गृहपृष्ठ टाइगर कप : महिलातर्फ आर्मीलाई हराउँदै एपीएफ च्याम्पियन
टाइगर कप : महिलातर्फ आर्मीलाई हराउँदै एपीएफ च्याम्पियन
तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ विभागीय टोली नेपाल एपीएफ क्लब च्याम्पियन बनेको छ ।
पोखरा रंगशालाको कभर्ड हलमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । साबिकको बिजेता रहेको एपीएफले पहिलो सेट २५–२० ले जितेकोमा दोस्रो सेटमा आर्मीले २५–२२ जितेको थियो । तेस्रो सेट र चौथो सेटमा २५–८ र २५-२२ को जित निकाल्न सफल भयो ।
च्याम्पियन एपीएफले ५ लाख नगद प्राप्त गरेको छ । दोस्रो हुन सफल आर्मीले भने २ लाख ५० हजार नगद प्राप्त गरेको छ ।
महिलातर्फ न्यू डायमन्डले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित तेस्रो स्थान सुरक्षित गर्यो । न्यू डायमण्डले १ लाख २५ हजार रुपैयाँ र चौथौं गण्डकी प्रदेशले ६५ हजार रुपैयाँ पाएको छ ।
पुरुषतर्फ नेपाल पुलिस क्लबले तेस्रो स्थान हात पारेको छ । पुलिसले साविक विजेता त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । पोखरा रंगशालााको भलिबल कोर्टमा तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा आर्मीले पहिलो सेट २५-२२ अंकको जित निकाल्यो । त्यसपछिका ३ सेट लगातार गुमाउन पुग्दा चौंथोमा सीमित हुन पुग्यो ।
पुलिसले दोस्रो सेट १८-२५, तेस्रो सेट २१-२५ र चौथो २०-२५ अंकले जित निकाले हो । तेस्रो भएको पुलिसले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ । चौथो भएको आर्मीले ६५ हजार रुपैयाँमा पाएको छ ।
शनिबार नै पुरुष तर्फको फाइनल विभागीय टोली नेपाल एपीएफ क्लब र गण्डकी प्रदेशबीचमा हुँदैछ ।
प्रकाशित समय : १४:४१ बजे


















