गृहपृष्ठ मिस नेपाल २०२३ को आवेदन खुला
मिस नेपाल २०२३ को आवेदन खुला

द हिडेन ट्रेजरले मिस नेपाल–२०२३ का लागि आवेदन खुला गरेको छ । ५ फिट ३ इन्चभन्दा बढी उचाइ र १८ देखि २७ वर्षसम्मका अविवाहित नेपाली नागरिक युवतीले चैत १ सम्म निःशुल्क आवेदन दिन पाउनेछन् ।
यस वर्षको प्रतियोगितामा ‘मिस नेपाल वर्ल्ड’, ‘मिस नेपाल अर्थ’ र ‘मिस नेपाल इन्टरनेसनल’ गरी मुख्य तीन विजेता हुनेछन् । यस्तै, डाबर अमला मिस ब्युटिफुल हेयर, सिटाफिल मिस हेल्दी स्किन, सोमर्स्बी मिस रिफ्रेसिङ, रियल मिस पपुलर च्वाइस र द काठमाडौं पोस्ट मिस इन्टेलेक्चुअल अवार्ड पनि वितरण गरिनेछ । टाटा मिस डिलाइट, बर्जर मिस ग्लामर, ब्रिज सिमेन्ट मिस कन्फिडेन्ट, क्रिएटिभ डी मिस फोटोजेनिक र फार्मेसी फेस अफ द इयर अवार्ड पनि दिइने आयोजकले जनाएको छ ।
सातै वटा प्रदेशका सहरमा अडिसन गरेर प्रतियोगी छानिने हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले जानकारी दिए । उनका अनुसार इटहरी, वीरगन्ज, काठमाडौं, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीमा क्षेत्रीय अडिसन हुनेछ । यसका लागि मिति र स्थान भने घोषणा गर्न बाँकी छ । काठमाडौंमा भने मार्च १८ मा अडिसनको तयारी छ । मिस नेपाल २०२३ को ग्रान्ड फिनाले
जेठ १३ गते शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने आयोजकले जनाएको छ ।
प्रकाशित समय : ०७:५४ बजे