरहरूलाई पक्राउ गरेर प्रहरीलाई बुझाएको उनको भनाइ छ ।

त्यस्तै, महासंघका महासचिव रमेश घिमिरेले आफ्नो व्यवसाय गरे जीविकोपार्जन गर्ने सुरक्षित वातावरण नभएको गुनासो गरे । यातायात मजदुरहरूले आन्दोलनको नाममा पसलहरू लुटपाट गर्ने काम भएको भन्दै घटनाको जिम्मा सरकार र आन्दोलनकारी दुवैले लिनुपर्ने बताए ।

पसल तोडेर मोबाइल लुट्दै गरेको दृश्य कैद भएका भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट भएका छन् । पसलको सीसीटीभी फुटेजसमेत सार्वजनिक भएको छ । महासंघले क्षतिपूर्ति र सुरक्षाको माग गर्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायतमा ज्ञापनपत्र बुझाउने भएको छ ।

प्रकाशित समय : १६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु