global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बर्खा लाग्यो, कालोपत्रे होला त गौशाला‑चाबहिल सडक ?

बर्खा लाग्यो, कालोपत्रे होला त गौशाला‑चाबहिल सडक ?

बर्खा लाग्यो, कालोपत्रे होला त गौशाला‑चाबहिल सडक ?

धमाधम काम भएको देख्दा सधैँ बर्खामा हिलो र हिउँदमा धुलोको सास्ती खेप्दै आएका चक्रपथको गौशाला‑चाबहिल सडकखण्डका उपभोक्ता र सडक प्रयोगकर्ता यसपटकदेखि धुलोहिलोमुक्त हुनेमा निकै आशावादी देखिन्छन् । तर, उनीहरूको आशामा तुषारापात हुने भएको छ । गौशाला‑चाबहिल सडकखण्ड समयमा कालोपत्रे (ओभर ले) हुनेमा स्वयं सडक डिभिजन कार्यालय काठमाडौँ र ठेकेदार कम्पनी कालिका कन्सट्रक्सन प्रा लि नै विश्वस्त छैनन् । यससँगै यहाँका उपभोक्ता र सडक प्रयोगकर्ताले विगतकै हविगत भोग्नुपर्ने निश्चितप्रायः भएको छ ।

चुच्चेपाटी‑गौशाला सडकखण्डमा कालोपत्रेसहित खानेपानी पाइप बिछ्याउने र चाबहिल‑धोबिखोला पुल सडकखण्ड कालोपत्रे गर्ने गरी कालिका कन्सट्रक्सनसँग करिब २० करोड रुपैयाँमा ठेक्का सम्झौता भएको हो । तर, ठेक्का अवधि सकिन एक साता बाँकी हुँदा काममा धेरै अड्चन देखिन्छ ।

कालिका कन्सट्रक्सनले सम्झौताअनुसार चाबहिलदेखि धोबिखोला पुलसम्मको सडकको काम सम्पन्न गरिसकेको थियो । ठेक्का दिने समयमा सडक डिभिजन कार्यालयले गम्भीरतापूर्वक लिएन । पछि साढे २ मिटर कालोपत्रे र फुटपाथ थप गर्ने गरी अर्को सम्झौता भयो । कालिकाले अहिले धमाधम काम गरिरहेको छ । ‘पछि थपिएको काम भए पनि हामी समयमै सक्छौँ,’ कालिकाका प्रोजेक्ट म्यानेजर इन्जिनियर प्रकाश खरेल भन्छन्, ‘तर चुच्चेपाटीदेखि गौशालासम्मको खण्ड सम्पन्न गर्न भने समस्या थपिएको छ ।’

यो सडकखण्डमा नेपाल विद्युत प्राधिकरणका कारण पनि काम समयमा सक्न अवरोध पुगेको आरोप खरेलले लगाए । ‘प्राधिकरणले एक सातामा तार भूमिगत गरिसक्ने भने पनि डेढ महिना लगाइदिएकाले समस्या भएको हो,’ उनले भने, ‘अझै पनि तपाईं हेर्नुस् तार अलपत्र छ, काम भइरहेको छ ।’

ठेकेदार कम्पनी कालिकाले पहिलो चरणमा मित्रपार्कदेखि जयबागेश्वरीसम्मको सडक कालोपत्रेका लागि काम गरिरहेको छ । ‘मंगलबार सब‑बेस कोषको काम भयो, बुधबार (आज) रातिसम्ममा बेस कोषको काम सक्छौँ,’ प्रोजेक्ट म्यानेजर खरेल भन्छन्, ‘हामीले हाम्रोतर्फबाट सबै काम सकेका छौँ, काम तीव्र गतिमा गरिरहेका छौँ, तर सकिन्छ भन्ने विश्वास छैन ।’ लकडाउनका कारण ढुंगा, गिटी, बालुवा पनि सहज ढंगले नपाएको र मजदुर अभाव भएकाले पनि कामलाई गति दिन अवरोध पुगेको खरेलले बताए ।

पछि थप्न थालिएको चाबहिल-धोबिखोला सडकखण्ड ।

चुच्चेपाटी‑गौशाला सडकखण्डको काम यसपटक फरक तरिकाले अघि बढाइएको छ । विगतमा सडकको काम बेग्लै र पाइप बिछ्याउने काम बेग्लै कम्पनीलाई दिइँदा निर्माण भइसकेका सडक भत्काएर पाइप बिछ्याइएका घटना धेरै भएका छन् । यसैलाई मध्यनजर गर्दै यसपटक सडक डिभिजन कार्यालय काठमाडौँ र काठमाडौँ उपत्यका खानेपानी आयोजना निर्देशनालयले एउटै सम्झौतामा दुवैवटै काम कालिकालाई सुम्पिएका हुन् ।

सडकको कामको राम्रो अनुभव भए पनि पानीको काम नगरेको कालिका पाइप निर्माण तथा जडान र सडक बनाउने क्रममा धेरै ठाउँमा पुराना पाइप ड्यामेज भयो । ‘ड्यामेज भएका पाइप मर्मत तथा जडान नगरी सडक कालोपत्रे अघि बढाएको पाइएपछि पुनः बैठक बसेर पाइपको काम सम्पन्न गरेर मात्र सडक कालोपत्रे गर्न भनिसकेका छौँ,’ काठमाडौँ उपत्यका खानेपानी आयोजना निर्देशनालयका निमित्त आयोजना प्रमुख भोजविक्रम थापाले भने, ‘विगतका अनुभवका आधारमा एकै ठेकेदारलाई दिँदा सडक पुनः भत्किँदैन भनेर यस्तो निर्णय गरिएको हो ।’

पछि थप्न थालिएको चाबहिल-धोबिखोला सडकखण्ड ।

पानीका पाइप बिछ्याउने विषयमा निर्देशनालयले प्राविधिक सहयोग गरिरहेको उनले जानकारी गराए । ‘सबै पाइप फेर्नुपर्ने छैन, सडक निर्माण तथा पानीका पाइप फेर्ने क्रममा ड्यामेज भएका पाइप फेर्नुपर्ने हो, एक सातामा काम सकिन्छ,’ थापाले भने, ‘समयमै कालोपत्रे हुनेमा मचाहिँ विश्वस्त छु ।’

तर, कालिकाका प्रोजेक्ट म्यानेजर खरेलले भने करिब एक हजार मिटर पाइप जमिनमुनि बिछ्याएर घर‑घर लैजान एक सातामा सम्भव नहुने बताए । ‘कतिपय सामान यहाँ पाइँदैन, अर्को कुरा सम्झौता भएका निकायसँग सामानको मूल्य निर्धारण र भेरिफिकेसन भएपछि हामीलाई प्राप्त हुने पत्रका आधारमा मात्र काम अघि बढाउन सकिन्छ,’ उनले भने, ‘सडक डिभिजनले जति समय लागे पनि लिनुस् तर पाइप बिछ्याएर मात्र सडक कालोपत्रे गर्नुस् भनेको छ, अब के हुन्छ हेरौँ ।’ यही विषयमा सहमति जुटाउन सोमबारमात्र सबै सरोकारवाला बसेर छलफल गरे पनि कालिकाले सहमति नजनाएपछि पाइप बिछ्याउने काम अन्योलमै छ ।

नेपाल विद्युत प्राधिकरणले तार भूमिगतपछि साइडमा राखेको तार ।

सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख इन्जिनियर कुवेर नेपाली काम तीव्रगतिमा अघि बढिरहेका बेला निर्माण सामग्री अभावमा केही ढिलाइ भएको बताउँछन् । ‘सरकारले नदीजन्य सामग्री ओसारपसारमा कुनै अवरोध हुन नदिने जनाए पनि स्थानीय स्तरबाट समस्या भयो,’ उनले भने, ‘त्यसले पनि काममा निकै अवरोध पुग्यो, काम अघि बढिरहेको छ, बर्खाअघि धेरै काम सकिन्छ ।’ काम धेरै सकिए पनि पूर्ण रुपमा नसकिने निश्चित रहेको उनले स्वीकार गरे । ‘सकेसम्म हिलो हुन नदिने हाम्रो प्रयत्न रहनेछ,’ उनले भने ।

नेपाल विद्युत् प्राधिकरण भने आफ्ना कारण सडक र पानीको काममा ढिलाइ भएको स्वीकार्न तयार छैन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तार भूमिगत गरिरहँदा सडक र पानीको काममा कुनै अवरोध पुग्न नदिएको बताउँछन् । ‘जेठ २ गते सरकारले एक्कासि सबै पास खारेज गरेका कारण केही दिन समस्या भयो,’ उनले भने, ‘हामीले सडकको सबै काम सकिसकेका छौँ, अब साइड फिनिसिङ मात्र बाँकी छ, सडक कालोपत्रेको काम अघि बढाउन हामीबाट कुनै अवरोध छैन । हामीले घरतर्फको बिजुलीको तार कनेक्सन तत्काल गर्न मिल्दैन तर त्यसलाई कुनै डिस्टर्ब नहुने गरी व्यवस्थित गरेका छौँ ।’

तार भूमिगत गर्दै विद्युत प्राधिकरणका कर्मचारी । फाइल तस्बिर

तस्बिर : डीआर आचार्य

प्रकाशित समय : १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु