गृहपृष्ठ सुकुम्बासी बस्तीविरुद्ध बालेनलाई सहज बनाउन बन्यो समिति
सुकुम्बासी बस्तीविरुद्ध बालेनलाई सहज बनाउन बन्यो समिति

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मंसिर १२ गते थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाउँदा भएको प्रतिकारपछि बालेनको समर्थन गर्न समिति निर्माण भएको एक सदस्यले जानकारी दिए ।
१९ जना कार्यसमिति रहेको यो समिति भने बालेनको समर्थन गर्नको लागि ललितपुरका पूर्व स्वतन्त्र वडाध्यक्ष नरसिंह व्यञ्जनकारका छोरा कुमारको डिजाइनमा बनेको बुझिएको छ ।
‘कुमार व्यञ्जनकार अहिले मेयर बालेनको सचिवालयमा पनि छन् । स्वतन्त्र भएर काम गर्न असहज भएपछि नरसिंह व्यञ्जनकारलाई सोधेर समिति अगाडि बढाउन थालिएको हो’, समितिका एक सदस्य भन्छन्, ‘यसले बालेनको काममा काठमाडौंको रैथानेको पनि समर्थन छ भनेर देखाउन मद्दत पुग्ने बालेनको सचिवालयको रणनीति हो, तर हामीले राम्रो कामको मात्रै समर्थन गर्ने गरेका छौं ।’
महानगरविरुद्ध सुकुम्बासी बस्तीका बासिन्दा, विभिन्न संघ संस्थाले मंसिर १३ गते प्रदर्शन गरेपछि समितिले पनि १९ मंसिरमा महानगर अगाडि प्रदर्शन गरेर मेयर बालेनलाई आफ्नो समर्थन रहेको भन्दै ढुक्क भएर काम गर्न अनुरोध गरेको थियो ।
सोही समयमा समितिले महानगरमा ध्यानाकर्षण बुझाउँदै भनेको थियो ‘कथित सुकुम्बासीको घर टहरा हटाइ, राजधानीको सौन्दर्य, शान्ति र मैत्री वातावरण सिर्जना गर्न महानगर एक इञ्च पनि पछि नहटोस् ।’
समितिका सहसंंयोजक अशोक बज्राचार्यका अनुसार मंसिर ३० गतेबाट समितिले औपचारिक रुपमा काम गरेको हो ।
उनले काठमाडौं महानगरपालिकामा मात्रै उपत्यकाकै बासिन्दाको हकहितको लागि समितिले काम गर्ने बताए ।
महानगरका मेयर बालेनले सुकुम्बासी बस्ती खाली गर्न जाँदा गृह मन्त्रालय मुकदर्शक भएको आरोप पनि लगाएका थिए ।
प्रकाशित समय : ०९:०५ बजे