गृहपृष्ठ क्यानका ७ जना सदस्यले मागे अध्यक्ष चन्दको राजीनामा
क्यानका ७ जना सदस्यले मागे अध्यक्ष चन्दको राजीनामा
नेपाल क्रिकेट संघ (क्यान)का ७ जना केन्द्रीय सदस्यले क्यानको कार्यसम्पादन समितिमा रहेका पदाधिकारीको राजीनामा मागेका छन् । क्यानका केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले आइतबार पत्रकार सम्मेलन गर्दै राजीनामा माग गरेका हुन् ।
उनीहरूले क्यानका अध्यक्ष चतुर बहादुर चन्दसहित कार्यसम्पादन समितिका प्रशान्त विक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काको राजीनामा माग गरेका छन् । नेपाल टी-ट्वान्टी लिगमा देखिएको पछिल्लो विवादमा कार्यसम्पादन समितिको कमजोरी भएको उनीरूकाे आराेप छ ।
नेपाल टी-ट्वान्टी लिगको स्पट फिक्सिङ र भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस कम्पनीसँगको सम्झौता क्यान नेतृत्वको जानाजान गरेको गल्ति भएको उनीहरुको आरोप छ । ‘पटक-पटक सचेत गराउनका बावजुद भारतीय कम्पनीलाई नेपाली क्रिकेट सुम्पिन हठ गर्ने नेतृत्व अहिले आएर माफी मागेको भरमा पन्छिन मिल्दैन र सरोकारवाला निकायले पनि नेपाली क्रिकेटलाई बेटिङ र फिक्सिङको उर्भर भूमिका रुपमा अन्तर्राष्ट्रिय मञ्चमा बदनाम गराउनेहरुलाई उन्मुक्ति दिन छुट छैन,’ ७ केन्द्रीय सदस्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एउटा जिम्मेवार संस्थाको जिम्मेवार पदाधिकारीहरुले गल्ती स्वीकार गरेर मात्र पुग्दैन । उहाँहरुले त्यसको सम्पूर्ण जिम्मेवारी लिनु पर्छ । नेपाल क्रिकेट संघ (क्यान)को कार्यसम्पादन समिति यसको भागिदार हुनुपर्छ । कार्यसम्पादन समितिमा रहेका चतुरबहादुर चन्द, प्रशान्त विक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काले नैतिकताको आधारमा राजीनामा दिनु पर्छ । हामी केन्द्रीय सदस्यहरु उहाँहरुको राजीनामा जोडदार रुपमा माग गर्छौं ।’
नेपाल टी-ट्वान्टी लिग पुस ९ गतेबाट २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको थियो । स्पट फिक्सिङको आरोपमा सीआईबीले पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
क्यानले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतामा गल्ति भएको स्वीकार गरेको थियो । अध्यक्ष चन्दले सेभेन थ्री स्पोर्ट्ससँग सम्झौतामा क्यानले गल्ती गरेको स्वीकार गर्दै आगामी दिनमा यसलाई सच्याएर अघि बढ्ने बताएका थिए ।
विज्ञप्ति : 

प्रकाशित समय : १४:३७ बजे



















